शनिबार, जेठ १०, २०७७ || 753  पटक पढिएको

नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर (किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ ।

विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मिति केरमेट गरी फरक पारेर प्रतिलिपि जारी गरेको भन्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरको मुद्दा दायर भएको थियो ।

मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै अदालतले वडा सचिव कहार र रामग्राम-५ की रुक्शाना शेषलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । फरार रहेका वडाध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
रामग्राम-५ का सुबेदार शेष र रुक्शाना शेषको विवाह दर्ता प्रतिलिपि दिँदा केरमेट गरी मिति फरक पारिएको थियो । रुक्शानाका पति सुवेदारले सरकारी छाप दस्तखत किर्ते गरिदिने कार्यमा संलग्न वडाध्यक्ष गुप्ता, वडा सचिव कहारसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

उक्त कार्यमा आफ्नै श्रीमती रुक्शाना, वडाध्यक्ष गुप्ता, वडा सचिव कहार, तत्कालीन वडा सचिव नन्दलाल कहार, कार्यालय सहयोगी अमरलाल कहार गरी पाँच जना संलग्न रहेको भनी विपक्षी बनाइएको थियो । मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालतले किर्ते कागज बनाइदिने प्रतिवादी गोविन्द र किर्ते कागज प्रयोग गर्ने रुक्शानालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको तथा नन्दलाल कहारलाई रु ६० हजार धरौटीमा छाड्ने आदेश भएको अदालतका निमित स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिए । प्रतिवादीमध्येका कार्यालय सहयोगी अमरलालको भने केही दिन अगाडि मृत्यु भएको छ ।

‘म वडा कार्यालयमा गई विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि सराइ अध्ययन गर्दा तत्कालीन गेरमी गाविस (हाल पाल्हीनन्दन-५) को दर्ता नं ४७ रहेको २०७०/०७/०४ मा जारी गरिएको विवाह दर्ता प्रमाणपत्रमा विवाह मिति २०६२/१२/१५ उल्लेख रहेकोमा वडा सचिव गोविन्द कहारले सोही दर्ता नंको प्रतिलिपि बनाउँदा केरमेट गरी विवाह मिति २०६०/१२/१५ गते बनाई फरक पारेको पाएपछि प्रतिवादीहरुउपर कानूनबमोजिम सजायँको माग गर्दै मैले जाहेरी दिएको छु’, सुवेदारले जाहेरीमा उल्लेख गरेका छन् ।

पतिपत्नी सुबेदार र रुक्शानाबीच विवाद भएपछि रुक्शानाले जिल्ला अदालतमा अंश नामसारी मुद्दा दिएपछि अनुसन्धान हुँदै जाँदा उक्त रहस्य खुलेको थियो । वडाध्यक्ष गाउँमा खुला घुमिरहेकाले तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्नुपर्ने पीडित पक्षको माग छ । बन्दाबन्दी र कोरोना सङ्क्रमणको जोखिमका कारण पक्राउ गर्न नसकिएको प्रहरी चौकी गेरमीका प्रमुख नारायण लुइँटेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!