बुधबार, बैशाख १०, २०७७ || 1161  पटक पढिएको

सिन्धुपाल्चोकको स्थानीय तहहरु घरघरमा पुगी निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिरहेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँगाउँमा स्वास्थ टोली परिचालन गरेको छ । हेलम्बु गाउँपालिकाभित्रका ३९ स्थानमा जम्मा ३०५ श्ययाको क्वारेन्टाइन तयारी अवस्थामा राखेको यस गाउँपालिकले जनताको गाउँबस्तीमै पुगेर घुम्ती स्वास्थ्य सेवासमेत प्रदान गर्दै आएको जनाएको छ । कोरोनाको सङ्क्रमणका कारण सरकारले लकडाउन गरेलगत्तै बाहिरबाट हेलम्बु प्रवेश गर्ने हरेक व्यक्तिको हेलम्बु प्रवेशविन्दुमै जाँचको प्रबन्ध मिलाएको हेलम्बुले अहिले काठमाडौँलगायत विभिन्न अस्पतालमा उपचार गरी फर्केका व्यक्तिलाई समेत अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्ने प्रबन्ध मिलाएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । अध्यक्ष शेर्पाका अनुसार विभिन्न अस्पतालबाट फर्केका मानिसमा अनेक रोगका सङ्क्रमण हुनसक्ने र त्यस्ता सङ्क्रमण गाउँबस्तीमा फैलन सक्ने हुँदा आम नागरिकको स्वास्थ्यको ख्याल गर्दै यस्तो तयारी गरिएको हो । हेलम्बु मात्र नभइ हरेक स्थानीय तहले यस्तो व्यवस्थापन गर्नुपर्ने अध्यक्ष शेर्पाको जोड छ । स्थानीय तहमा उपलब्ध स्वास्थ्यकर्मीका अलावा अन्य स्थानीय दुई चिकित्सकलाई गाउँपालिकामा नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण तथा आवश्यक सल्लाह सुझाव, सामग्री उपलब्ध गराउने कार्यमा अध्यक्ष शेर्पा आफैँ लागिपनुभएको छ भने उपाध्यक्षलगायत सबै जनप्रतिनिधि जनताको स्वास्थका लागी अहोरात्र खटिइरहेका छन् । हेलम्बुका हरेक गाउँबस्तीका नागरिकको घरमै पुगेका शेर्पा भन्नुहुन्छ, “गाउँपालिकाभित्रका कुनै पनि बिरामी अहिलेको अवस्थामा उपचारका लागि काठमाडौँ लानु नपर्ने गरी काम गरिरहेका छौँ ।” सरकारले निःशुल्क वितरण गर्दै आएको बाहेकका औषधिसमेत हेलम्बु गाउँपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसैबीच मेलम्ची नगरपालिका ईन्द्रवती गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाले पनि नागरिकको घरघरमा पुगेर स्वास्थय जाँच गरिरहेको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले वडावडाबाट दीर्घरोगीको विवरण लिने क्रम सकिएको र अब औषधि खरिद गरी वडामार्फत घरघरमा पु¥याइने जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले यसअघि नै दीर्घरोगीलाई औषधि वितरण गरिरहेको र थाहा नभएकालाई सूचना जारी गरी वडामार्फत विवरण सङ्कलन गरिरहेको जानकारी दिनुभयो । यता ईन्द्रवती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले गाउँगाउँमा पुगी स्वास्थ्य जाँच गरी औषधि वितरण गरिरहेको बताउनुभयो । साथै उहाँले अक्सिजनलगायत अत्यावश्यक औषधि गाउँपालिकाको स्वास्थ्य केन्द्रका मौज्दात राखेको पनि जानकारी दिनुभयो । तीन घर फिर्ता, थपिएकाको ¥यापिड टेष्ट नेगेटिभ मेलम्चीमा रहेको क्षेत्रीय सुरक्षित क्वारेन्टाइनमा रहेका तीन जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुलाई सात दिनसम्म घरमा सुरक्षित रहन परापर्श गरी मङ्गलबार घर पठाइएको मेलम्ची नगरपालिका स्वास्थ्य शाखाका सहइन्चार्ज ज्ञनेन्द्र घोरासैनीले बताउनुभयो । उनीहरूलाई सहयोग गर्न परिवार र समाजका सबैलाई उहाँले अनुरोध गर्नुभयो । त्यसैगरी क्वारेन्टाइनमा थपिएका चार जनाको द्रुत परीक्षण (¥यापिड टेष्ट) गर्दा रिपोर्ट नेगेटिभ आएको पनि घोरासैनीले जानकारी दिनुभयो । ती चारै जनालाई दैलेखको सिफारिसमा १४ दिनसम्मका लागि क्वारेन्टाइनमा लगिएको हो । यसैगरी घर फर्कने सबैलाई मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै कोराना भाइरसले ठूलो सानो, धनी गरिब केही नभन्ने भएकाले सचेत र सुरक्षित रही सरकारलाई सघाउन पनि आग्रह गर्नुभएको छ । विपद् कोषमा एक लाख २५ हजार सहयोग मेलम्ची नगरपालिकाका विभिन्न सहकारीले एकमुष्टरूपमा नगरपालिकाको विपद्कोषमा रु एक लाख २५ हजार नगद सङ्कलन गरी सहयोग गरेका छन् । कोरोना रोकथामका लागि मेलम्ची नगरपालिकालाई नगरमा सञ्चालनमा रहेका विभिन्न सहकारीबाट कोषमा सहयोग गरेका हुन् । रु २५ लाखबाट शुरु गरिएको उक्त कोषमा मङ्गलबार सूर्यमुखी कृषी साना किसान सहकारी संस्था भोटेचौरका अध्यक्ष मित्रलाल चौलागाईँले उक्त रकम मेलम्ची नगरपालिकाका प्रमुख अर्याललाई हस्तान्तरण गर्नुभयो । नगरभित्रका १४ सहकारी संस्थाले उक्त रकम सङ्कलन गरेर कोषमा जम्मा गरेको चौँलागाईँले बताउनुभयो । अलपत्र १६ को उद्धार काठमडौँबाट पैदल हिँडेर इन्द्रावती गाउँपालिकाको नवलपुर आइपुगेका १६ पैदलयात्रीलाई गाउँपालिकाले उद्धार गरेको छ । आज बिहान हिँड्दै नवलपुर आइपुगेका चौतारा साँगाचोकगढी नगरपालिकाका १० र जुगल र बलेफी गाउँपालिकाका तीन/तीन गरी १६ जनालाई गाडी चढाइ चौतारा पठाइएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो । उनीहरुको स्वास्थ्य जाँच गरी खाना खुवाएर चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमनसिङ तामाङसँग समन्वय गरी पठाइएको तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!