ओखलढुङ्गामै कोरोनाको र्यापिड परीक्षण हुने भएको छ । प्रदेश नं १ सरकारले कोरोना परीक्षणका लागि आवश्यक स्वाथ्य सामग्री उपलब्ध गराएपछि जिल्लामै कोरोनाको र्यापिड परीक्षण गर्ने तयारी थालिएको हो । प्रदेश सरबारबाट र्यापिड डाइग्नोस्टिक टेस्ट अर्थात आरडिटी किट प्राप्त भएसँगै जिल्लामै सहजरूपमा कोरोना जाँच गरिने जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताउनुभयो । उहाँका अनुसार आरडिटी किटले शरीरमा भाइरसको सङ्क्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए र नभएको मात्रै निक्र्योल गर्छ । आरडिटीमा कोरोना पोजेटिभ भए कोरोनाको सङ्क्रमणको अनुमान लगाउन सकिन्छ । तिवारीले रासससँग भन्नुभयो, “र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखियो भने यसको पुष्टिका लागि पीसिआर टेस्ट गराउनु अनिवार्य हुन्छ ।” आरडिटी किट प्रयोग गरेर १५ मिनेटमै कोरोनाको रिपोर्ट हेर्न सकिने उहाँको भनाइ छ । प्रदेश सरकारले जिल्लाका लागि १५० वटा आरडीटी किट उपलब्ध गराएको छ । जिल्लामा हालसम्म छ जनाको पीसिआर टेस्ट गराइसकिएको छ । कोरोना सङ्क्रमणको अनुमान गरिएका विदेशबाट आएका छ जनाको स्वाब धरान पठाएर पीसिआर टेस्ट गराइएको थियो । सबैको र्यापिड टेस्ट गरिने जिल्लामा विदेशबाट आउने सबैको र्यापिड टेस्ट विधिबाट कोरोना परीक्षण गरिने भएको छ । मङ्गलबारको जिल्ला कमान्ड पोष्टले सो निर्णय गरेको हो । यसका लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल तथा सम्बन्धित पालिकाहरुलाई संयोजनको जिम्मा दिइएको छ ।