कोभिड—१९ को जोखिमको प्रत्यक्ष असर बाँके खजुरा गाउँपालिकाको ‘खजुरा ग्रीन सिटी’ (खजुरा हरित शहर) गुरुयोजनामा परेको छ । हरित खजुरा गुरुयोजना सञ्चालनका लागि सन् २०२० देखि खजुरा गाउँपालिका र संयुक्त राष्ट्र संघ साउथ—साउथ कर्पोरेशनबीच नौ महिनाअघि सम्झौता भएको थियो । सो कर्पोरेशनका प्रतिनिधिले गरेको उच्चस्तरीय स्थलगत सर्वे, समुदायसँंगको छलफलपछि नेपालको एकमात्र बाँकेको नगरउन्मुख खजुरा गाउँपालिकालाई कार्यक्रमभित्र समेटिएको हो । “नौ महिनाअघि उज्वेकस्तानमा भएको ‘ग्रीन एकोनोमी’ कार्यक्रममा खजुरामा ‘हरित कृषि र हरित शहरीकरण’ का लागि सो कर्पोरेशन र गाउँपालिकाबीच सम्झौता भएको हो”गाउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतीले भन्नुभयो । उहाँका अनुसार यो गुरुयोजना सञ्चालनका लागि सो कर्पोरेशनले विकासमा चीनको युसी शहरले अपनाएको मोडल (नमूना) तय गरेको छ । सोही मोडललाई अन्तिमरुप दिन गत मार्च (चैत) महिनामा चीनको बेइजिङ्गमा तय गरिएको कार्यशाला कोभिड—१९ को विश्वव्यापी महामारीका कारण स्थगित भएपछि गुरुयोजनाको कार्यक्रम अघि बढन सकेको छैन । “हरित खजुरा मोडल’ ले अन्तिमरुप पाएको भए यही वैशाखदेखि गुरुयोजना अन्तर्गतका कार्यक्रम गाउँपालिकास्तरमा सञ्चालन हुने थियो”—उहाँले उहाँले भन्नुभयो । झण्डै रु दुई अर्बको उक्त गुरुयोजनाले मुख्यतया खजुराको कृषि विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यससंगै वृक्षारोपण, कृषिको बजारीकरण, उन्ननत जातको बीउबीजनको उपलव्धता, विद्युतिकरण, सञ्चारको उच्च प्रविधि, घरेलु तथा लघु उद्योग लगायतका विषय पनि प्राथमिकतामा परेका छन् । अध्यक्ष कक्षपतीले गुरुयोजनामा छुट्याइने लागतका आधारमा अन्य विषयवस्तुलाई पनि प्राथकितामा राख्न सकिने जानकारी दिनुभया । हरित खजुरा कार्यक्रम सञ्चालनमा आउने भएपछि भने त्यहाका स्थानीयमा खुशीयाली छाएको छ । ‘खजुरा सीतापुरका कृषक मणिचन्द्र थापा भन्नुहुन्छ—‘यो योजनामा लागु भएपछि त हाम्रो कायापलट नै हुन्छ, अनि खुशी नहुने कुरै भएन ।’ यो गुरुयोजना सञ्चालनमा आएको खण्डमा खजुरा विश्वभरीकै अनुसन्धान केन्द्रका रुपमा विकास हुनुका साथै कृषिका विषयमा अनुभव साटासाट हुनुका साथै मुलुकको आर्थिक विकासको एउटा महत्वपूर्ण कडी बन्ने निश्चित हुने गाउँपालिकाका उपाध्यक्ष एकमाया विकको भनाइ छ । खजुरा गाउँपालिकाले सरकारको १५ वर्षे अध्यावधिक योजनाका आधारमा छुट्टै गुरुयोजना समेत तयार पारेको छ । ५ वर्षे, १० वर्षे र १५ वर्षे योजनामा खजुरा क्षेत्रको समग्र विकासको प्रारुप तयार गरिएको छ । खजुरा गाउँपालिकाको बहृत गुरुयोजनाको अन्तिम प्रारुप तयारीको प्रस्तुतीकरण समेत गरिएको छ । पाँच खण्डमा विभाजन गुरुयोजनाको परामर्शदाताका तर्फबाट वातावरण, जलवायु तथा विपद् व्यवस्थापन विज्ञ डा. दिवस श्रेष्ठ, मानवशास्त्री डा. गोकर्ण ज्ञवाली र शहरी विकास विज्ञ दीपक श्रेष्ठले तयार गर्नु भएको हो । गुरुयोजनामा भूमिका तथा योजना तयारी प्राविधक पक्ष, दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, बस्तुगत विवरण, तथ्याङ्क सूचना, विषय क्षेत्रगत विकास योजना, आधार नक्सालाई समेटिएको छ । योजना निर्माणका वैज्ञानिक, नीतिगत, गाउँपालिकाको बस्तुस्थिति, सम्भावित प्रमुख क्षेत्रहरु र यसका दुर्बल पक्षलाई केलाउँदै प्राथमिकताका विषयवस्तुलाई गुरुयोजनामा सरलीकरण गरिएको छ । खजुरालाई १५ वर्षभित्र नमूना गाउँपालिकाका लागि सबै सूँची मापन गर्न सकिने भन्दै त्यसका केही आधारहरु रहेको र पाँच वर्षमा सबै आधार तय हुने अध्यक्ष कक्षपतिले बताउनुभयो ।