बुधबार, पौष ०२, २०७६ || 1769  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पौष २।अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले जारी गरेको आउँदो दशकका लागि विश्वका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पनि रहेको छ।

विश्वभरका प्रसिद्ध प्रकाशनहरूको उत्कृष्ट गन्तव्यहरूमा नेपाल पर्नु कुनै नयाँ कुरा होइन।

तर सरोकारवालाहरूले यस्ता गन्तव्य सूचीहरू प्रचारका लागि महत्त्वपूर्ण भए पनि पर्यटकहरू आइहाल्न ती काफी नहुने बताउँछन्।

यस्ता सूचीहरूको उच्चतम फाइदा उठाउन पर्यटनका अन्य थुप्रै पक्षलाई सुधार गर्नुपर्ने व्यावसायीहरूको भनाइ छ।

गन्तव्य सूचीको अर्थ?
फोर्ब्सले यसपटक सूची सार्वजनिक गर्दा जीवनमा एकपटक पुग्नैपर्ने ठाउँको रूपमा विलासी समय र साहसिक कामलाई मुख्य बिषय बनाएको थियो।

पर्यटनविद् खेम लकाई भन्छन्, “कुलीन पाठकवर्गहरूमा लोकप्रिय पत्रिका भएकाले अब नेपाल करूणाका कारण मात्र नभई प्रतिस्पर्धी गन्तव्यका रूपमा उभिनुपर्छ।”

“यो विषय हाम्रो कमजोरी रहिआएको छ।”

व्यवसायी एवम् विज्ञहरूका अनुभवमा पछिल्लो समय धेरैजसो पर्यटकहरू अरू मानिसका अनुभव र सुझावका भरमा यात्रामा निस्किन्छन्।

तर नेपालले सडक, विमानस्थल, स्वास्थ्य जोखिम र सेवाका असमान मूल्यसूचीजस्ता आधारभूत कुरामा पर्यटकहरूको विश्वास जित्न नसकेकोमा आलोचना हुने गरेको छ।

मिटरमा जान नमान्ने ट्याक्सी, ट्राफिक बत्ती र जेब्रा क्रस नभएका ठाउँजस्ता सामान्य शहरी परिवेशले अन्तर्राष्ट्रिय जगतमा देशको अवस्था औसतभन्दा कमजोर भएको छनक दिने पर्यटनविद्हरू बताउँछन्।

लकाई थप्छन्: “यस्ता कुराले नेपाल चुनौतीपूर्ण गन्तव्य भएको छवि सिर्जना हुन्छ।”

उत्कृष्ट गन्तव्य, तर कठिन पहुँच
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका उत्कृष्ट पर्यटकीय गन्तव्य सूचीमा पर्नु नेपालको नौलो अनुभव होइन।

यसअघि समेत ट्राभल गाइडहरूको प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ का लागि नेपाललाई ‘बेस्ट भ्यालु डेस्टिनेशनको’ सूचीमा राखेको थियो।

काठमाण्डू उपत्यका, लुम्बिनी र पोखराजस्ता शहरहरू छुट्टाछुट्टै रूपमा ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक रूपमा विशिष्ठ शहरका रूपमा सञ्चारमाध्यमका सूचीमा परेका छन्।

पर्वतारोहण र हिमाल वरपरका आकर्षणहरूका कारण नेपाल त्यस्ता सूचीहरूमा धेरै पर्ने गरेको छ।

घान्द्रुक राम्रो तस्बिर खिचाउन सकिने स्थानको रूपमा सीएनएनको सुचीमा परेको छ।

अन्नपूर्ण र सगरमाथा क्षेत्र विश्वका उत्कृष्ठ पदयात्रा मार्गमा परेका छन्। चितवन र बर्दियाको ख्याति थुप्रैतिर जोडिने गर्छ।

पर्यटन व्यावसायी अमरबहादुर शाही भन्छन्, “तर केही वर्षहरूको क्रमलाई केलाउने हो भने हामीले नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धन गर्न सकिरहेका छैनौँ।”

“प्रवर्द्धन हुँदा समेत अन्यत्र प्याकेज नै किन्न पुग्ने पैसा नेपाल यात्राको हवाईजहाजमै जान्छ, नेपालभित्र पर्यटकको लागि अर्को चर्को हवाई मूल्य छ।”

पर्यटकहरूले आफू जाने गन्तव्यबारे इन्टरनेटका थुप्रै स्रोतमा उपलब्ध अन्य यात्रीको प्रतिक्रियालाई समेत जाँचेर आफ्नो धारणा बनाउँछन्।

त्यसैले इन्टरनेट प्रभावकारी हुनअघिका वर्षहरु जस्तो यस्ता सूचीबाट धेरै हौसिनु आवश्यक नभएको व्यवसायीहरूको भनाइ छ।

‘छवि सुधार्छ’
अहिलेसम्म नेपाल सस्तोमा घुम्ने गन्तव्यको रूपमा मात्र चिनिएकोमा फोर्ब्सको सूचिमा पर्नुले त्यसलाई बदलेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी बताउँछन्।

जोशी भन्छन्: “नेपाल अब विलासी र खर्चिला पर्यटकका लागि समेत गन्तव्य हो भन्ने हाम्रो बजारीकरणको धारणा नै फेर्छ।”

पर्यटन बोर्डका अनुसार सन् २०१५ यता नेपालमा विदेशी पर्यटकहरू वार्षिक २० प्रतिशतभन्दा बढीको दरले बढेको देखिन्छ।

बोर्डकै ब्रान्ड हेर्ने प्रबन्धक श्रद्धा श्रेष्ठका भनाइमा यसले कम्तीमा धेरै खर्च गर्ने बिलासी पर्यटकमाझ नेपाललाई विकल्प देखाएको छ।

विभिन्न सूचीहरूले नेपाललाई विश्वमा तीव्र गतिमा पर्यटन बढिरहेका देशहरूमध्ये राखेका छन्।

“आधारभूत पूर्वाधारजस्ता विभिन्न सीमितताका बीच नेपालमा निरन्तर बढिरहेका पर्यटकको सङ्ख्या यस्तै सूचीहरूका पर्नुका प्रतिफल हुन्।” बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!