शनिबार, बैशाख २७, २०७७ || 710  पटक पढिएको

लामो समयको बन्दाबन्दीका कारण अधिकांश ठाउँका दीर्घरोगीले समस्या भोगिरहेका बेला जिल्लाको मालिकार्जुन गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गरेको छ । गाउँपालिकाभरिका आठवटै वडाका स्वास्थ्य चौकीमा पुगेर निःशुल्करुपमा दीर्घरोगीका बिरामी खोजी औषधि वितरण गरेको हो । गाउँपालिकाले आठवटै वडाका ४०६ घरधुरीलाई औषधि वितरण गरेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखाका अनुसार वडा नं १ मा ३५, वडा नं २ मा २१, वडा नं ३ मा ४४, वडा नं ४ मा १५, वडा नं ५ मा ८६, वडा नं६ मा ११५, वडा नं ७ मा २६ र वडा नं ८ मा ६४ जनालाई निःशुल्क औषधि वितरण गरेको स्वास्थ्य शाखा सहसंयोजक रामदत्त जोशीले जानकारी दिनुभयो । यसरी निःशुल्क औषधि पाउनेमा १७७ जना महिला रहेका छन् । दीर्घरोगीले औषधि लिन सदरमुकाम खलङ्गा, धनगढी, नेपालगञ्ज, काठमाडौँ तथा भारतका विभिन्न शहरबाट औषधि लिएर खानुपर्ने बाध्यता थियो । तर, ६ सातादेखिको बन्दाबन्दीका कारण औषधि लिन जान नसक्दा समस्यामा परेको भन्दै मालिकार्जुन गाउँपालिकाले निःशुल्क औषधि वितरण गर्ने निर्णय गरेको गाउँपालिका प्रवक्ता प्रेम पन्तले बताउनुभयो । कोरोनाको बेला स्थानीयवासीलाई बाहिर गएर औषधि लिन सक्ने अवस्था नभएपछि बन्दाबन्दी अवधिभर गाउँपालिकाले निःशुल्क औषधि दिएको पन्तको भनाइ छ । गाउँपालिकाले सुगर, प्रेसर, मुटु, मानसिक समस्या र बाथलगायत रोगको औषधि निःशुल्क वितरण गरेको हो । कोरोना सङ्क्रमण जोखिम नियन्त्रण र औषधि सेवन गर्न नपाएकै कारण दीर्घरोगीको स्वास्थ्यस्थिति बिग्रिन नदिन गाउँ गाउँ पुगेर औषधि वितरण गरेको स्वास्थ्य संयोजक गुणराज ओझाले बताउनुभयो । गाउँपालिकाले हरेक स्वास्थ्य संस्थामार्फत दीर्घरोगका औषधि सेवन गर्ने व्यक्तिको सङ्ख्या सङ्कलन गरे पनि सङ्कलन गरेभन्दा बढी बिरामी थपिएका छन्् । “सङ्ख्या थपिँदै गएको छ भने केही फरक रोगका बिरामी पनि औषधिका लागि आए”, संयोजक ओझाले भन्नुभयो, “उनीहरुका लागि पनि औषधि व्यवस्थापनको पहल भइरहेको छ ।” भारतका लखनउ, बरेलीलगायत क्षेत्रबाट औषधि खानेहरुसमेत औषधि लिन आएपछि थप औषधिको व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!