कोरोनाभाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउन सके धेरै रोगबाट जोगिन सकिने बताएका छन्।

सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार ‘इम्यूनिटी’ अर्थात् प्रतिरक्षा प्रणाली भएको विज्ञहरू औँल्याउँछन्।

कोरोनाभाइरसविरुद्ध लड्न प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा संसारभर विभिन्न अध्ययनहरू भइरहेका छन्।

स्वास्थ्यकर र सन्तुलित आहारका अतिरिक्त बासस्थान, व्यक्तिको जातीय र आनुवंशिक गुण र आनीबानीले रोग प्रतिरोधी क्षमता निर्धारण गर्ने उनीहरू बताउँछन्।

शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन सकिने तर एकै दिनमा त्यसो गर्न भने सम्भव नहुने उनीहरूको भनाइ छ।

जनस्वास्थ्य तथा पोषणविद्हरूको सल्लाहमा तयार पारेका शरीरको प्रतिरणा प्रणाली बलियो बनाउने सात उपाय यस्ता छन्:

१. सन्तुलित र पोषणयुक्त आहार
पछिल्लो समयमा कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न मसलायुक्त परिकार, लसुन र कागती खानुपर्छ भन्ने चर्चा चलेको छ। उचित मात्रामा नियमित खाँदा शरीरलाई फाइदा भए पनि तिनले भाइरस मार्ने वैज्ञानिक प्रमाण छैन।

अहिले नयाँ-नयाँ परिकार बनाएर नियमितभन्दा धेरै परिमाणमा खाने गरेको देखिएको भन्दै पोषणविद् सुप्रिया भट्टराई त्यसले बेफाइदा हुने बताउँछिन्।

हाम्रो शरीरमा रहेका हितकारी ब्याक्टेरिया जोगाउन तथा प्रतिरक्षाका लागि चाहिने भिटामिनयुक्त फलफूल र रेसादार सागसब्जी खानु उत्तम रहेको उनको भनाइ छ।

भिटामिन सी घुलनशील हुने भएकाले शरीरमा लामो समयसम्म नटिक्ने हुनाले फलफूल र सागसब्जी नियमित खानुपर्ने विज्ञहरूको सुझाव छ।

२. नियमित शारीरिक अभ्यास
प्रतिरक्षा प्रणाली बलियो बनाउन शारीरिक रूपमा स्वस्थ रहन निकै आवश्यक हुन्छ।

हाम्रो छाला र छालामुनिको तहमा रहेका सूक्ष्मजीवले हानिकारक जीवाणुसँग लड्छन्। हानिकारक जीवाणु यदि हाम्रो शरीरभित्र छिरे भने हाम्रो रगतमा हुने सेता रक्तकोषले तिनको प्रतिकार गर्छन्।

प्रतिरक्षा प्रणाली बलिलो पार्ने एक उपाए
सेता रक्तकोषहरू कम चलायमान हुने हुनाले तिनलाई चलायमान बनाउन शारीरिक व्यायाम अत्यावश्यक हुने विज्ञहरू बताउँछन्।

जनस्वास्थ्यविज्ञ डा. विश्वनाथ कोइराला भन्छन्, “सेता रक्तकोष शरीरका सैनिकजस्तै हुन् र तिनलाई नियमित रूपमा सक्रिय बनाउँदा प्रतिरक्षा प्रणाली पनि बलियो बन्दै जान्छ।”

शारीरिक अभ्यास गर्दा रक्तचापसँगै सेता रक्तकोषको गति पनि बढ्ने हुँदा रोगको प्रकृति अनुसार तिनीहरुले रोग लाग्नु पहिले नै सम्भावित सङ्क्रमणको पहिचान गर्ने उनले बताए।

त्यसका अतिरिक्त शारीरिक अभ्यास गर्दा शरीरको तापक्रम पनि केही बढ्ने हुनाले सङ्क्रमणसँग जुध्न तथा हानिकारक जीवाणुको वृद्धिलाई समेत नियन्त्रण गर्न सघाउने चिकित्सकहरूको भनाइ छ।

३. पर्याप्त विश्राम र निद्रा
आहार र शारीरिक व्यायाम मात्र प्रतिरक्षा प्रणालीमा सुधार गर्न पर्याप्त हुँदैनन्।

शरीर जैविक यन्त्र भएकाले यसलाई विश्राम पनि चाहिन्छ। कम तनाव र पर्याप्त निद्रा भए प्रतिरक्षा प्रणाली पनि चुस्त हुने विज्ञहरू बताउँछन्।

डा. कोइरालाले भन्छन्, ”शरीर सधै एउटै अवस्थामा नरहने र उमेर बढ्दै जाँदा रोगसँग लड्ने क्षमतामा समेत ह्रास आउने हुनाले पर्याप्त आराम वा नियमित सुत्ने बानी बसाले प्रतिरक्षा प्रणाली पनि निकै मजबुत हुन्छ।”

त्यसका अतिरिक्त योगाभ्यास र ध्यानले पनि प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सहयोग गर्ने विज्ञहरूको मान्यता छ।

अमेरिकाको प्रतिष्ठित योग जर्नलका अनुसार योगले निरासा पैदा गर्ने हार्मोन कम गर्न र शरीरमा पैदा हुने हानिकारक पदार्थलाई बाहिर निकाल्न निकै सहयोग पुग्छ।

४. धूमपान र मद्यपान नगर्ने
जनस्वास्थ्यविज्ञ डा. अर्जुन कार्कीका अनुसार मदिरा र चुरोट सेवन गर्ने मानिसको तुलनामा नगर्ने मानिसको प्रतिरक्षा प्रणाली बलियो हुन्छ।

उनी भन्छन्, ”तपाईँले मदिरा वा चुरोट सेवन गर्नुहुन्छ भने तत्काल छाड्नुहोस् वा कम गर्दै जानुहोस्। त्यसो गर्नुभयो भने आफ्नो शरीरको प्रतिरक्षा प्रणाली बलियो बन्दै गएको आफैँ अनुभव गर्न सकिन्छ।”

धूमपान र मद्यपान गर्ने मानिस र तीमध्ये पनि प्रौढ व्यक्तिमा धेरै सङ्क्रमक हुने सम्भावना धेरै हुने अध्ययनहरूले देखाएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष संसारभरि चुरोट र सूर्तीजन्य पदार्थको सेवनका कारण सरदर ८० लाख मानिस र रक्सी सेवनका कारणले ३० लाख बढी मानिसको ज्यान जाने गरेको छ।

५. रचनात्मक बन्ने
धेरै मानिस फुर्सद नभएकाले रचनात्मक बन्न नसकेको बताउँछन्।

तर रचनात्मक वा सिर्जनात्मक बन्न सकेमा रोगसँग लड्न सक्ने क्षमतामा अपत्यारिलो ढङ्गले विकास हुने डा. कोइरालाको भनाइ छ।

चिकित्सकहरूका अनुसार सृजनात्मक कृयाकलापमा सहभागि हुँदा प्राप्त हुने खुसीले निराशा र एक्लोपनाको भावना कम गर्दछ।

डा. कोइरालाले भन्छन्, “फुर्सदको समय छ भन्दै एकै ठाउँमा बसिरहने गर्दा निराशाजस्ता मानसिक रोगको विकास हुन्छ।”

बगैँचामा काम गर्ने, चित्र वा अन्य कला बनाउने, घर सजाउने वा कथाकविता लेख्ने लगायतका काम गर्न उनको सुझाव छ।

६. उच्च मनोबल

डा. कोइरालाका अनुसार धेरै मानिस आफ्नो उच्च मनोबलका कारणले गर्दा रोगसँग लड्न सक्ने क्षमतामा अपत्यारिलो ढङ्गले विकास गरेको उदाहरणहरू प्रशस्त छन्।

कोरोनाभाइरसले उमेरका हिसावले तुलनात्मक रूपमा वृद्धवृद्धाहरूको ठूलो सङ्ख्यामा ज्यान लिएको छ।

तर केहीले भने उच्च मनोबलका कारण सङ्क्रमण भएरपनि त्यसमाथि विजयी प्राप्त गरेका घटना छन्।

७. रोग र खोप
शरीरमा हुने हितकारी सूक्ष्मजीवले बाह्य आक्रमणकारी जीवाणुसँग सङ्घर्ष गरेर सङक्रमण हुन दिँदैनन्।

तर श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, बाथ र मधुमेहजस्ता रोग लागेका व्यक्तिहरूमा भने यस्ता हितकारी जीवाणु तुलनात्मक रूपमा कम हुन्छन्। एन्टीबायोटिक खाएका मानिसमा हितकारी जीव पनि मर्छन्।

तसर्थ पाका र दीर्घरोग भएका मानिसमा जोखिम बढी हुने हुनाले प्रतिरक्षा प्रणालीलाई सबल राख्न विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

त्यसका अतिरिक्त नियमित खोप लिँदा केही रोगसँग लड्ने क्षमता बलियो बनाउन सकिने डा. कार्कीको सुझाव छ।

शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न वा अपाङ्गताबाट बचाउन र गम्भीर रोग लाग्न नदिन बालबालिकालाई निर्धारित मात्रामा खोप दिने गरिन्छ।

हाल नेपालमा भ्यागुते रोग, लहरे खोकी, हेपाटाइटिस ‘बी’,धनुष्टङ्कार, निमोनिया, र दादुरा-रुबेला रोगबाट बचाउन खोप दिने गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बीबीसी न्यूज 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!