शुक्रबार, पौष ११, २०७६ || 1224  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ , पौष ११ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार छाडेपछि समाजवादी पार्टी, नेपालका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास पुगेका थिए ।

बिहिवार साँझ बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा समाजवादी पार्टीका अध्यक्षद्वय भट्टराई र यादवको साथमा सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि पुगेका थिए ।
प्रतिपक्षी मोर्चालाई बलियो बनाउनुको साथै राष्ट्रियसभाको चुनावलगायतमा सहकार्य गर्न आग्रह गर्नका लागि उनीहरु देउवा निवास पुगेका थिए ।समाजवादी पार्टीका नेता र काँग्रेस सभापति देउवाबीच भेटघाट भएको कुरा देउवाका स्वीकय सचिव भानु देउवाले पुष्टि गरेका छन् ।

उनका अनुसार दुई दलको बीचमा देशको समसामयिक राजनीति साथै माघमा हुन लागेको राष्ट्रियसभा चुनावमा सहकार्य गर्ने विषयमा छलफल भएको बताए ।
नेकपा र उसको नेतृत्वको सरकारलाई संसदबाट गलाउने योजना रहेको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुनाएका थिए ।
बैठकमा सहभागि एक नेताका अनुसार उनले प्रदेश २ को सरकारमा पनि सहकार्य गर्ने प्रस्ताव काँग्रेस पार्टीका नेतासँग गरेका थिए । छलफलमा सभापति देउवाका साथै काँग्रेसका उपसभापति विमलेन्द्र निधि पनि थिए ।

मन्त्रीपरिषद्बाट राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्ट देउवालाई भेट्न गएको बेला ‘देशमा बढ्दै गएको कुशासन, भ्रष्टाचार, महङ्गो, विदेश नीति, कालापानीलगायतका विषयमा संसद घेर्ने र सरकारलाई झुकाउने योजना’ डा.बाबुराम भट्टराईले सुनाएका थिए ।
अध्यक्ष यादवले राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ को चारवटै सिटमा दुवै दल मिलेर उम्मेदवारी दिने कुरा राखेपछि उपसभापति निधिले ‘त्यो कसरी सम्भव हुन्छ ? उम्मेदवारी दिएर मात्र हुन्छ कि जित्नु पनि पर्यो नि’ भनी आफ्नो मत राखेका थिए ।

त्यसको जवाफमा अध्यक्ष यादवले ‘भोट ल्याउने जिम्मेवारी मेरो भयो, त्यसको चिन्ता नगर्नुस्’ भनेका थिए । सोही अवसरमा यादवले ‘प्रदेश २ मा राजपा र नेकपामा रहेका यादव मतदाताहरूले आफ्नो पार्टीलाई नै मत दिने आफू विश्वस्त रहेको र यसका लागि आफूले भरपूर प्रयास गर्ने’ आश्वासन पनि दिएका थिए ।
प्रदेश २ मा काँग्रेसको १९ जना प्रदेश सांसद र ८१ जना स्थानीय तहमा प्रमुख र उपप्रमुख रहेका छन् । त्यस्तै, समाजवादी पार्टीको ३० जना प्रदेश सांसद र ५२ जना स्थानीय तहमा प्रमुख र उपप्रमुख रहेका छन् ।

दुवै दल मिलाएर ४९ प्रदेश सांसद र स्थानीय तहमा १३३ जना प्रमुख र उपप्रमुख रहेका छन् । जो राष्ट्रियसभाका मतदाता हुन् ।
यता नेकपाको ३२ जना प्रदेश सांसद र ८३ जना स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा राजपा नेपालको २५ जना प्रदेश सांसद र ४४ जनास्थानीय तहका प्रमुख र उप–प्रमुख रहेका छन् ।

दुवै दल मिलाएर ५७ जना प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उप–प्रमुख १२७ जना रहेका छन् ।
समाजवादी र काँग्रेस गठबन्धनको ४९ प्रदेश सांसद र १३३ स्थानीय तहका रहेका छन् । नेकपा र राजपा गठबन्धनको ५७ प्रदेश सांसद र स्थानीय तहका १२७ रहेका छन् ।
नेपाली जनता दलका दुईजना स्थानीय तहमा रहेका छन् । सम्भवत यो पार्टीले नेकपा र राजपा गठबन्धनलाई सहयोग गर्ने बुझिएको छ ।
प्रदेश २ मा राजपा र नेकपाले मिलेर सरकार बनाउने दाउपेच चलिरहेको बेला समाजवादी पार्टी र काँग्रेसले मिलेर पनि सरकार गठन गर्न सकिने कुरा उपेन्द्र यादवले राखेको स्रोतले दावी गरेको छ ।

प्रदेश २ को गणितीय आधार बताउँदै अध्यक्ष उपेन्द्र यादवले ‘समाजवादी र काँग्रेसको ४९ जना सांसद रहेको, सरकार बनाउन ५४ जना चाहिने भएकोले कम रहेको ५ जनाको व्यवस्था गर्न सकिने’ कुरा काँग्रेसका नेताहरुलाई सुनाएको स्रोतले दावी गरेको छ ।
त्यसको उपायका रुपमा उनले राजपा नेपाललाई विभाजन गर्न सकिने योजना पनि सुनाएका थिए । सोअनुसार राजपा नेपाललाई विभाजन गरेरसमाजवादी पार्टीमा मिलाउने र प्रदेश सांसद सङ्ख्या पुर्याउने योजना उनले सुनाएका थिए ।

समाजवादी पार्टीसँग एकता गर्ने विषयमा राजपा नेपालमा विवाद रहेको छ । केही नेताले एकीकरण गर्नैपर्ने पक्षमा देखिएका छन् भने केही अहिले गर्न नहुने पक्षमा देखिएका छन् ।

राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी एकीकरणको पक्षमा देखिएका छन् भने राजकिशोर यादव, अनिलकुमार झाले पार्टीको महाधिवेशनपछि मात्र एकीकरण गर्ने भन्दै आएका छन् । त्यसमा महन्थ ठाकुर मौन बसेका छन् ।

यद्यपि उनका पक्षका नेताहरु वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्लालगायतका नेताहरु समाजवादी पार्टीसँग एकता गर्न हतार नगर्न सुझाव दिइरहेका छन् । पहिला आफ्नो पार्टी बनाउने अनि मात्र राजपा नेपालसँग एकीकरण गर्ने पार्टीमा कुरा उठाइरहेका छन् ।

राजपा नेपालभित्रको यो विवादको फाइदा समाजवादी पार्टीले लिन सक्ने विश्लेषण एकाथरिले गर्दै आएका छन् । तर, समाजवादी पार्टीले सरकार छाडेपछि राजेन्द्र महतो एकीकरणको विषयबाट केही पछाडी हटेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यस्तो उपायहरु सुनाएपछि काँग्रेसका नेताहरुले चासो दिएर सुनेर बसेका थिए । उनीहरुले ‘सल्लाह गर्दै जाउ के–के गर्न सकिन्छ गर्दै जाउला’ भनी जवाफ दिएको देउवा निकट एक नेताले बताए ।

यसअघि समाजवादी पार्टीले काँग्रेससँग राष्ट्रियसभा चुनावमा तालमेल नगर्ने भन्दै नेकपातिर नजिकिएको थियो । समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले नेकपाका अध्यक्ष प्रचण्डसँग एकचरण कुराकानी पनि गरेका थिए ।

समाजवादी पार्टीका अध्यक्ष यादवले काँग्रेससँग राष्ट्रियसभा चुनावमा सहकार्य गर्न नसकिने भनेको कुरा राजपा नेपालका नेताहरुले खुलासा गरेका छन् ।

उपेन्द्र यादव काँग्रेस र राजपा गठबन्धनलाई छाडेर नेकपातिर नजिकिएपछि राजपा नेपालले हतार हतारमा नेकपासँग दुई बुँदे सम्झौता गरी गठबन्धन बनाएको हो ।

यसअघि राष्ट्रियसभाको चुनावमा काँग्रेस, समाजवादी र राजपा नेपालको गठबन्धन थियो । यसपालि पनि यही गठबन्धनलाई कायम राख्न राजपा नेपालका नेताहरुले आग्रह गरेका थिए तर उपेन्द्रले नेकपासँग चुनावी गठबन्धन बनाउन हिँडेका थिए ।

त्यसपछि राजपा र काँग्रेसले मात्र गठबन्धन बनाएर कुनै पनि सीट जित्न नसकिने बुझेर नै राजपा नेपालका नेताहरु नेकपासँग दुई बुँदे सम्झौता गरी समाजवादी पार्टीलाई उछिन्न हतारिएका छन् ।

र, यो कुराको खुलासा राजपा नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले आफैं गरेका छन् र उनले समाजवादी पार्टीबाट धोका भएको कुरा विभिन्न सञ्चारमाध्यममा भन्दै पनि आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!