बूढानीलकण्ठ नगरपालिकाले नेपालगञ्जबाट आएका १२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखेको छ । कोभिड–१९ को सङ्क्रमण बढिरहेको अवस्थामा बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौँ आएका १२ जनालाई बूढानीलकण्ठ नगरपालिका–६ मा रहेको छहारी भवनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताउनुभयो । भारतको विभिन्न ठाउँ हुँदै नेपालको सीमासम्म आइपुगेका ती व्यक्तिहरु नेपालगञ्जमा रहेको क्वारेन्टाइनमा बसी पत्रसहित सम्बन्धित विभिन्न जिल्ला पठाउने क्रममा काठमाडौँ आइपुगेको बताइएको छ । क्वारेन्टाइनमा राखिएका १२ पुरुषहरु काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, रसुवा, नुवाकोट र सुर्खेतलगायत जिल्लाका रहेका छन् । नेपालगञ्जबाट काठमाडौँ आएका ती व्यक्तिहरुको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ । –––