शनिबार, चैत्र २९, २०७६ || 636  पटक पढिएको

खोटाङमा लकडाउनको मारमा परेका व्यक्तिलाई एकद्वार प्रणालीबाट मात्रै राहत सामग्री वितरण गरिने भएको छ । विभिन्न संस्था तथा व्यक्तिले जिल्लाका विभिन्न ठाउँमा पुगेर आफूखुशी राहत वितरण गर्न थालेपछि त्यसलाई रोक लगाउन एकद्वार प्रणाली लागू गरिएको हो । आफूखुशी राहत वितरण गर्दा आफ्ना नजिककालाई वितरण गरेको पाइएपछि रोक लगाइएको कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङले बताउनुभयो । “संस्था तथा व्यक्तिले सङ्कलन गरेर ल्याएको राहत उनीहरुलाई नै वितरण गर्न दिँदा वास्तविक पीडितले पाएको देखिएन”, उहाँले भन्नुभयो, “वास्तविक पीडितसम्म पु¥याउन र स्थानीय तहलाई जिम्मेवार बनाउन आगामी दिनमा वितरण गरिने राहतमा एकद्वार प्रणाली लागू गरिएको हो ।” कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको शुक्रबार बसेको बैठकले बाहिरी जिल्लाबाट भित्रिने मुख्य नाकामा जाँचलाई कडाइ गर्नेसमेत निर्णय गरेको छ । विदेश तथा शहरबाट जिल्ला भित्रिने व्यक्तिबाट सङ्क्रमण पनि भित्रिने जोखिम भएकाले जिल्लाका हरेक नाकाबाट प्रवेश गर्ने व्यक्तिको जाँचमा कडाइ गर्न सम्बन्धित स्थानीय तहलाई आग्रह गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुखसमेत रहनुभएका संयोजक चाम्लिङले बताउनुभयो । जाँचका क्रममा भेटिएका व्यक्तिको नाम, ठेगाना, पालिका पहिचान गर्ने र सम्बन्धित पालिकासँगको समन्वयमा अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णयसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो । “जाँचका लागि जिल्लाका विभिन्न २१ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई १४ दिनपछि चिकित्सक वा स्थानीय तहका स्वास्थ्य शाखा संयोजकको परामर्शमा मात्र छाडिनेछ ।” यसैबीच जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले गाउँपालिकाभित्र प्रवेश गर्ने व्यक्तिलाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने कुनै पनि व्यक्तिलाई तीन हप्तासम्म क्वारेन्टाइनमा राख्ने भएको हो । भारतलगायत विभिन्न देशबाट घर आउने स्थानीयवासीका कारण कोरोना भाइरसको सङ्क्रमण फैलिने खतरा भएकाले क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताउनुभयो । यसअघि परदेशबाट घर आएका अधिकांश स्थानीयलाई होम क्वारेन्टाइनमा बस्न भनिए पनि बेवास्ता गरेको पाइएकाले आगामी दिनमा गाउँपालिका प्रवेश गर्ने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । होम क्वारेन्टाइनमा बस्न चाहनेलाई पनि २१ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने लिखित कागजात गराएर मात्र घर जान दिइने गाउँपालिका प्रमुख शङ्करमान राईले बताउनुभयो । “यसअघि आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न छुट दिँदा बेवास्ता गरेको पाइयो”, उहाँले भन्नुभयो, “आगामी दिनमा गाउँपालिका प्रवेश गर्ने जोकोहीलाई क्वारेन्टाइनमा बसेर सजगता अपनाउन लिखित कागज गराइनेछ ।” सामान्य बिरामी भएका र कोरोनाको शङ्कास्पद व्यक्तिलाई राख्न चिसापानीमा २० श्ययाको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको जनाइएको छ । यसअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना सङ्क्रमित एक युवतीसँगै यात्रा गरेका सो गाउँपालिकाका एक युवकको नमूना परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा हालसम्म २४ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । तीन सय चार श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको जिल्लामा स्थानीय तहले होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि क्वारेन्टाइन बस्नेको सङ्ख्या न्यून देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!