सोमबार, बैशाख १५, २०७७ || 702  पटक पढिएको

भौगोलिक स्वरुप तथा मौसमी विविधताले नेपालको हवाई उड्डयनमा चुनौती रहे पनि यो सेवा आम सर्वसाधारणको रोजाइमा पर्छ । महँगो भाडा तिरेर भए पनि सुलभ र सहज ढङ्गले गन्तव्यमा पुग्ने जो कोहीको चाहनालाई हवाईजहाजको यात्राले सजिलै पूरा गरिदिन्छ । कुनै पनि विपद्को अवस्थामा होस् वा अन्य अत्यावश्यक कामका लागि पनि हवाईजहाजको प्रयोगको विकल्प हुँदैन । यतिबेला कोभिड–१९ को विश्वव्यापी रुपमा फैलिएको छ । नेपालमा पनि यसको असर देखिएको छ । कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ देखि देशभर लकडाउन गरेको छ । लकडाउन पछिल्लो पटक वैशाख २५ सम्म निरन्तरता दिने निर्णय गरिएको छ । त्यस्तै जेठ २ गतेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्द गरिएको छ । लकडाउनको अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवीय उद्धार तथा कार्गो उडान भइरहेको छ । यसरी विपद्को सारथी बनिरहेका हवाई क्षेत्रको सेवालाई विभिन्न मापदण्ड बनाएर परिस्कृत गर्ने प्रयास थालिएको छ । यसै सन्दर्भमा नेपालको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले सुरक्षा निर्देशिका बनाएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुप जहाजका लागि निर्देशिका बनाइएको कम्पनीले उल्लेख गरेको छ । बुद्धले आफ्ना आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गन्तव्यका लागि सुरक्षा निर्देशिका बनाएको हो । उक्त सुरक्षा निर्देशिका अनुसार कोभिड–१९ को सङ्क्रमण फैलन नदिनका लागि अब जहाजभित्र शौचालय प्रयोग गर्न नपाइने भएको छ । खासगरी सामूहिक प्रयोगका वस्तु प्रयोग रोक्ने उद्देश्यले शौचालय प्रयोगमा रोक लगाइएको हो । हवाई यात्रुका लागि तोकिएको यो सुरक्षा निर्देशिका विश्व स्वास्थ्य सङ्गठनले महामारीको जोखिम नहटाएसम्म लागू हुने कम्पनीले जनाएको छ । बुद्धले यात्रुको सुरक्षालाई ध्यानमा राखी स्वासप्रस्वाससम्बन्धी बिरामी तथा रुघाखोकी, जीउ दुख्ने, सिँगान बग्नेजस्ता कोरोनासँग सम्बन्धित लक्षण देखिएका सबै बिरामीलाई जहाजमा चढ्न निषेध गरिने जनाएको छ । त्यसका लागि आफ्ना काउन्टरमा विशेष व्यवस्था मिलाइनेछ । कम्पनीले आगामी हवाई उडानमा क्याटरिङ सेवा बन्द गर्नेछ । एक वा दुईजना एयर होस्टेसले धेरैजना यात्रुलाई क्याटरिङ बाँड्दा त्यसले सङ्क्रमण फैलन सक्ने भएकाले यस्तो व्यवस्था गरिने भएको हो । उडानका क्रममा उपयोग हुने ¥याम्पबसमा सीमित मात्रमा यात्रु चढाइनाका साथै जहाजमा चढ्नुपूर्व सबै यात्रुले स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ । त्यसैगरी जहाजमा घरपालुवा जनावर लैजान दिइनेछैन । विमानस्थलमा यात्रुले सामाजिक दूरी कायम गर्नुपर्नेछ । यात्रुलाई जहाजमा चढाउनु अगाडि कम्पनीले आफ्ना सबै कार्यालय र उपकरण, सवारी साधन र हवाईजहाजसमेत स्यानिटाइज गर्ने जनाएको छ । बुद्ध एयरका कार्यालय र सबै कर्मचारीले समेत सुरक्षा निर्देशिकाको कडा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्यालयभित्र सहकर्मीका कुनै पनि सामग्री प्रयोग गर्न पाइने छैन । कर्मचारीले खाजा सकभर घरमै बनाएर ल्याउन वा कार्यालयको क्यान्टिनमा मात्र खानु पर्नेछ । मास्कलगायत स्वास्थ्य सुरक्षासम्बन्धी आवश्यक सामग्री कम्पनीले हरेक कर्मचारीलाई उपलब्ध गराइनेछ । कर्मचारीलाई भीडभाड हुने क्षेत्र, सिनेमा हल, रेस्टुरेन्टलगायत क्षेत्रमा जान रोक लगाइएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!