सरकार कतिसम्म लहडमा चलेको छ भन्दा भारतसँगको सीमा सिलबाट प्रष्ट हुन्छ । कोरोना भाइरसको बखत रोकथामभन्दा सीमा ठप्प पार्ने निर्णय भयो । भारतमा रोजगारीमा गएकाहरु ज्यानको बाजी लगाएर सीमानाकामा रोकिए । कोही आमाको किरिया दशगजा नजिक गर्न पुगे त कोही ट्युब हालेर महाकाली तर्न थाले । तैपनि, शासकको मन पग्लिएन ।

भारततर्फ सुत्केरी र बच्चा पाउन ठिक्क परेका महिला केटाकेटीसहित अड्किए । हजारौंको संख्यामा क्वारेन्टाइनमा राखिएको भन्दै कष्टसँग बस्न वाध्य भए । त्यतैतिर कोरोना फैलियो । टाठाबाठा लुकिछिपी जङ्गलको बाटो र ज्यानको बाजी लगाएर नदी नरेर छिरे । अरु उतै थुपिए ।
नेपालीहरु जम्मा भइरहे । भारतले आप्रवासी श्रमिकका लागि भन्दै रेल चलायो । त्यसमा नेपालीहरु पनि आए । फेरि कोरोना संक्रमण फैलियो । सीमापारी सयबाट हजार हुँदै लाख पुग्दा बल्ल सरकारको चेत खुल्यो तर ढिलो भइसकेको थियो । हजारौंको संख्यामा नेपालीहरु छिरे । यताको क्वारेन्टाइनमा राखिए । अहिले उनीहरुलाई धमाधम कोरोना भाइरसको संक्रमण देखिन थालेको छ ।

बाँकेको नरैनापुरमा एकै दिन देखिएका ५९ जना संक्रमित भारतबाट आएर क्वारेन्टाइनमा राखिएकाहरु छन् । रौतहटमा पनि भारतबाट प्रवेश गरेकाहरु नै छन् । अहिले क्वारेन्टाइन सिधै कोरोना भाइरसको संक्रमित बनाउन लगेजस्तो भएको छ ।

विगतमै सीमामा कडाई गरी चेकजाँचसहित प्रवेश गर्न दिएर सुरक्षित तरिकाले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको भए सायद यो अवस्था आउँदैनथियो होला । अब बस्ती बस्तीमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । स्थिति यति भयावह भइसक्यो कि तराईमा संक्रमित बढिरहेका छन् मृत्यु सिन्धुपाल्चोकतिर हुन्छ । कहाँ कसलाई कोरोना संक्रमण भएको छ पत्तो छैन । मान्छे मरेपछि चेकजाँच गर्दा दुईजनामा संक्रमण देखिएपछि प्रष्ट हुन्छ ।

अब खाडी राष्ट्रबाट नेपाली फिर्ता नल्याइ नहुने भएको छ । कुबेतलगायत खाडीका देशहरुले सरकारलाई दबाब दिइरहेका छन् । काम छउञ्जेल भाँडो सकिएपछि ठाँडो जस्तै व्यवहार गरिएका छन् । उनीहरुमध्ये हजारौंको संख्यामा भीसा अवधि सकिएपछि पनि बसेकाहरु रहेको बुझिएको छ । कुबेत सरकारले बरु निःशुल्क विमानमा ल्याइदिन्छु अनुमति देऊ भनिरहेको छ । परराष्ट्र मन्त्रालय त्यसको प्रक्रियामा लागिसकेको छ ।

कुबेतमा त हजारौं छन् मलेशिया, साउदी अरब, युएई, कतारलगायका देशमा गरी लाखौं नेपाली आउन ठिक्क परेका छन् । तिनको उद्धार शुरु त गर्ला तर राख्ने कहाँ ? सरकारले राख्ने क्वारेन्टाइन कोरोना भाइरस फैलाउने थलो बनेको नरैनापुर र रौतहटको घटनाले देखाइसकेको छ ।

अब सरकारले कसरी विदेशबाट जानेहरुको आगमनलाई थेग्ने हो ? विगतमा रेमिट्यान्स आयो भनेर दंग पर्दै वैदेशिक रोजगारी नै सबथोक हो जस्तो गरियो । युवाहरुको पलायनको बाटो बनाइयो । अहिले जस्ले लग्यो उसलाई घाँडो भएका छन् । हुँदा हुँदा देशले पनि हिजो तिनै युवाबाट फाइदा लिएर अहिले समस्या देख्न थालेको छ । यस्तै पारा हो भने भारतबाट आएकालाई कोरोनाको खाडलमा जाकेजस्ते खाडीबाट फर्कनेहरुलाई पनि त्यही हालतमा पुर्याउने गरी अपरिपक्व काम हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!