‘दाइ तपाईंको गीत सुनेर हामीलाई इन्टरकास्ट विवाह गर्न आँट आयो नि’ आफ्नो फेसबुक म्यासेन्जर र युट्युबको कमेन्टमा यस्ता म्यासेज स्रोता तथा दर्शकले लेख्दा कमल दङ्ग पर्थे । नपरून् पनि कसरी ? जसका लागि लक्षित गरी गीत तयार पारेका थिए उनीहरूले नै तपाईंको गीतले हाम्रो प्रेम सफल भइरहेको बताउँथे ।

कमललाई लाग्थ्यो गीत मात्रै सफल भएन त्यसको उद्देश्य पनि सफल भयो । गीत र उद्देश्य नै सफल भएपछि के चाहियो र ? मख्ख थिए कमल । गीतको कति ठूलो प्रभाव पर्छ है ? त्यसले दिने खुसी शब्दमा व्यक्त गर्न सक्दैन थिए उनी ।

तर जब नवराज विकले आफू कथित दलित भएकै कारण प्रेमिका मात्रै होइन ज्यानै गुमाउनुपर्‍यो त्यो देखेपछि कमललाई लोग्यो खै मेरो गीतको प्रभाव ? म त मेरो गीतले कति ठूलो प्रभाव पारिरहेको छ, समाज परिवर्तन हुँदैछ, माया गर्ने जोडीहरूले अब जातकै कारण बिछोडिनु पर्दैन भन्ने सोच्थेँ तर होइन रहेछ । ज्यान नै पो आहुति दिनुपर्ने रहेछ, मनमा अनेकन प्रश्न आए ।

जब कुटीकुटी मारेको कमलले थाहा पाए उनले सम्झिए आफ्नो गीतको भिडियो । छोरी माग्न जाँदा केटीका आफन्तले लात्तले हानेको झल्झल्ली सम्झिए । मनै अमिलो भयो कमलको ।

मान्छे बुझ्दैनन् कि नबुझेजस्तो गर्छन् ? कमल प्रश्न गर्छन् । रगत सबैको रातो हुन्छ । जातभन्दा मायाप्रेम ठूलो हुन्छ भन्ने यो समाज किन बुझ्दैन ?

मान्छेहरू बोल्दा जातीय विभेदविरुद्ध वकालत गर्छन् । समतामूलक समाज निर्माणको कुरा गर्छन् । समान अवसर र सकारात्मक विभेदको कुरा गर्छन् । तर व्यवाहारमा आज पनि ज्यान लिन्छन् ।

न कानुनले रोक्न सक्यो, न चेतनामूलक सिर्जनाले परिवर्तन ल्याउन सक्यो । आजको आधुनिक समाजमा पनि दलित भएकै कारण प्रेमको हत्या हुन्छ । सँगै मान्छेले बलि चढ्नुपर्छ ।

त्यसैले त कमलले गीत लेखेका थिए—

बैरी भयो यो सारा दुनियाँ चोखो मायाको
हाम्रो मायामा कुरा चल्यो जात र भातको
मानिस ठूलो दिलले हुन्छ
रगत सबको रातो हुन्छ, खै कुरा बुझेको
अब जाउँला रेलैमा माया तिम्रो साथैमा
दुःख र सुख जीवनको पाटो सँगसँगै बिताउँला
आए जति बाधा र अड्चन साथ तिम्रो छोड्ने छैन
अब जाउँला रेलैमा माया तिम्रो साथैमा
यो हाम्रो संसारैलाई सबैलाई देखाउनु छ
खै कसले बनायो मान्छेमा जात त्यो पनि सोध्नु छ
अब जाउँला रेलैमा माया तिम्रो साथैमा

कमल सानैदेखि सुन्थे जातीय विभेद र त्यसले सिर्जना गरेका घटना दुर्घटना । बालवय भएकाले पनि होला कथित तल्लो जात भएकै कारण प्रेमी–प्रेमिका खोसिएका, मारिएका घटनाले उनको मन छुन्थ्यो ।

पछि गीत लेख्ने र गाउने भए । गीत चेतना र समाज परिवर्तनको माध्यम पनि हो भन्ने सुनेका उनलाई पनि लाग्यो यही विषयमा एउटा गीत लेखौं ।

एउटा लाइन फुर्‍यो : बैरी भयो यो सारा दुनियाँ… ।

युवालक्षित गीत गाउने कमललाई थाहा थियो मलाई सुन्ने र हेर्ने अधिकांश स्रोता दर्शक युवापंक्ति छ । त्यसैले मायाप्रेम त जोड्नैपर्छ अनि मात्रै सोचेजस्तो प्रभावकारी हुन्छ गीत र उद्देश्य । त्यसैले उनले थपे… चोखो मायाको । पहिलो हरफ पूर्ण भयो । दोस्रो हरफ लेखे— हाम्रो मायामा कुरा चल्यो जात र भातको ।

गीतमार्फत् सन्देश पनि दिनु थियो । र त्यसलाई लोकप्रिय पनि बनाउनु थियो । त्यसैले उनले हतार गरेनन् । लेखे मेटे लेखे मेटे एक वर्ष लाग्यो पूरै गीत लेखिसक्न । गीतको शब्द उनी आफैंलाई चित्त बुझ्यो ।
रेकर्ड गराए । लिरिकल भिडियो बनाएर युट्युब च्यानलमार्फत स्रोता तथा दर्शकमाझ पुर्‍याए । अपेक्षाअनुसारै गीत रुचाइयो ।

सबैले भन्न थाले गीत राम्रो छ तर भिडियो खोइ ? भिडियो बनाउने दबाब सिर्जना भएपछि कमलले अन्तरजातीय प्रेम गर्ने जोडीहरूले भोग्नुपरेको समस्यालाई कथेर भिडियो कन्सेप्ट तयार पारे । “मैले २० वर्षअगाडिको समाज परिकल्पना गरेर भिडियो बनाएको थिएँ,” कमल भन्छन्, “तर यहाँ त आज पनि उस्तै छ समाज र समस्या । मैले त २० वर्षअगाडिको समाजको परिकल्पना गरेर बिछोडका लागि दिइने दबाब र शारीरिक यातना मात्रै देखाएको थिएँ, तर यहाँ त २० वर्षयता पनि यातना मात्रै होइन हत्या गरिँदै छ । कस्तो चेतना हो यो ?”

रुकुमका नवराज विकको हत्या भयो । अनि सोही विषय उठाएको कमलको गीत ‘जाउँला रेलैमा…’ दर्शक स्रोताले फेरि सुने । टिकटकमा भिडियो बनाए र अपराधिक व्यक्ति, समाज र मानसिकतालाई धिक्कारे ।

“बरु मेरो गीत पटकपटक खोजेर नसुनियोस्, त्यही नै मेरा लागि सही तर यस्ता अमानवीय पासविक हत्याका शृंखला समाजमा नदोहोरिऊन् । म मेरो गीत नसुनेकैमा खुसी हुन्छु,” कमल कुराकानीको सिलसिला अन्त्य गर्छन् ।

साभार-बाह्रखरी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!