शुक्रबार, बैशाख २६, २०७७ || 1482  पटक पढिएको

एक नयाँ अनुसन्धानका अनुसार सन् २०७० सम्म तीन अर्बभन्दा बढी व्यक्ति यस्तो स्थानमा बसिरहेका हुनेछन् जहाँ तापक्रम ‘सहन नसकिने’ हुनेछ ।

जबसम्म ग्रीन हाउस ग्यासको उत्सर्जनमा कमी आउँदैन, ठूलो संख्यामा मानिसहरुले औसत तापक्रम २९ डिग्री सेल्सियसभन्दा बढी महसुस गर्नेछन् ।

पर्यावरणको यो स्थिती त्यो ‘कम्फर्ट जोन’ भन्दा बाहिरको स्थिती हुनेछ जहाँ मानिसहरु पछिल्लो ६ हजार वर्षदेखि रहनसहन गर्दै आएका छन् ।

अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानका लागि संयुक्त राष्ट्रको जनसंख्या र विश्व तापक्रममा वृद्धि सम्बन्धि आँकडाको प्रयोग गरेका छन् ।

ग्लोबल वार्मिङका कारणः

संयुक्त राष्ट्रको एक रिपोर्ट अनुसार पेरिस जलवायु सम्झौतामा तापक्रम बढ्न नदिन विभिन्न प्रयास गरिएता पनि संसार तीन डिग्री सेल्सियस तापक्रम वृद्धि तर्फ अघि बढिरहेको छ ।

अनुसन्धानका अनुसार मानिसको जनसंख्या स–साना जलवायु क्षेत्रमा सघन रुपमा बसेको छ । धेरैजसो मानिसहरु त्यस्तो स्थानमा बसिरहेका छन् जहाँ औसत तापक्रम ११ देखि १५ डिग्रीबीच रहेको छ ।

जनसंख्याको एउटा सानो हिस्सा त्यो इलाकामा बसोबास गरिरहेका छन् जहाँ औसत तापक्रम २० देखि २५ सेल्सियसको बीचमा रहेको छ । यी जलवायु परिस्थितीमा मानिसहरु हज्जारौं वर्षदेखि बसोबास गर्दै आएका छन् ।

यद्यपि, जलवायु परिवर्तनका कारण यदि संसारको औसत तापक्रम तीन डिग्री मात्रै बढेपनि एउटा ठूलो जनसंख्यामा यस्तो गर्मीमा बस्नुपर्ने हुन्छ जहाँ उनीहरु जलवायुको सहज स्थितीभन्दा बाहिर हुनेछन् ।

युनिभर्सिटी अफ एक्सटेरमा ग्लोबल सिस्टम इन्स्टिच्युटका निर्देशक र जलवायु विशेषज्ञ टिम लेन्टनको यो स्टडीमा चीन, अमेरिका र युरोपका वैज्ञानिकले भाग लिएका थिए ।

गर्मी स्थानमा सघन जनसंख्याः

टिम लेन्टन भन्छन्, ‘समुद्रको तुलनामा जमिनको तापक्रम तीब्र रुपमा बढ्नेछ । तसर्थ जमिनको तापक्रम तीन डिग्री बढी हुनेछ । पहिलादेखि नै गर्मी स्थानमा जनसंख्या धेरै हुने सम्भावना पनि रहेको छ । सहारा मरुभूमीका दक्षिणमा पर्ने अफ्रिकी महादेशका धेरैजसो इलाका यसबाट प्रभावित हुनेछन् । यहाँका मानिसहरु अत्यधिक गर्मी माहौलमा बस्न बाध्य हुनेछन् ।’

‘गर्मी इलाकामा थप सघन जनसंख्या देखिएको छ । ती गर्मी इलाकामा तापक्रम थप बढिरहेको छ । यसै कारण हामी देखिरहेका छौं कि तीन डिग्री तापक्रम थपिएको संसारमा औसत व्यक्तिले सात डिग्री बढी गर्मीमा बाँच्नु परिरहेको छ ।’

अनुसन्धानका अनुसार जुन इलाका यो परिवर्तनबाट प्रभावित हुने सम्भावना छ, त्यसमा अष्ट्रेलिया, भारत, अफ्रिका, दक्षिण अमेरिका र मध्य पूर्वका केही हिस्सा समावेश छन् ।

यतिसम्मको तापक्रममा गरिब इलाकामा बस्ने मानिसहरुले आफूलाई बचाउन सक्षम नहुने भन्दै अनुसन्धानमा चिन्ता व्यक्त गरिएको छ ।

पर्यावरणको कम्फर्ट जोनः

टिम लेन्टन भन्छन्, ‘मेरो यो अनुसन्धान ती धनाढ्यबारे होइन जसले एयर कन्डिसनयुक्त भवनमार्फत् कुनै पनि कुराबाट आफूलाई बचाउने सक्छन् । हामीले त्यस्ता व्यक्तिबारे चिन्ता गर्नुपर्छ जोसँग जलवायु परिवर्तन र मौसमबाट आफूलाई बचाउनका लागि स्रोत–साधन छैन ।’

अनुसन्धानका मुख्य सन्देशबारे टिमले भने, ‘यदि जलवायु परिवर्तनलाई नियन्त्रित गर्न सकियो भने यसले ठूलो फाइदा पुर्याउनेछ । यसमार्फत् पर्यावरणको कम्फर्ट जोनबाट बाहिर जाने व्यक्तिको संख्यामा निकै कमी गर्न सकिनेछ ।’

‘आज जति तापक्रम छ, त्यसमा एक डिग्री मात्रै पनि वृद्धि भयो भने करिब एक अर्ब मानिस प्रभावित हुनेछन् । त्यसकारण तापक्रममा वृद्धि हुने हरेक डिग्रीलाई हामी मानिसहरुको दैनिकीसँग जोड्न सक्छौं र यसमा हुने परिवर्तनलाई धेरै हदसम्म बचाउन सक्छौं ।’

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!