शुक्रबार, बैशाख १२, २०७७ || 922  पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका—२ खबराका किसान चन्द्रबहादुर कार्कीले १७ रोपनीमा तरकारी खेती गर्दै आएका छन् । व्यावसायिक खेती गरिरहेका उहाँलाई कहिल्यै तरकारीको बजारीकरणमा समस्या आइ लागेन । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि कार्कीलाई तरकारीको समस्याले पिरोलेको छ । उहाँको खेतमा काउली, धनियाँ, बन्दा, सिमी, बोडी, काँक्रालगायत तरकारी पर्याप्त छन् । तर बिक्री गर्ने ठाउँ छैन । तरकारी बिक्री नभएपछि पशुलाई खुवाउन बाध्य भएको उहाँको गुनासो छ । “बिक्रीका लागि बजारसम्म ढुवानी गर्ने अवस्था छैन । तरकारी खाने मान्छे पनि यहाँ छैनन्”, उहाँले भन्नुभयो, “खेतमा यत्तिकै राख्नु भएन, त्यसैले घरमा पालेका गाईभैंसीलाई खुवाउनु पर्यो ।” कार्की मात्रै होइन, खबराका धेरै किसानले तरकारी बिक्री गर्न नपाएपछि अचेल दैनिक पशुलाई खुवाउँदै आउनुभएको छ । खबराका अधिकांश कृषकले व्यावसायिकरुपमा तरकारी खेती गरेका छन् । अधिकांशको घरमा एकदेखि चारवटासम्म पशु रहेका र सामान्य रुपमा भएपनि धेरैले तरकारी खेती गरेकाले गाउँमा समेत बिक्री नहुँदा उनीहरु पशुलाई तरकारी खुवाउन बाध्य भएका हुन् । गत बर्ष रु तीन लाख मूल्य बराबरको तरकारी बिक्री गरेका कार्कीले यस वर्ष विक्री गर्ने बेलामा एक महिनासम्म लकडाउन भएपछि बेनी बजारका मानिसहरु गाउँ उक्लिएकाले बिक्री गर्न नपाएको र खेतमा कुहेर खेर जानुभन्दा पशु चौपायालाई खुवाउन थालिएको कार्कीले बताउनुभयो । म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिल(मायालु डाँडा)को नजिकै रहेको खेतमा व्यावसायिकरुपमा नै तरकारी खेती गर्दै आएका कार्कीले लकडाउन (बन्दाबन्दी) भएपछि यहाँ फाट्टफुट्ट घुम्न आएका मानिसलाई निःशुल्क तरकारी दिएर पठाउने गरेको बताउनुभयो । गाउँमा अधिकांशको घरमा आफ्नै तरकारी भएकाले बिक्री नहुने बताउँदै उहाँले लकडाउनका कारण सवारी साधन नहुँदा र बजार पनि नखुलेकाले तरकारी बजार लान नपाएको गुनासो व्यक्त गर्नुभयो । खबराकै अर्का किसान शोभित शर्माले दैनिकरुपमा जिल्ला प्रहरी कार्यालयमा तरकारी निर्यात गर्ने भएकाले उत्पादन भएको तरकारी पशुलाई नै खुवाउनु पर्ने वाध्यता नभएपनि बाहिर बिक्री गर्न नपाउँदा बचेको तरकारी खेतबारीमा नै खेर गएको बताउनुभयो । त्यसैगरी रोहोटेका कषक हरिलाल घिमिरेको बारीमा लहलहै झुलेका बोडी, सिमी, काँक्रो लगायतका बेमौसमी तरकारीले बजार नपाएपछि आफ्नो श्रम र लगानी दुवै खेर गएको बताउनुभयो । तरकारी मात्र होइन, घरमा पालेका भैंसीको दूधसमेत बिक्री गर्न नपाएको उहाँको गुनासो छ । दुईवटा भैंसी पालेका घिमिरेले दैनिक ५ लिटर दूध बिक्री गर्दै आएकोमा विगत एक महिनादेखि बिक्री नहुँदा दोहोरो नोक्सान भएको बताउनुभयो । घिमिरेले पनि बारीमा रहेको तरकारी टिपेर भैंसीलाई खुवाउँदै आएको बताउनुभयो । जिल्लाका खबरा, बगरफाँट, रोहोटे, खान्दुला, अर्मन, रणबाङ, सिंगालगायतका किसान तरकारी र दूध बिक्री गर्न नपाउँदा समस्यामा परेको बताउँछन् । सरकारले राहत कार्यक्रम ल्याए पनि गाउँका साना किसानसम्म नुपुग्ने हो कि भन्ने चिन्ताले पनि उनीहरुलाई पिरोलिएको छ । जरबुटाका किसान नारायण जिसीले रु ४८ हजारको लगानीमा गत माघमा बारीभरी रायो, धनियाँ, लहसुन, बन्दालगायत तरकारी लगाउनुभएको थियो । तर बिक्री गर्ने समयमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि आफूले उत्पादन गरेको तरकारी बारीमा नै कुहिने अवस्थामा पुगेको उहाँले बताउनुभयो । जिल्लाका अधिकांश व्यावसायिक किसानको अवस्था अहिले समान रहेको छ । उनीहरुले लगाएको तरकारीले बजार नपाएपछि खेतबारीमा नै कुहेर जाने र पशुलाई खुवाउनु पर्ने समस्याबाट अहिले म्याग्दीका किसान पीडित छन् । किसानले बारीको तरकारी हेरेर मन दुखाउनु बाहेक अरु केही गर्न नसकिने उल्लेख गर्दै सरकारले राहतको व्यवस्था गरिदिए आफूहरुको मेहिनेत खेर नजाने र गुजारा चलाउन पनि सहज हुने बताउनुभयो । लकडाउनका मौकामा बिचौलियासमेत सलबलाएको किसानको गुनासो छ । जसले गर्दा किसान र उपभोक्तालाई मार परेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!