कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका सप्तरीका १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका परिवार र साथीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको २३ जनाको स्वाबको पिसीआर नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कोभिड–१९ पुष्टि भएका डाकनेश्वरी नगरपालिका–३ का युवकको प्रत्यक्ष सम्प्र्कमा आएकी उहाँकी आमा, हजुरबुबा र हजुरआमा तथा चितवनबाट सँगै आएका १२ जना साथीको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो । यसैगरी डाकनेश्वरी नगरपालिका–५ पातोस्थित क्वारेन्टाइनमा सङ्क्रमित युवकसँगै कोठामा बसेका दुई, कपिलवस्तुबाट आएका तीन र नियमित क्वारेन्टाइनको ड्युटीमा रहेका दुई प्रहरी र एक स्वास्थ्यकर्मीको समेत स्वाबको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । निमित्त प्रमुख यादवका अनुसारे मङ्लबार उनीहरुको स्वाब सङ्कलनपछि परिवारका दुई महिला र २१ पुरुषलाई पातोस्थित क्वारेन्टाइनमा राखिएको छ । स्वाबको रिपोर्ट नेगेटिभ आए पनि सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका उनीहरुलाई अझ एक साता पातोस्थित क्वारेन्टाइनमै राखिने जनाइएको छ । स्वाब परीक्षणको रिपोर्ट आउनु अघिल्लो रात आइतबार सङ्क्रमित युवकलाई घर पठाइएको र सङ्क्रमण पुष्टि भएपछि उनका परिवारका आमा, हजुरआमा र हजुरबुवालाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका बेला चितवनबाट वैशाख ८ गते मध्यराति निक्लिएर उनीसहित १३ मजदुर ट्रक, ट्र्याक्टर र पैदल हुँदै वैशाख ९ गते सप्तरी आएका थिए । डाकनेश्वरी नगरपालिका–३ का वडाध्यक्ष प्रदीप भनिने अरुणकुमार साहका अनुसार १३ जनालाई घर जान नदिइ सोझै क्वारेन्टाइनमा राखिएकामा पिसीआर रिपोर्ट नआउँदै आइतबार राति युवकलाई घर जान दिइएको थियो । स्वास्थ्यकर्मीले वैशाख २२ गते सङ्क्रमित युवकसँगै चितवनबाट आएका १३ जनामध्ये छ जनाको आरडिटी परीक्षण गरेको थियो । बाँकी सात र क्वारेन्टाइनमा बसेका अन्य तीनको वैशाख २६ गते स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रतिष्ठानमा पठाइएको थियो । आरडिटी परीक्षण गरिएका छ युवालाई वैशाख २२ गते र बाँकी सात जनालाई आइतबार होम क्वारेन्टाइनमा बस्ने परामर्श दिएर घर पठाइएको थियो । आधिकारिकरूपमा युवकसहित १० जनाको परीक्षण रिपोर्ट सोमबार मात्र आएको थियो । जसमा एक युवकको रिपोर्ट पोजेटिभ आएपछि उहाँलाई राजविराजस्थित आइसालेसन वार्डमा राखिएको छ । सङ्क्रमित युवकको सम्पर्कमा आएकाहरुको अझै खोजी भइरहेको र सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रयाकिङ र ट्रेसिङ गरी पिसीआर परीक्षण बढाइने निमित्त प्रमुख यादवको भनाइ छ । बिहीबार पनि सुरुङ्गा, शम्भुनाथ, राजगढ, राजविराजलगायतबाट ११ जनाको स्वाब परीक्षणका लागि प्रतिष्ठान पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!