कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न देशमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्त हलिया परिवारलाई परेको छ । सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने मुक्त हलिया परिवारलाई साँझ बिहानको छाक टार्न निकै मुस्किल भएको छ । दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई लकडाउनका कारण काम नपाइँदा समस्या भएको छ । मुक्त हलिया हरि दमाईले ज्याला मजदुरी गरेर ल्याएको रकमले खरिद गरिएको खाद्यान्न सकिएपछि छिमेकीसँग मागेर गुजारा चलाएको बताउनुभयो । “छिमेकीको घरमा समेत भण्डारण गरिएको अन्न सकिन थालेपछि उनीहरुले समेत दिन छाडेका छन् । खाद्यान्न नपाइने अवस्था आएकाले भोकै बस्नुपर्ने भएको छ”, उहाँले भन्नुभयो । स्थानीय तह र विभिन्न दातृ निकायले राहत सामग्री बाँड्दै आए पनि मुक्त हलिया परिवारले राहत सामग्री पाउन सकेका छैनन् । “कोरोना भाइरसको सङ्क्रमण हुनबाट जोगिन घरबाट बाहिर ननिस्कन भनिएको छ”, मानध्वज लुहारले भन्नुभयो, “घरभित्र खानका लागि केही छैन, भोकै बस्न सकिँदैन । गाउँमा गएर मागेर ल्याउनुपरेको छ । गाउँमा समेत स्थानीय बासिन्दाले दिन नमान्दा भोकभोकै परिवारसँग बस्नुपर्ने भएको छ ।” राष्ट्रिय मुक्त हलिया महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर सुनार देश लकडाउन भएको १९ दिन बितिसक्दा मुक्त हलिया परिवार राहतको पर्खाइमा रहेको बताउनुभयो । सरकारले राहत वितरणसम्बन्धी कार्यविधि निर्माण गरी निश्चित मापदण्डका आधारमा अतिविपन्न परिवारलाई स्थानीय तहमार्फत एकद्वार प्रणालीबाट राहत वितरणको कार्य भइरहेको छ । “राहत पाउनेमा थोरै नगण्य मात्रामा मुक्त हलिया परिवार समेटिएका छन्”, उहाँले भन्नुभयो, “अधिकांश परिवार राहत पाउनबाट वञ्चित छन् । कठिन अवस्थामा लकडाउनको प्रत्यक्ष मारमा परेका मुक्त हलिया परिवारलाई प्राथमिकतामा राखी राहत वितरण गरिनु पर्दछ ।” धेरै मुक्त हलिया परिवार भोकभोकै बसेको खबर र गुनासो आएकाले तत्काल राहतको व्यवस्था गरिनुपर्ने उहाँको भनाइ छ । मुक्त हलिया परिवारलाई तीनै तहका सरकार, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायत सरोकारवाला सबैलाई दैनिक उपभोग्य वस्तु र सरसफाइका सामग्री उपलब्ध गराइदिनसमेत उहाँले आग्रह गर्नुभएको छ । लकडाउनको पालनासँगै राहतका लागि समन्वय गर्न जिल्लास्थित मुक्त हलिया सङ्गठन, मुक्त हलिया अगुवाहरुलाई अध्यक्ष सुनारले आग्रह गर्नुभएको छ । सुदूरपश्चिम क्षेत्रमा झण्डै १६ हजार बढी मुक्त हलिया परिवारको बसोबास छ । महाकाली अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर सहयोग कञ्चनपुरको भीमदत्त नगरमा रहेको महाकाली अस्पताललाई कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी अक्सिजन ग्यास सिलिण्डर सहयोग गरिएको छ । लायन्स क्लब अफ कञ्चनपुरले अस्पताललाई २५ ग्यास सिलिण्डर सहयोग गरेको हो । लायन्स क्बलले केही दिनअघि नगरपालिकाको छलफल कार्यक्रममा कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी अस्पतालमा अक्सिजन अभाव हुन नदिन १०० थान सिलिण्डर सहयोग गर्ने प्रतिबद्धता गरेअनुरुप पहिलो चरणमा अस्पताललाई क्लबले २५ ग्यास सिलिण्डर सहयोग गरेको हो । अन्य ७५ सिलिण्डर केही दिनमै सहयोग गरिने क्लबका अध्यक्ष माधवप्रसाद जोशीले बताउनुभयो । अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले क्लबको सहयोगपछि अस्पतालमा अक्सिजन ग्यासको अभाव नहुने बताउनुभयो । “कोरोना महामारीमा ग्यास अभाव हुने चिन्ता थियो । अब त्यस्तो हुँदैन । शनिबार २५ सिलिण्डर सहयोग गरिएको छ, अर्काे दिन बाँकी सहयोग हुनेछ”, अध्यक्ष जोशीले भन्नुभयो । नगरपालिकाले समेत केही महिनाअघि अस्पताललाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको थियो । डेरामा बसेका विद्यार्थीलाई विद्यालयको खाद्यान्न डेरा गरी बस्दै आएका विद्यार्थीलाई कञ्चनपुरको भीमदत्तनगरमा रहेको महेन्द्र माध्यमिक विद्यालयले खाद्यान्न वितरण गरेको छ । विद्यालयले राहत कोष स्थापना गरी डेरामा बस्दै आएका विद्यार्थीलाई खाद्यान्न वितरण गर्न शुरु गरेको हो । शनिबार नौ डेरामा बस्दै आएका विद्यार्थीलाई राहत सामग्रीका रूपमा खाद्यान्न वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको निर्णयअनुरुप खाद्यान्न सामग्री वितरण गरिएको उहाँको भनाइ छ । अध्यक्ष विष्टले सरकारी राहतको मुख ताक्नुभन्दा पनि विद्यालयले आफ्नै कोषबाट राहत वितरण गरेको बताउनुभयो । उहाँका अनुसार जनप्रतिनिधि एवं सरकारी निकायको रहोबरमा चामल, दाल, तेललगायतका खाद्यान्नका साथै सुरक्षा सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!