बुधबार, जेठ ०७, २०७७ || 849  पटक पढिएको

प्रधानमन्त्रीज्यू, झापा सुखानीमा शहिद भएका रामनाथ दाहालले तपाईमा भविष्यको सम्भावना देखेर नै तपाइलाई पक्राउ पर्नबाट बचाए । नत्र तपाँई पनि त्यो बेला रामनाथ दाहालहरुसंगै पक्राउ परी सुखानीमा शहिद बन्ने निश्चित प्रायः थियो । तर संयोगले तपाईको जीवन सुरक्षित रह्यो । लामो समयसम्म देशको सामन्तबाद विरुद्धमा लड्नु भयो । झापा विद्रोहमा संग्लन हुनु भयो । देशमा भएका धेरै आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नु भयो । जीवनको बहुमूल्य उर्जावान समय जेलमा नै विताउनु भयो । दुःख, पिडा, गरिवी र यातनासंग राम्ररी परिचित हुनुहुन्छ । देशमा प्रजातन्त्र गणतन्त्र आउनुमा तपाइको पनि भूमिका छ । समय वित्दै जाँदा ठूलो रोगबाट ग्रसित समेत हुनु भयो । रोगलाई पनी जित्दै आउनु भएको छ । देशको सवैभन्दा ठूलो राजनैतिक दलको अध्यक्ष हुनुभयो । समयसंगै मुलुकको शक्तिशाली कार्यकारिणी प्रधानमन्त्री बन्न समेत सफल हुनु भयो ।

तपाईले जीवन भोगाइबाट विश्वविद्यालयले दिन नसक्ने शिक्षा प्राप्त गर्दा गर्दै पनि किन आज सुखी नेपाली समृद्ध नेपालको सपनाबाट बिचलित हुदै हुनुहुन्छ ? किन तपाई इतिहासमा प्राप्त सुनौलो अवसरलाई खेर फाल्दै हुनु हुन्छ ? तपाईले पाएको अवसरलाई सदुपयोग नगर्दा अहिलेसम्मको योगदान पनि खेर जाने पक्का छ । भविष्यमा तपाइलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नु पनि छैन । मानिस पनि एक जीव नै भएकाले आखिर एक दिन त मरेर जानु नै पर्छ । तपाँइले मरेर जाँदा पनि सम्मानित मरण किन नरोज्ने ? चिरकाल सम्म नेपाल र नेपालीले सम्झिन लायक किन नबन्ने ? तपाँइको योगदानलाई आउदा पुस्ताहरुले सम्मान गर्ने गरी देश र जनताको लागि काम किन नगर्ने ? तपाईलाई सम्पती र यो भन्दा माथीको पदीय हैसियत पनि चाहिएको छैन होला । त्यसैले अव लोभ, लालच, क्रोध, मोह, रिस, राग सवै विर्सिएर देशको अस्तित्व र अस्मिता जोगाउने एक मात्र अर्जुन दृष्टि लिई नेपाल र नेपालीको सुनौलो भविष्य निर्माण गरेर तपाई महामानव किन नवन्ने ?
अहिले तपाई र तपाईको सरकार चौतर्फी घेरावन्दीमा छ । त्यसको धेरै कारण होलान् तर एउटा कारण चाँही तपाईको शासकिय शैली नै हो । सरकार पाइलै पिच्छे आलोचित भै रहेको छ । के जनताले बेअर्थमा काम नपाएर सरकारको ओलोचना गरेका हुन् त ? पक्कै होइन होला । यो सवै राष्ट्रिय परिदृश्यको बारे तपाई काफी जानकार नै हुनुहुन्छ । मानिसले जीवनमा ठूला ठुला गल्ती गर्छ । गल्तीबाट पाठ सिकेर त्यसलाई स्वीकार गरेर अगाडी बढ्नु महान व्यक्तिको विशेषता हो ।

महाकाली सन्धी लगायत धेरै राष्ट्रिय मुद्धामा तपाईलाई जोड्ने गरिएको छ । कही न कही तपाई मुछिनु भएको पनि होला । चुनाव ताकाको लोकप्रियता ह्रास हुदै गएको पनि तपाइलाई थाहा छ । एउटा आशा गरिएको नेताको व्यवहारबाट नेपाली दुःखी छन् । तपाँइले जानी नजानी जीवनमा गरेका कयौ गल्तीहरु जनता समक्ष निर्धक्कसंग राख्नुहोस र सार्वभौम जनता समक्ष आत्माआलोचना गरी फाउँको तपाइको बाँकी जीवन नेपाल र नेपालीको रक्षार्थ लगाउन ढिला नगर्नुहोस् ।

सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नक्सा मन्त्रिपरिषदबाट पारित गर्यो । यो राष्ट्रिय हितमा छ । यो सरकारको सरहानिय कार्य हो । केही दिन अघि भारतले तिब्बतस्थित मानसरोवर जोड्ने सडक उद्घाटन गरे पछि सिमा विवाद सतहमा आएको थियो । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको विवाद पटक पटक उठने गर्छ । जव यो कुरा उठछ तव नेपालीलाई चस्स दुःख्छ । केही दिन रोडमा आन्दोलन हुन्छ । अनि सेलाउछ । अहिले पनि त्यही नै भई रहेको छ । एक सच्चा नेपालीलाई आफ्नो मातृभूमी प्रति अगाध सम्मान र प्रेम हुन्छ । आम नेपाली भारतको यो हर्कतले आक्रोसित, शोषित र पिडित भएका छन् । देशभक्त नेपालीको रगत उम्लिरहेको छ ।

सरकारले सीमा विवादमा प्रेस नोट पठाएर र जनता रोडमा बुरुक्क बुरुक्क उफ्रिएर यो समस्याको हल हुदैन । भारतले सजिलै समाधान पनि गर्दैन । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए देखि जरो गाढेको यो विवाद तपाँइ अघिका कुनै शासकले सुल्झाउने हिम्मत गरेनन् । इतिहासको विभिन्न कालखण्डमा शासकले देशलाई सन्धि सम्झौताको नाममा बेच्ने र आफ्नो स्वार्थ पूरा गर्ने गरेकै हुन् । नेपालको राजनीतिक परिवर्तनमा भारतीय आर्शिवाद खोज्ने राजनीतिक दलहरूले भारतको यो हेपाहा प्रवृत्ति, अन्याय र अत्याचारको विरुद्ध अडान लिएर आवाज उठाउन सक्ने नैतिक बल र आत्मविश्वास बाँकी राखेका छैनन । मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताका संबेदनशील विषयमा भारतीयहरुसंग शिर जुधाएर कुरा गर्न सक्ने हिम्मत कोही कसैमा छैन । अव दल भन्दा माथी उठेर एक सच्चा राष्ट्रवादीको नाताले नाकाबन्दीको समयमा तपाईले लिएको अडान जस्तै अहिले पनि भारतीयहरुसंग हिम्मतका साथ कुरा गर्नु पर्छ ।

भारतद्धारा मिचिएको सीमा विवाद समाधान गर्न राजदुत बोलाएर वा कर्मचारीलाई म्याँउ म्याँउ गरेर हुदैन । राजनीतिक र कुटनीतिक माध्यमबाट सिधै प्रधानमन्त्री स्तरमा कुरा गर्नु पर्छ । भारतीय प्रधानमन्त्री मोदीबाट सकारात्मक जवाफ आए ठिक छ नत्र भने संयुक्त राष्ट्रसंघमा यो मुद्धा लैजानु पर्छ । त्यहाबाट पनि हल नभए अन्तराष्ट्रिय अदालत जानु पर्छ । तर नजिकको छिमेकीको नाताले सकेसम्म मिलेर नै जाने प्रयत्न गर्नुपर्छ । त्यति गर्दा पनि हाम्रो भूमी फिर्ता ल्याउन सकेनौ र भारतले फिर्ता दिएन भने नेपाली सेनालाई बलियो बनाई उसको नेतृत्वमा भारतसंग युद्ध नै लड्न पनि पछि पर्नु हुदैन । विश्वमा नाम कमाएका गोर्खालीले अरुका लागि धेरै लडे अव आफनै भूमी रक्षाका लागि लडने बेला समेत आउन सक्छ । नेपाली जनतालाई विश्वासमा लिने, जनताको आत्मबल जागृत गर्ने, देश र मातृभूमीका पक्षमा लडन आह्वाहन गर्दै अन्तर्राष्ट्रिय शक्ति सन्तुलन मिलाउदै हिम्मतका साथ अगाडी बढने बेला आएको छ ।

मुलुकको भौगोलिक अखण्डताको जगेर्ना गर्ने विषयमा कुनै पनि बिदेशी शक्तिसँग शिर झुकाउने र ब्यक्तिगत नाफाघाटा हेरि सौदावाजी गर्नु हुदैन । राज्य संचालकले विदेशीको चाकडी र चाप्लुसी गर्दा नै यो स्थिती आएको हो । मुलुकको सार्वभौमिकता र सीमाको रक्षक बन्नुपर्ने नेपालका यस अघिका सरकार भारतसामु लम्पसार पर्दाको परिणाम नै अहिलेको सीमा विवाद हो । नेपालले केही गर्न सक्दैन भनेर भारतले नेपाली माथी अत्याचार गरिरहेको छ । सानो मुलुक भनेर हेपिरहेको छ । भारतको यो हर्कतले नेपाल र नेपालीको स्वतन्त्रता र स्वाभिमानमा ठेस पुगेको छ ।

भारतले एउटा छिमेकीलाई गर्ने असल व्यवहार र सम्मान विर्सिएर नेपाल र नेपाली जनतामाथि जघन्य अपराध गरिरहेको छ । त्यसैले भारतको बिस्तारबादी नीति, हेपाहा र मिचाहा प्रवृत्तिको ठटेर सामना गर्नु पर्ने बेला आएको छ । यदी यो बेला पनि नेपाली विभाजित भै रहने हो भने राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता सधैको लागि गुमाउनु पर्ने स्थिती आउन सक्छ । त्यसैले नेपालीहरुले अभूतपूर्व रुपमा राष्ट्रिय एकता कायम गर्नु अहिलेको आवश्यकता हो ।

देशको रक्षाका लागि लड्ने यो लडाई सहज भने छैन । सबै भन्दा पहिला प्रधानमन्त्रीले देशभित्रका नव लोन्डुपेहरुलाई पक्रिएर राज्यद्रोहको मुद्धा लगाई जेलमा कोच्न सक्नु पर्छ । नेपाली आमाको दुःध चुसेर भााडामा काम गर्ने दलाल, विदेशीका नोकर र गोटीहरुलाई पहिचान गरी तह लाउनु पर्छ । नेपाल विगार्ने र ध्वस्त पार्ने उदेश्य लिएर आएका विदेशी एजेन्टहरुलाई देश निकाला गर्नु पर्छ । त्यसपछि नेपाली जनताको विश्वास प्रधानमन्त्रीमाथी हुनेछ । नेपालीहरु एकताबद्ध हुनेछन् । राष्ट्रिय एकताको वातावरण बन्नेछ ।

नेपाल भारतको सीमा विवाद मिलाएर राष्ट्र नायक बन्ने महान अवसर प्रधानमन्त्रीलाई यतिवेला प्राप्त भएको छ । नेपाल जन्मिदा नै स्वतन्त्र देश हो । विश्वमा २५ वटा मात्र देश हुदा पनि नेपालको अस्तित्व थियो । यस्तो महान र गौरवशाली इतिहास भएको देशको प्रधानमन्त्रीको नाताले प्राप्त भएको सुनौला अवसर कुनै पनि बहानामा खेर फाल्नु हुदैन । जीवनको उतरार्धमा देशको अखण्डता र अस्मिताको रक्षा गरी चिरकाल सम्म नेपालीको मन र मस्तिष्कमा अमर भई राष्ट्र नायक बन्ने हिम्मत गर्ने कि ? उहाकै जिम्मा ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!