नेपाल सरकारले हालै जारी गरेको नयाँ नक्सालाई लिएर सांसद सरिता गिरीले फेरि विवादित टिप्पणी गरेकी छिन् ।

उनले मंगलवार सामाजिक सञ्जालमार्फत सीमालाई राष्ट्रियताको विषय बनाउनु सरकारको कमजोरी र बेइमानी दुबै भएको जनाएकी छिन् ।

सरकारले लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि आक्रोशित सांसद गिरीले सरकार हरेक क्षेत्रमा विफल हुँदै गइरहेको दाबी गरेकी छन् ।

मंगलबार राति उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सरकारले बनाएको नयाँ नक्सा सरकारको हो, देशको होइन । सरकारले नक्सा स्वीकार गर्नुभन्दा अघि आवश्यक सबै तथ्य प्रमाण नक्साको ड्राफ्टसँग अन्य दलहरूलाई उपलब्ध गराउनुपर्थ्यो । त्यसपछि दलहरूले सबै प्रमाणको अध्ययन गरेर मात्र सरकारलाई केही दिनमा आफनो सहमति दिने अथवा नदिने अवस्था हुन्थ्यो । सरकारले त्यस्तो केही गरेको छैन । एक्कासी नयाँ नक्सा छापेको छ । नक्सा भन्ने विषय अत्यन्त संवेदनशील विषय हो । दलहरूले अन्धो भई राष्ट्रियताको नाममा सरकारको पछि लाग्ने म कुनै आधार देख्दिनँ । सीमालाई राष्ट्रियताको विषय बनाउनु सरकारको कमजोरी र बेइमानी दुबै हो । अहिलेको सरकार हरेक क्षेत्रमा विफल हुँदै गई रहेको सरकारलाई थाहा भएको हुनुपर्दछ ।’

लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत भूभाग समेटिएको नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) सार्वजनिकलगत्तै सरकारले संविधान संशोधनको प्रस्ताव अगाडि बढाएको छ । संविधान संशोधनका लागि संसदमा आमसहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक गरेका छन् । बैठक सकिएको केही समयपछि नेतृ गिरीको विवादित टिप्पणी आएको छ ।

यसअघि पनि सांसद गिरीले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्ने नेपाल सरकारको प्रयासमाथि संसदमै विरोध गरेकी थिइन् । गिरीले भारत र चीनसँग संवाद नगरी नक्सा जारी गर्ने घोषणाले सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठेको समेत बताएकी थिइन् ।

‘लिपुलेकको विवाद पनि आएको छ । भारत र चीनसँग संवाद विना नै जसरी राष्ट्रपतिको मुखबाट नयाँ नक्सा सार्वजनिक गर्ने कुरा गरियो, त्यसले चाहिँ विदेश नीतिको क्षमतामाथि प्रश्नचिह्न उठाउँछ,’ उनले भनेका थिइन्, ‘एकातिर राष्ट्रपतिले नयाँ नक्सा सार्वजनिक गर्ने बताउने, अर्काेतिर परराष्ट्रमन्त्रीले नक्सा सार्वजनिक गर्न संविधान बाधक छ भन्ने । विदेशनीति जुवा होइन । ग्याम्ब्लिङ होइन । यहाँ तपाईं दुई छिमेकीसँग वार्ता गरिरहनुभएको छ । दुई छिमेकीसँग बात गर्नुपर्छ ।’

नेपाली नक्सा जारी भएकोमा सांसद गिरीले छटपटीमिश्रित प्रतिक्रिया दिएकोमा सामाजिक सञ्जालमा अर्काे विरोध भइरहेको छ । सांसद गिरीले नेपालमा बसेर ‘भारतको भाषा’ बोलिरहेको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!