मंगलबार, बैशाख ०९, २०७७ || 633  पटक पढिएको

पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको सङक्रमित बिरामी देखिन थालेपछि जिल्लाका नौ वटै स्थानीय सरकारले भारतलगायत अन्य देशबाट आएका आफ्ना नागरिकको खोजी शुरु गरेको छ । छिमिकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट लकडाउन हुनुभन्दा केही दिन पहिले घर आएका तर हालसम्म क्वारेन्टाइनको सम्पर्कमा नआएकाहरुलाई कोरोना जाँच परीक्षणमा ल्याउनका लागि स्थानीय सरकारले खोजीकार्य शुरु गरेको हो । दिपायल सिलगढी नगरपालिकाले लकडाउन हुनुभन्दा पहिले आएका स्थानीयको लगत सङ्कलनको काम गरिसकेको छ । लकडाउनभन्दा पहिले नगरपालिकामा ८१६ जना भित्रिएको तथ्याङ्क फेला परेको नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दी हुनुभन्दा पहिले ८१६ जना भित्रिएको तथ्याङ्क फेलापरेको छ, सबैलाई स्वास्थ्य जाँचसहित क्वारेन्टाइनमा राखिने छ ।” त्यस्तै जिल्लाको जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, बोगटान गाउँपालिका तथा केआइसिंह गाउँपालिकाले उक्त अभियानको सामूहिकरूपमा शुरुआत गरिरहेका छन् । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा गरी पाँच स्थानीयमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि यहाँका स्थानीय तहहरु निकै सजग भएका छन् । पाँच जनामा कोरोना देखिए पनि एक कैलाली भजनीका सङ्क्रमित भने निको भएर घर गइसकेका छन् । गएको चैत ११ गतेभन्दा पहिले जिल्लामा आएका सबै नागरिकलाई आ–आफ्ना स्थानीय तहको सम्पर्कमा आउन सामूहिकरूपमा अह्वानसमेत गरेको सुदूरपश्चिम गाउँपालिका महासङ्घका अध्यक्ष तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनु हुनुभन्दा पहिले भारतलगायतका देशबाट आएकालाई सम्पर्कमा आउन हामीले समूहिकरूपमा आह्वान गरेका छौँ, सबै निकायबाट खोजी पनि जारी राखेका छौँ ।” यसअघि जानकारीमा आएकालाई २१ दिन क्वारेन्टाइनमा राखी स्वाब सङ्कलनको टेष्ट गर्दा कोरोनाको सङ्केत नदेखिपछि घर पठाइएको छ । त्यस्तै यहाँका स्थानीय तहले लकडाउनभन्दा पहिले गाउँघरमा आएकाको नामावली सङ्कलनका लागि कर्मचारी पनि खटाएका छन् । नामावली सङ्कलनका लागि खटिएका कर्मचारीलाई सत्यतथ्य बुझ्नसमेत सबै स्थानीय तहले आग्रह गरेका छन् । कैलाली र कञ्चनपुरमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै यहाँका गाउँघरमा त्रास थपिदै गएको बोगटान फुड्सिल गाउँपालिका–५ का स्थानीयवासी प्रेमबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आएकामा कोरोना देखिँदै छ, हाम्रा गाउँमा पनि भारतबाट आएका छन्, कोरोना छ कि भन्ने डरले हामी सम्पर्कमा जान पनि डराएका छौँ ।” जिल्लामा पछिल्लो समय सयौँको सङ्ख्यामा भारतमा काम गरी स्थानीयवासी आएका कारण यहाँका गाउँघरमा कोरोनाको त्रास फैलिँदै गएको स्थानीयवासी बताउँछन् । लकडाउन हुनुभन्दा पहिले भारत तथा तेस्रो मुलुकबाट जिल्लामा कति जना आए भन्ने यकिन तथ्याङ्क कुनै पनि निकायसँग नभएका कारण पनि समस्या हुँदै आएको शिखर नगरपालिका–१ कपल्लेका वडाध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनभन्दा पहिले कति जना आए भन्ने रेकर्ड भएन, अहिले समस्या भयो, भारतबाट आएकाले असल मनसाय राखी आफ्नो जानकारी दिन जरुरी छ ।” त्यसैगरी यहाँका स्थानीय तहले स्वास्थ्यकर्मीको टोली खटाएर गाउँगाउँमा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्दै कोभिड–१९ का लक्षण र बच्ने उपायबारे जानकारी दिन थालेका छन् । लकडाउनको समयमा भारतबाट आएका ३३० जनालाई क्वारेन्टाइनमा राखी स्वाब रिपोर्ट टेष्ट गर्दा नेगेटिभ पाइएपछि अहिले घर पठाइएको छ । सुदूरपश्चिम प्रदेश कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै यहाँका स्स्थानीयवासीमा त्रास बढ्दै गएसँगै स्थानीय सरकारले पनि कोरोना रोकथामका लागि विषेश कार्यक्रम अघि सार्दै आएका छन् । स्थानीय प्रशासनले पनि भारतबाट आएका तर क्वारेन्टाइनमा नबसेकाको सूक्ष्मरूपमा अनुसान्धान गर्न शुरु गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय अनुसन्धान विभाग तथा प्रहरीका कर्मचारी सबै स्थानीय तहमा खटाएर तथ्याङक सङ्कलन गरिन थालिएको छ । चट्याङ लागेर महिलाको मृत्यु डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–३ तोलेनीमा सोमबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृत्यु हुनेमा २२ वर्षीया उजली बयाडी रहेकी छन् । आफ्नै खेतबारीमा गहुँ काटिरहेको अवस्थामा एकाएक परेको चट्याङ लागेर उनी गम्भीर घाइते भएकी थिइन् । बयाडीको अस्पताल लैजाने क्रममा बोटोमै मृत्यु भएको स्थानीय गोरखबहादुर सार्कीले जानकारी दिनुभयो । डोटीमा गएरातिदेखि पानीसँगै हुरीबतास चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!