आइतबार, बैशाख ०७, २०७७ || 651  पटक पढिएको

जापानको स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा जापानमा कोरोनाभाइरस संक्रमणका ५६८ वटा नयाँ घटना देखिएको आइतबार जनाएको छ । यो सहित जापानमा कूल संक्रमितको संख्या १० हजार ३६१ पुगेको छ । यस वर्षको सुरुमा टोकियोको नजिक क्वारेन्टाइनमा राखिएको यात्रुबाहक पानीजहाजका ७१२ जना समेत जापानमा ११ हजार ७३ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण जापानमा हालसम्म १७४ जनाको मृत्यु भएको छ । अमेरिका र युरोपको तुलनामा जापानमा कोरोना संक्रमणको संख्या अझै पनि तुलनात्मक रूपमा सानो छ, तर स्वास्थ्य परीक्षणको संख्या नै कम भएकाले पनि वास्तविक विवरण ठम्याउन कठिन भएको बताइन्छ । विज्ञहरुले जापानमा कोरोना संक्रमितको संख्या अझ ठूलो हुन सक्ने दाबी गरेका छन् । जापानले अन्ततः टोकियो र अन्य ठाउँमा अतिरिक्त परीक्षण केन्द्रहरू स्थापना गर्न सुरु गरेको छ । पछिल्ला दिनहरुमा उपचारमा प्रभावकारिता ल्याउन प्राथमिक उपचार चिकित्सकहरूलाई संदिग्ध बिरामीहरूलाई सिधै परीक्षण केन्द्रहरुमा पठाउन अनुमति दिइएको छ । विज्ञहरूले संक्रमित व्यक्तिहरु पत्ता लगाउन विगतमा अपनाइएको रणनीति सफल नभएकाले परीक्षणलाई व्यापक बनाउन सुझाव दिएका छन् । प्रधानमन्त्री शिन्जो आबेले बिहीबार टोकियो र छ वटा शहरी क्षेत्रहरूमा मात्र सीमित राखिएको आपतकालको अवस्था देशव्यापी बनाइएको घोषणा गर्नु भएको थियो । जापानका अस्पतालहरुमा संक्रमित व्यक्तिको संख्या दिनहुँ बढ्न थालेपछि प्रधानमन्त्री आबेले आपतकाल घोषणा गर्नु भएको हो । जनवरीको मध्यमा पहिलो घटना पत्ता लागेदेखि यता संक्रमित व्यक्तिको संख्या एक हजार पुग्न दुई महिना लागेको छ । तर संक्रमणको प्रसार पछिल्ला हप्ताहरूमा तिब्र रुपमा बढेको छ र १० दिनभित्रै यो संख्या ५ हजारबाट दोब्बर भएको छ । सियोलः दक्षिण कोरियामा विगत २४ घण्टामा ८ जना नयाँ संक्रमणका घटना भेटिएका छन् । दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार आइतबारम्ममा देशभर १० हजार ६६१ जना संक्रमित भएका र २३४ जनाको मृत्यु भएको छ । केन्द्रले कोरोनाभाइरस संक्रमितमध्ये ८ हजार ४२ जना निको भएको जनाएको छ । अरु १२ हजार २४३ जनामा कोरोना संक्रमण भए नभएको बारे परीक्षण भइरहेको छ । दक्षिण कोरियाली अधिकारीहरुले कोरोनाभाइरस संक्रमितको संख्यामा कमी आएसँगै सामाजिक दूरीको नियममा सहजीकरण गरिएका कारण “भित्रभित्रै” कोरोना भाइरस फैलन सक्ने भन्दै चेतावनी दिएका छन् । रियो दे जेनेरोः ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले घोषणा गर्नु भएको राष्ट्रव्यापी लकडाउनको अवज्ञा गर्दै ब्राजिलका विभिन्न शहरमा सयौं व्यक्तिले विरोध प्रदर्शन गरेका छन् । ट्रक, कार र मोटरसाइकलमा आएका प्रदर्शनकारीले रियो दे जेनेरो, साओ पाउलो र राजधानी ब्रासिलिया समेतका शहरका सडकमा लकडाउनको विरोधमा हर्न बजाएर विरोध गरेका थिए । उनीहरुले हप्तौंसम्म अधिकांश पेशा व्यवसाय बन्द गर्न आदेश जारी गर्ने गभर्नरहरुलाई राजीनामा दिन माग गरेका छन् । ब्रासिलियामा राष्ट्रपति बोल्सोनारोले अर्थतन्त्र पुनः खुला गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । म्याड्रिडः कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनी सरकारले कोरोनाभाइरस प्रसार रोक्न थप दुई साता आपतकाल कायम राखिने बताउनुभएको छ । तर उहाँले बालबालिकाका लागि परिस्थितिमा सहजीकरण गर्न लागिएको बताउनुभयो । स्पेनमा मध्य मार्चदेखि युरोपमै सबैभन्दा कठोर लकडाउन कायम छ । लकडाउनका कारण आर्थिक गतिविधि शून्यप्रायः अवस्थामा छ । स्थानीय सरकार, अभिभावक र कतिपय शिक्षा क्षेत्रका विज्ञहरुले बालबालिकालाई लकडाउन खुकुलो बनाउन आग्रह गरेपछि सरकारले आगामी ९ दिनभित्रै नयाँ नियम सार्वजनिक गर्न लागेको जनाएको छ । स्पेनमा जारी आपतकालको घोषणालाई संसदले अनुमोदन गर्नु पर्नेछ । पेरिसः फ्रान्सको राष्ट्रिय स्वास्थ्य सेवा विभागले अस्पतालको सघन उपचार कक्षमा रहेका कोरोना संक्रमित बिरामीको संख्यामा कमी आएको जनाएको छ । विगत तीन दिनदेखि भाइरसका कारण अस्पतालमा भर्ना हुनेको संख्यामा पनि कमी आएको विभागको भनाई छ । फ्रान्समा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १९ हजार नाघिसकेको छ । अध्ययन अनुसार मृत्यु भएकामध्ये एक तिहाइभन्दा बढी नर्सिङ होममा रहेका ज्येष्ठ नागरिक रहेका छन् । ––

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!