आइतबार, बैशाख ०७, २०७७ || 704  पटक पढिएको

पश्चिम नवलपरासीमा वन संरक्षण विशेष अभियान सञ्चालन गरिएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले जारी गरेको बन्दाबन्दीको मौका छोपी हुन सक्ने वनजन्य पदार्थको चोरी निकासी तथा अतिक्रमण रोक्न अभियान सञ्चालन गरिएको हो । जिल्लास्थित विभिन्न वन क्षेत्रबाट वन्यजन्तुको चोरी शिकारी, काठ तस्करी तथा वन क्षेत्रमा पर्ने नदीबाट नदीजन्य पदार्थको चोरी तस्करी बढेको गुनासो आएपछि नियन्त्रण गर्न अभियान चलाइएको डिभिजन वन कार्यालयका प्रमुख अजित कर्णले जानकारी दिनुभयो । “बन्दाबन्दीको मौका छोपेर वन क्षेत्रमा हुन सक्ने वनजन्य अवैध गतिविधि नियन्त्रण गर्न हामीले विशेष निगरानी अभियान चलाएका हौँ, जिल्लाको वन संरक्षणका लागि दिनरात खटिएका छौँ”, उहाँले भन्नुभयो । विभिन्न सामुदायिक वन र प्रहरीसँग समन्वय गरी संयुक्त रात्रि गस्ती, दिउँसोमा वनसँग जोडिएका बस्तीमा जाँच गर्नाका साथै समुदायमा वन र वन्यजन्तुको संरक्षणका लागि आवश्यक छलफल पनि गरिरहेको उहाँले बताउनुभयो । यस्तो समयमा वन क्षेत्रमा हुने अवैध गतिविधि रोक्ने गरी वनका कर्मचारी, सशस्त्र वन रक्षक, साझेदारी वन हेरालु, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा समुदायका अगुवाको सहकार्यमा चैतदेखि नै वन संरक्षण अभियान चलाइएको प्रमुख कर्णले बताउनुभयो । गर्मीको मौसम शुरु भएलगत्तै आगलागीका घटना पनि बढ्ने भएकाले आगलागी नियन्त्रणमा लिने काम पनि भइरहेको बताउँदै उहाँले सरोकार पक्षहरुलाई जम्मा गरेर योजना बनाउन सकिने अवस्था भने नभएको बताउनुभयो । पारिजात सामुदायिक वन र सयपत्री सामुदायिक वनक्षेत्रमा भएको आगलागी पनि नियन्त्रण गरिएको उहाँले बताउनुभयो । जिल्लास्थित सव–डिभिजन वन कार्यालयलाई नियमितरुपमा सक्रिय बनाइरहेको कर्णको भनाइ छ । जिल्लामा चार वटा सव–डिभिजन वन कार्यालय र ४५ वटा सामुदायिक वन रहेका छन् । अभियानका क्रममा बर्दघाट–सरावल सव–डिभिजन वन कार्यालयले अतिक्रमण गरी बनाइएका केही घरटहरासमेत भत्काएको छ । कार्यालयका प्रमुख एवं सहायक वन अधिकृत रामनारायण शाहका अनुसार संयुक्त वन गस्ती टोल(ीले दाउन्नेको कैलाश नजिकै डाँडामा बनाइएका घर टहरा भत्काएको हो भने बर्दघाटस्थित पारिजात सामुदायिक वन क्षेत्रमा बनाइएको टहरा पनि भत्काइएको छ । दाउन्ने कैलाश नजिकैको डाँडामा सालको रुख काट्दै गरेको अवस्थामा तीनजनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको छ भने एकजना फरार रहेकाले खोजी कार्य भइरहेको शाहले बताउनुभयो । लकडाउनको समयमा अमरौटस्थित बुद्ध साझेदारी सामुदायिक वन वनक्षेत्रमा तस्करहरुले सालको रुख काटेर गोलिया बनाउँदै गरेको अवस्थामा वनगस्ती टोली देखेपछि तस्कर भागेको र ती गोलिया पनि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । सुनवलको पानभार खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्दै गरेको ट्र्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको कार्यालय प्रमुख रवीन्द्र जिसीले बताउनुभयो । बन्दाबन्दीको समयमा जिल्लामा विशेष अभियान सञ्चालन गरिएपछि वनक्षेत्रबाट हुने वनजन्य तथा जन्तुको चोरीशिकारी, तस्करीमा कमी आएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!