बिहिबार, बैशाख ०४, २०७७ || 654  पटक पढिएको

देशभर लकडाउनको समयमा पनि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्सले यात्रु ओसार्ने काम गरेको पाइएको छ । गाउँपालिकाको स्वामित्वमा रहेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नंको एम्बुलेन्समा छ यात्रु बोकेको अवस्थामा प्रहरीले बुधबार पक्राउ गरेको हो । नेपालगञ्जबाट बाजुराका लागि एक प्यारालाइसिस भएका बिरामी राखेर यात्रु ओसारिरहेको अवस्थामा सदरमुकाम मार्तडीमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो । नेपालगञ्ज, सुर्खेत, अछाम हुँदै बाजुरा पुगेको उक्त एम्बुलेन्समा छ जना सबै सो गाउँपालिकाका स्थानीयवासी रहेको प्रहरी प्रमुख भट्टराईको भनाइ छ । एम्बुलेन्समा बिरामीको अवस्था हेरेर बढीमा दुई कुरुवा ल्याउन पाउने व्यवस्था भए पनि नियमविपरीत एम्बुलेन्समा यात्रु बोक्नु गलत भएकाले मुद्दा चलाउने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेको भनाइ छ । सरकारले आवतजावत नै बन्द गरिसकेको बेला एम्बुलेन्समार्फत यात्रु बोक्दा जोखिम हुनसक्ने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनुभयो । गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले भने एम्बुलेन्समा तीन बिरामी आएको र तीन जना सम्बन्धित बिरामीका कुरुवा रहेको बताउनुभएको छ । तर प्रहरीले भने एम्बुलेन्समा एक जना मात्र बिरामी भेटिएको बताएको छ । अहिले एम्बुलेन्स प्रहरी नियन्त्रण छ भने आएका यात्रुलाई मार्तडीमा रहेको मालिका माविको क्वारेन्टाइनमा राखिएको छ । लकडाउनकै अवधिमा बाह्रबिस रेडक्रस शाखाको एम्बुलेन्सले पनि यात्रु ओसारेको अवस्थामा समातिएको थियो । से१च ५२४ नंको एम्बुलेन्समा १० यात्रु बोकेको भेटिएपछि अछाम प्रहरीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सले यात्रु बोक्न थालेपछि रोगको जोखिम बढ्ने पनि देखिएको छ । सवारी अनुमतिपत्र खारेज गर्ने विकृति बढेपछि जिल्ला प्रशासन कार्यालय बाजुराले एम्बुलेन्समा सवारी बोके चालक अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको छ । माहामारी र लकडाउनकै अवधिको जोखिम मोलेर एम्बुलेन्समा सवारी बोक्ने र यात्रु ओसार्नमा प्रयोग गरिए लाइसेन्स नै खारेज गर्ने जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सङ्कट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा यात्रु बोक्न नपाइने प्रावधान छ तर जिल्लाका सबैजसो एम्बुलेन्समा यात्रुहरु ओसार्ने गरिएको छ । प्रहरीले तत्काल समातेर छोड्ने गर्दा मनोमानीरूपमा एम्बुलेन्स चालकले यात्रु बोक्ने गरेको पाइएपछि चालक अनुमतिपत्र नै खारेज गर्ने निर्णय समितिले गरेको हो । विभिन्न प्रकारको सङ्क्रमण र रोगको जोखिमले पनि बोक्न नहुने एम्बुलेन्समा थप माहामारीकै अवधिमा पनि नियमविपरीत यात्रु बोके कडा कारवाहीसहित चालक अनुमतिपत्र खारेज गर्ने निर्णय गरिएको प्रजिअ न्यौपानेले बताउनुभयो । एम्बुलेन्समा सवार सबै जनालाई १४ दिन क्वारेन्टाइनमा राख्ने र ¥यापिड डायग्नोष्टिक परीक्षणपछि नेगेटिभ भए थप सात दिन होम क्वारेन्टाइनमा राख्न गाउँपालिकाको सिफारिसमा होम क्वारेन्टाइनमा पठाउने निर्णय गरेको जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!