आइतबार, बैशाख ०७, २०७७ || 743  पटक पढिएको

कोभिड–१९ को जोखिम नियन्त्रण र राहतका लागि तनहुँ जिल्लाका स्थानीय तहले निर्माण गरेको प्रकोप व्यवस्थापन कोषमा सामुदायिक वन उपभोक्ता समितिले उल्लेख्य सहयोग गरेका छन् । देवघाट गाउँपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा वडा नं ५ स्थित सात वटा सामुदायिक वनले रु चार लाख सहयोग गरेका हुन् । ती सामुदायिक वनबाट प्राप्त भएको रकम वडा नं ५ का वडाध्यक्ष यालबहादुर गुरुङले प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई हस्तान्तरण गर्नुभयो । सामुदायिक वन समूहको संयुक्त बैठकले गाउँपालिकाको कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको देवघाट गाउँपालिका सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भोजराज नैनावस्तीले जानकारी दिनुभयो । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका सदस्य केशवचन्द्र न्यौपानेले सामुदायिक वन उपभोक्ता महासङ्घहरु नागरिकस्तरको सशक्त सङ्गठन भएको हुँदा अप्ठ्यारो र आपत्को बेलामा सरकारलाई सँधै सहयोग गर्ने बताउनुभयो । गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा मधुवन सामुदायिक वन उपभोक्ता समितिले रु एक लाख, चौकीडाँडा सामुदायिक वन उपभोक्ता समितिले रु ५० हजार, सोलीघोप्टे सामुदायिक वन उपभोक्ता समितिले रु ५० हजार, चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिले रु ५० हजार दिएका छन् । यसैगरी देउती सामुदायिक वन उपभोक्ता समितिले रु ५० हजार, सीता सामुदायिक वन उपभोक्ता समितिले रु ५० हजार र कालिका सामुदायिक वन उपभोक्ता समितिले रु ५० हजार सहयोग गरेका छन् । म्याग्दे गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा हालसम्म रु तीन लाख ७४ हजार ६ सय तीन जम्मा भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाका अनुसार कोषमा म्याग्दे सहकारी सङ्घले रु एक लाख ४१ हजार ९ सय ४७, नेपाली काङ्ग्रेस गाउँ समितिले रु एक लाख ११ हजार तीन सय १६ सहयोग गरेका छन् । म्याग्दे गाउँपालिका–४ थर्पुस्थित लक्ष्मी बैङ्कको शाखामा गाउँपालिकाले कोष सञ्चालन गरेको छ । उक्त कोषमा गाउँपालिकाभित्रका सङ्घसंस्था, युवा क्लव लगायत व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । कोषमा तनहुँ उद्योग वाणिज्य सङ्घले रु दुई लाख सहयोग गरेको छ । सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी मार्फत् उक्त रकम कोषमा जम्मा गर्नुभएको हो । यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा नेपाल तरुण दल आँबुखैरेनी गाउँ समितिले रु एक लाख ११ हजार एक सय ११ सहयोग गरेको समितिका वरिष्ठ उपाध्यक्ष अभियान श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले विपद्को परिस्थितिमा गाउँपालिकाभित्रका सम्पूर्ण वित्तीय सङ्घसंस्था, उद्योग, व्यवसायी तथा इच्छुक व्यक्तिहरुलाई कोषमा सहयोग गर्न आग्रह गर्नुभयो । थापाका अनुसार हालसम्म उक्त कोषमा रु १६ लाख ११ हजार एक सय ११ सङ्कलन भएको छ । बाहिरको तरकारीमा रोक व्यास नगरपालिकाले बाहिरी जिल्लाबाट तरकारी आयातमा रोक लगाएको छ । कोभिड–१९ को जोखिम कम गर्नका लागि नगरपालिकाले बाहिरी जिल्लाबाट तरकारी आयातमा रोक लगाउने निर्णय गरेको हो । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेसहितको बैठकले तनहुँ जिल्लामा उत्पादन हुने तरकारी बाहेक अन्यत्रबाट आउने तरकारीलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो । यही वैशाख १ गतेदेखि अत्यावश्यक सामग्रीको उपलब्धताका लागि बिहान ७ बजेदेखि १० बजेसम्म मात्र पसल खुल्ला गरिएकामा उक्त समयमा भिडभाड भएकाले टोल विकास संस्थाहरुको माध्यमबाट वडा समिति मार्फत् घरको एक जनाले मात्र सामान खरिद गर्ने र एक हप्तासम्म पनि सुधार नआएमा थप कडाई गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो । कोरोना शङ्कास्पद बिरामी राख्नका लागि व्यास नगरपालिका–३ स्थित किरियापुत्री भवन दमौली अस्पतालको पहुँच भन्दा बाहिर भएको हुँदा दमौली अस्पतालको पुरानो भवनलाई आइसियु सहितको उपचार केन्द्र बनाउने गरी तत्काल पूर्वाधार निर्माण गर्ने निर्णय बैठकले गरेको प्रमुख प्रशासकीय अधिकृत पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!