राकेश कर्ण
हिपमत डटकम
बिराटनगर,पौष १० गते । विराटनगर १२ बखरीका किसानहरु मारमा परेका छन । खेतीयोग्य उर्बर भुमिमा पनि सिँचाई, खाद्य मल र उन्नत जातको बिउबिजनको अभावको कारण उनीहरु मारमा परेका हुन ।
सरकारले किसानहरुको समस्यालाई मध्यनजर गर्दै कृषि क्षेत्रको विकास र विस्तारका लागी बर्षेनी करोडौं रकम बराबरको बजेट खर्च गरिरहेको छ । तर किसानहरुले आफ्नो समस्याहरुबाट अझै पनि निजात पाउन सकेका छैनन । विराटनगर महानगरपालिकाले पनि कृषि क्षेत्रको विकास र विस्तारका लागी कृषि प्रर्वद्धन कार्यक्रम अन्तर्गत समुह गठन नविकरण, कृषक अवलोकन भ्रमण, समुह सहकारीमा उत्पादनशील सीप विकास सचेतना तालिम, भर्मिङ्ग कम्पोष्ट तयारी, व्यावसायिक च्याउ खेती, कृषक पाठशाला सञ्चालन, ५० प्रतिशत अनुदानसहितको कृषि चुन वितरण र सरकारी जग्गामा कृषि फर्म सञ्चालन लगायतका कार्यक्रमहरुमा मात्रै जम्मा २२ लाख १० हजारको बजेट छुटयाएको छ । त्यस्तै महानगरपालिकाले कृषि तरकारी खेती, पुष्प कुरिलो, फलफुल, कागती, नर्सरी र आलु खेती, तरकारी मिनी किट वितरण र बर्षे फुलफुल बिरुवा वितरणका लागी पनि जम्मा १२ लाख बराबरको बजेट छुटयाएको छ ।
विराटनगर महानगरपालिकाले समग्र कृषि क्षेत्रको विकास र विस्तारका लागी कुल ७२ लाख ६० हजार बराबरको बजेट विनियोजन गरेको छ । तर किसानहरुले विगत लामो समयदेखि उन्नत जातको बिउबिजन, खाद्य मल र सिँचाई सुविद्याको अभावमा आफनो उत्पादनलाई घरेलु खेतीमा सिमित राख्न बाध्य भएका छन । यसलाई व्यावसायिक खेतीमा परिणत गर्न सकेका छैनन् । विगत ११ बर्षदेखि कालो बास्मती धानको खेती गर्दै आउनुभएका विराटनगर १२ निवासी कुशेश्वर राजवंशीले कृषि सामाग्रीबाट पाउनुपर्ने अनुदान र सिँचाई सुविद्याको अभावमा आफ्नो उत्पादनलाई व्यावसायिक रुप दिन नसकेकोे बताउनुभयो । उहाँले कालो बास्मती धान एकदमै उन्नत जातको धान भएकाले यो अत्यन्तै महंगो पर्न जाने र यसको चामल मात्रै २ सय ५० रुँपैया प्रतिकेजी बिक्री वितरण हुँदै आएको जानकारी दिनुभयो ।
त्यस्तै विगत २५ बर्षदेखि धान, गहुँ र मकै लगायतका अन्नबालीहरुको खेती गर्दै आउनुभएका अर्का किसान श्याम प्रसाद राजवंशीले सिँचाई र बिशेष गरी मलको अभावमा खेती फस्टाउन नसकेको बताउनुभयो । उहाँले प्रायः मल हाल्ने बेलामा डि.ए.पी, युरिया र पोटास जस्ता मल र सिँचाईको अभावमा लाएको खेतबाली पनि नष्ट हुने गरेको उल्लेख गर्नुभयो ।
सम्बन्धित बिषयलाई प्रष्ट पार्दैै सुनसरी मोरङ्ग सिंचाई आयोजना विराटनगरका सिनियर डिभिजनल ईन्जिनयर कुमार घिमिरेले दशैं, तिहार र छठपर्व जस्ता विभिन्न चाडपर्वमा प्रयोग गरिएका सर–सामाग्री तथा केराका खम्बाहरु जथाभाबी नहरमा थुपार्ने र त्यत्तिकै छोडिदिने होडले पनि पानीका मुहानहरु जाम हुने भएकाले चाहिएको ठाउँमा पानी पुर्याउन नसकिएको बताउनुभयो । उहाँले सबै ठाउँहरुमा सिन्चित क्षेत्रको विकास नभएकाले पनि सिंचाईका लागी ठाउँठाउँमा पानी पुर्याउन अवरोध सिर्जना भईरहेको जानकारी दिनुभयो ।
यता पुष ११ गतेबाट सिंचाइका लागी नहरमा कोशी नदीको पानी छोडिदैछ । सुनसरी मोरङ्ग सिंचाई आयोजना विराटनगरले मोरङ्गको २८ हजार र सुनसरीको ४० हजार हेक्टर जग्गाको क्षेत्रफलमा सिंचाईका लागी त्यही नहर मार्पmत पर्याप्त पानी प्रवाह गर्दै आएको छ । तर ग्रामीण भेगका किसानहरुको समस्या जस्ताको त्यस्तै छ । स्थानीय निकायले परिचालन गरेको कार्यक्रमहरुमा आम किसानहरुको पहुँच सिमित देखिन्छ । कम्पनी ऐन २०५३ अन्तर्गत नेपाल सरकारको पुर्ण स्वामित्वमा स्थापित भएको कृषि सामाग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजेन्द्र कार्कीले प्रदेश नं. १ मा मलको कुनै अभाव नरहेको बताउनुभएको छ । उहाँले यही आर्थिक बर्षदेखि राष्ट्रिय बिउबिजन कम्पनी र कृषि सामाग्री कम्पनी लिमिटेड समायोजन भएको कारणले गर्दा बिउबिजनको सम्पुर्ण कारोबार ईटहरीबाट हुँदै आएको जानकारी दिनुभएको छ ।
यता नेपालमा बर्षेनि साढे ३ लाख टन खाद्य मल तेस्रो मुलुकबाट आयात हुने गरेको छ । आयातित मलको १५ प्रतिशत भने कृषि सामाग्री कम्पनी विराटनगरले पाउँछ । हाल विराटनगरबाट ७ सय रुपैया प्रतिबोरा युरिया, २ हजार १ सय ५० रुँपैया प्रतिबोरा डि.ए.पी र १ हजार ५ सय ५० रुँपैया प्रतिबोरा पोटास बिक्रि वितरण हुने गरेको छ । त्यस्तै किसानका समस्याहरुलाई सम्बोधन गर्दै कृषि विकास निर्देशनालयका निमित्त प्रमुख प्रकाश कुमार डाँगीले प्रदेश सरकारले निर्धारण गरेका विभिन्न कार्यक्रमहरुले किसानका समस्याहरुलाई निराकरण गर्न सहयोेग पुरयाउने विश्वास व्यक्त गर्नुभएको छ ।
यसरी बिस्तारै देशको अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्र खस्किँदै गईरहेको परिस्थितिमा यसको विकास र विस्तारका साथसाथै स्थानीय निकायद्धारा किसानहरुका लागी परिचालन गरिएको सबै किसिमको कार्यक्रमहरुमा किसानहरुलाई अनिवार्य रुपमा सहभागी गराउन दीर्घकालीन कार्ययोजना बनाएर अघि बढनुपर्ने आवश्यक देखिन्छ ।