शुक्रबार, बैशाख १२, २०७७ || 708  पटक पढिएको

पोखरा–५ मालेपाटनमा बसेर सर्टिङको काम गर्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–७ का पदमबहादुर मगरलाई एक महिना लामो लकडाउनले बेचैन बनाएको थियो । सात÷दश दिनमा कोरोना सङ्क्रमण अन्त्य भएर पुनः काममा फर्किएला भन्ने आसमा बस्नुभएका उहाँ छिट्टै लकडाउन खुल्ने कुनै सङ्केत नदेख्दा बजारमा बसेर परिवारको पेट पाल्न समस्या पर्ने र यतै अलपत्र परिने हो कि भन्ने चिन्तामा हुनुहुन्थ्यो । बिहीबार दिउँसो मामाको छोरा नाता पर्ने दाइले घर जान गाडी व्यवस्था भएको र साँझ ५ बजेभित्रमा सिद्धार्थचोक आइपुग्न भनेपछि खुसी हुँदै उहाँले श्रीमतीलाई घर जाने तयारी गर्न भन्नुभयो । यसअघि नै घर फर्किन चाहे पनि गाडी नचल्दा रोकिनुभएको थियो । मध्याह्नदेखि लगातार पानी परेकामा साँझ केही मत्थर भएको बेला सिमसिम पानीमा साढे ४ बजे उहाँ श्रीमती र तीन वर्षीया छोरी च्यापेर गाडी लाग्ने भनिएको ठाउँसम्म आउनुभयो । वडाले वितरण गरेको राहत एक महिनालाई मात्र पुगेको र फेरि पाइने÷नपाइने निश्चित नभएकाले समेत घर फर्किनु बाध्यता भएको मगरको भनाइ छ । “एक महिना त जेनतेन धानियो । खानेकुरा नहुँदा भोकभोकै बस्ने अवस्था आएको थियो ।” मगरले भन्नुभयो, “घर जान पाइयो, अब त बाँचिने भइयो । शहर छाडेपछि कोरोनाले मर्नै परेछ भने पनि गाउँमै खेती किसानी गरेर मर्छौं ।” लकडाउनले शहर बन्द भए पनि गाउँमा कृषि कार्यमा कुनै रोकावट नभएको जानकारी पाएपछि उहाँ घर फर्किएर परिवारका साथमा खेतीबाली लगाउने तथा अन्य आयआर्जनका काम गर्ने मनस्थितिमा हुनुहुन्छ । मजदूरीबाट दैनिक रु ७०० कमाइ भए पनि परिवारको आवश्यकता पूरा गर्दैमा सबै पैसा खर्च भएकाले बचत नभएको र दुःखको बेला राहतको आस गर्नुपरेको उहाँ बताउनुहुन्छ । गाउँमा यतिबेला मकै गोड्ने समय भएको र तरकारी लगाउने, दाउरा काट्नेलगायत काम गर्ने सोच मगर दम्पतीको छ । मगर जस्तै अहिले कामको खोजी तथा विभिन्न पेशा व्यवसायमा पोखरामा रहेकाहरु धमाधम आफ्नो घर फर्किन थालेका छन् । लकडाउन छिट्टै खुल्ला भन्ने विश्वासले दिन गुजारेकाहरु लकडाउन खुल्ने निश्चित नभएपछि शहरबाट गाउँ फर्किनेहरु बढी छन् । महिनादिन पुगिसक्दासमेत कोरोनाको सङ्क्रमण झन बढ्न थालेपछि बजारमा रहेका अधिकांशले घर फर्किने योजना बनाएका छन् । केही मजदूर रातदिन नभनी लामो दूरी हिँडेर तय गरेपछि सरकारले पछिल्लो पटक घर जान चाहनेहरुलाई प्रदेश र स्थानीय सरकारको समन्वयमा गाडीबाट पठाउन निर्देशन दिएको थियो । लकडाउनको अवस्थामा घर जान चाहनेहरुलाई प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न सरकारले निर्देशन दिएसँगै घर जान चाहनेलाई विभिन्न सङ्घसंस्थाले समन्वय गरी गाडीको व्यवस्था गर्ने गरेका छन् । स्थानीय सरकार, सामाजिक सङ्घसंस्था तथा सम्पर्क समाजले आ–आफ्नो क्षेत्रका नागरिकलाई घरसम्म पु¥याउन समन्वय गरिरहेका छन् । धादिङकै त्रिपुरासुन्दरी गाउँपालिका–४ का गोविन्द थापा पेशाले निर्माण व्यवसायी हुनुहुन्छ । लकडाउनपछि घर बनाउने सबै काम रोकिएको तथा खुल्ने पनि निश्चित नभएपछि घर फर्किन लाग्नुभएको छ । परिवारका सदस्यलाई लकडाउनअघि नै घर पठाएको बताउँदै उहाँले भन्नुभयो, “लकडाउनमा यहाँ कोठामा थुनिएर बस्दा बस्दा दिक्क लागिसक्यो । घरमा गएपछि काम गर्न त पाइन्छ ।” पोखराको चिप्लेढुङ्गामा प्लाष्टिक पसल सञ्चालन गर्दै आउनुभएका धादिङ ज्वालामुखी गाउँपालिका–७ का शोभा सिलवाल पनि बालबच्चासहित पाँचजनाको परिवारका साथ घर फर्किन लाग्नुभएको छ । दश वर्षअघिदेखी व्यवसाय गर्दै आएकामा कहिल्यै पनि यति लामो बन्द नभोगेको बताउँदै व्यापार नभएपछि परिवार पाल्नसमेत असहज देखिएपछि घर फर्किन लागेको बताउनुभयो । घरमा गएर तरकारी उत्पादनलगायतका घरायसी काम गर्ने सिलवालले बनाउनुभएको छ । मालेपाटनमा बसेर डकर्मी काम गर्दै आउनुभएका सन्तबहादुर रानामागरले वडा कार्यालयमा राहतका लागि धाए पनि नपाएपछि अब बजारमा बाँच्न नसकिने देखिएकाले घर जान लागेको बताउनुभयो । राहतका लागि जनप्रतिनिधिलाई सम्पर्क गर्दा कहिले नाम छैन भन्ने कहिले आउँदै छ भन्ने गरेकाले सरकारको राहत कस्तो हुन्छ भन्नेसमेत नदेखेको दाबी गर्नुभयो । रानाले भन्नुभयो, “काम चले पोे ठेकेदारले पैसा दिन्छ नत्र काम नभएपछि ठेकेदारको पनि रुख छैन पैसा टिपेर दिने । त्योभन्दा बरु आफ्नै घरमा गएर गोरु जोत्छु ।” धादिङ–पोखरा सम्पर्क समाजले कास्की र धादिङका स्थानीय तहसँग समन्वय गरेर बिहीबार साँझ पोखराबाट तीन वटा गाडीमा विभिन्न आयोजनामा काम गर्ने अलपत्र मजदूर, ज्यालादारीमा काम गर्ने मजदूर, उनीहरुका परिवार तथा अन्य घर जान इच्छुक गरी ११० जनालाई पठाइएको समाजका महासचिव राजु पाण्डेले बताउनुभयो । अघिल्लो दिनसमेत समन्वय गरी ५० जनालाई धादिङ पठाइएको बताइन्छ । रोल्पा–पोखरा सम्पर्क समाजको समन्वयमा रोल्पाका १७५ मजदूरलाई बुधबार साँझ गृहजिल्ला पठाइएको थियो । त्यस्तै केही दिनयता जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायत विभिन्न समाजको समन्वयमा दाङ, कैलाली, कञ्चनपुर, रोल्पा, सुनसरी, धादिङ तथा मुस्ताङका मजदूर तथा अन्य व्यक्तिहरु घर फर्किने क्रम बढेको छ । महानगरले बाँकी रहेका मजदूरलाई ‘क्याम्प’मा राखेर सामाजिक दूरी कायम गर्दै १५ वटा निर्माण आयोजनाको काममा लगाउने तयारी गरेको महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!