शुक्रबार, बैशाख १२, २०७७ || 721  पटक पढिएको

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले कोभिड–१९ को विशेष बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । बीमा अवधिभित्र कोभिड–१९ को पिसिआर परीक्षणमा पोजेटिभ रिपार्ट आएका व्यक्ति बीमा भुक्तानी गर्न योग्य हुने सो कम्पनीका कर्णाली प्रबन्धक ऋषिराम पाण्डेले जानकारी दिनुभयो । व्यक्तिले आफ्नो र परिवारका सदस्यको बीमा गर्न सक्ने छन् । परिवारको बीमा गर्दा सम्पूर्ण सदस्यको बीमा शुल्क तिर्नुपर्ने छ । उहाँले भन्नुभयो, “बीमा गर्नुपर्ने व्यक्तिको उमेर तीन महिनादेखि ९९ वर्ष हुनुपर्ने प्रावधान रहेको छ ।” यसमा कुनै सङ्घसंस्थाले पनि आफ्ना कर्मचारीको बीमा गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ । रु एक लाख रकमको बीमा गरेमा बीमा गर्ने सदस्यले रु एक हजार र प्रतिसदस्य थपिँदै गएपछि प्रतिसदस्य रु ६०० लाग्नेछ । रु ५० हजारको बीमा गरेमा रु ५०० बीमाङ्क शुल्क लाग्नेछ भने अरु सदस्य (घरपरिवार) थपिएपछि प्रतिव्यक्ति रु ३०० थप रकम लाग्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । संस्थागत रुपमा समूहगत कर्मचारीको बीमा गरेमा पनि रु एक लाख रकम बीमाको एकजना कर्मचारीको रु एक हजार बीमा शुल्क तिर्नुपर्ने छ भने अन्य कर्मचारी थपिँदै गएपछि प्रतिकर्मचारी रु ६०० बीमा शुल्क लाग्ने प्रावधान रहेको छ । रु ५० हजारको बीमा गरेमा एक कर्मचारी रु पाँच र कर्मचारी थप भएपछि प्रतिव्यक्ति रु ३०० का दरले बीमा शुल्क थपिने व्यवस्था रहेको छ । एउटा घरपरिवार वा सङ्घसंस्थाले ६ जनाभन्दा बढीको बीमा गर्न नपाइने व्यवस्था रहेको बीमा कम्पनीले जनाएको छ । कोरोना रोग बीमा गर्ने व्यक्ति तथा सङ्घसंस्थाले बीमाको प्रस्ताव तथा ग्राहक पहिचान फाराम भरेर बीमा कम्पनीलाई बुझाउनु पर्नेछ । भरेका फाराम बीमा कम्पनीको कार्यालय बुझाउन पनि सकिने व्यवस्था गरिएको छ भने अनलाइन फाराम डाउनलोड गरी भरेर फ्याक्स, इमेलबाट पनि पठाउने व्यवस्था गरिएको बीमा कम्पनीले जनाएको छ । बीमाका लागि तिर्नुपर्ने बीमा शुल्क अनलाइनबाट कम्पनीको नजिकैको बैंक खातामा जम्मा गर्न सकिने व्यवस्था रहेको छ । अलपत्र परेका नागरिकलाई राहत कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण आफ्नो गृह जिल्लामा पुग्न नसकेर अलपत्र परेका नागरिकलाई जुम्लाका युवा स्वयं सेवक समूहले राहत प्रदान गरेको छ । नुवाकोट जिल्ला विदुर नगरपालिका—१ त्रिशुलीका रविन तामाङ र सुरेन्द्र तामाङलाई २५ किलो चामल, २ किलो दाल, २ पाकेट तेल र रु एक सयको रिर्चाज कार्ड राहत स्वरुप प्रदान गरेको समूहका बालकृष्ण बुढाले बताउनुभयो । त्यसैगरी समूहले भरतपुर महानगरपालिका–२७ चितवनका जयबहादुर कुमाल र भिष्म महतालाई तातोपानी गाउँपालिका—२ की सत्यदेवी डाँगीले आश्रय दिदै आउनुभएको छ । उनीहरुलाई पनि २५ किलो चामल, दुई किलो दाल, दुई प्याकेट तेल र रु एक सय रिर्चाज कार्ड उपलव्ध गराएको उहाँले बताउनुभयो । वडामा निगरानी केन्द्र पातारासी गाउँपालिका जुम्लाले पोखरा, काठमाडौँ, बुटवल, नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका नागरिकलाई उद्धार गरेर ल्याउन थालेपछि हरेक वडामा निगरानी केन्द्र निर्माण गरेका छन् । लकडाउनका कारण नेपालका विभिन्न जिल्लामा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गर्ने निर्णय भएको पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले जानकारी दिनुभयो । अलपत्र परेका नागरिकलाई काठमाडौँ, पोखरा, नेपालगञ्ज र सुर्खेतबाट गाडीमा ल्याउनका लागि सूचना प्रकाशित भइसकेको छ । अलपत्र परेका नागरिकले गाउँपालिकाले तोकेको सम्पर्क व्यक्तिसँग सम्पर्क गर्न आग्रह गरिएको पातारासी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिका सदस्य सचिव रतन बुढथापाले बताउनुभयो । गाउँपालिकाले आफ्नो खर्चमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न लागेको बताउँदै उहाँले पातारासी गाउँपालिकाका कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकबाट प्रत्येक वडामा निगरानी केन्द्र निर्माण गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!