बिहिबार, चैत्र २७, २०७६ || 656  पटक पढिएको

लकडाउनको समय थप भएसँगै थुलुङ दूधकोशी गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । लकडाउनका कारण नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीलाई राहतस्वरुप एक महिनाका लागि औषधि वितरण गर्ने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका २९५ परिवारलाई राहत वितरण गरेको गाउँपालिकाले दीर्घरोगीलाई औषधि उपलब्ध गराउने जनाएको छ । तेस्रो चरणको लकडाउन थपिए पनि अझै खुल्ने समय यकिन नभएकाले दीर्घरोगीलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यले औषधि वितरण गर्न लागिएको अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले सार्वजानिक सूचना जारी गरेर बिरामीले सेवन गर्ने औषधिको बिल उपलब्ध गराउन आग्रह गर्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन गरेको जनाएको छ । प्रत्येक वडाका जनप्रतिनिधिले तथ्याङ्क सङ्कलन गरी गाउँपालिकामा बुझाउनुपर्ने प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले जानकारी दिनुभयो । जिल्लाको नेचा सल्यान गाउँपालिकाले पनि दीर्घरोगीलाई एक महिनाको निःशुल्क औषधि उपलब्ध गराउने जनाएको छ । गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाका अनुसार गाउँपालिकाले अहिले तथ्याङ्क सङ्कलन गरिरहेको छ । वडाका जनप्रतनिधि र स्वास्थ्यकर्मीले सिफारिस गरेको पत्रसहित विवरण सङ्कलन गरी ल्याउने र गाउँपालिकाले खरिद गरी वितरण गरिने जनाएको छ । यस्तै गाउँपालिकाभित्रका अतिविपन्न परिवारलाई राहत दिनका लागि पनि विवरण सङ्कलनको काम जारी रहेको जनाएको छ । सोलुखुम्बुको आठ स्थानीय तहमध्ये अतिविपन्न तथा ज्यालामजदुरी गर्नेको पहिचान गरी राहत वितरण गर्ने पहिलो गाउँपालिका थुलुङदूधकोशी हो । यहाँका अन्य स्थानीय तहले अहिले विवरण सङ्कलनमा जुटेका छन् । महाकुलुङ गाउँपाकिलाले चैत २८ गते राहत दिने गरी तयारी थालेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । सोमबार सम्पन्न गाउँकार्यपालिका राहत वितरण मार्गदर्शन २०७६ पारित गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष किराँतीले जानकारी दिनुभयो । यस्तै माप्यदुधकोशी गाउँपालिकाले पनि अतिविपन्न परिवारको तथ्याङक सङ्कलन गरिरहेको जनाएको छ । गाउँपालिका उपाअध्यक्ष जुनितामाया मगरका अनुसार विपन्न परिवारसँगै दीर्घरोगीको तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । लिखुपिके गाउँपालिकाले पनि आजसम्ममा अतिविपन्न परिवारको तथ्याङ्क सङ्कलन सक्ने गरी काम गरिरहेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिनुभयो । जिल्लाको विभिन्न स्थानीय तहमा भौतिक संरचना निर्माणको चरणमा रहेकाले यहाँका भारतीयमूलका नागरिकसमेत मजदुरीका लागि आएका छन् । तर पनि उनीहरु के–कति छन् भन्ने विषयमा आजसम्म कसैले पनि तथ्याङ्क सार्वजानिक गरेका छैनन् । यस्तै जिल्ला बाहिर कैलाली, कञ्चरपुर, रामेछापलगायतका क्षेत्रबाट पनि मजदुरीका लागि आउने गरेका छन् । कतारबाट आएका युवाको परीक्षण नेगेटिभ ताप्लेजुङ ः कोरोना सङ्क्रमित युवतीसँगै कतारबाट जहाजमा आएका ताप्लेजुङका एक युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ती युवासहित तीन जनाको स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । भारतबाट आएकी एक महिला र उच्च ज्वरो देखिएका अर्का एक वृद्धको स्वाब परीक्षण भएको हो । तीनै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डा सोनिङ लामाले जानकारी दिनुभयो । तीनै जना अहिले होम क्वारेन्टाइनमा रहेको बताइएको छ । यस्तै जिल्ला अस्पतालको आइसोलेसनमा रहेका तीन जनालाई समेत डिस्चार्ज गरिएको जनाइएको छ । उता सिरिजङ्घा गाउँपालिकामा क्वारेन्टाइनमा रहेका आठ जनालाई समेत घरैमा सुरक्षित बस्ने गरी घर पठाइएको गाउँपालिकाले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । विदेशबाट फर्केका १३ को परीक्षण भोजपुर ः कोरोना भाइरस फैलिन नदिन पौवादुङमा गाउँपालिकाले विदेशबाट आएका १३ स्थानीयवासीको स्वास्थ्य परीक्षण गराएको छ । भारतबाट आएका पाँच, कतारबाट आएका चार र अन्य विभिन्न ठाँउबाट आएका गरी १३ जनाको बुधबार स्वास्थ्य परीक्षण गरिएको हो । जिल्ला अस्पतालबाट चिकित्सकको टोली बोलाएर गाउँपालिका केन्द्र च्याङ्ग्रेमा उनीहरुको स्वास्थ्य परीक्षण गराएको हो । परीक्षणमा सबैको अवस्था सामान्य रहेको जिल्ला अस्पताल भोजपुरका डा कैलाश विश्वकर्माले बताउनुभयो । स्वास्थ्य परीक्षणपश्चात उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा विदेशबाट आएका उनीहरुको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । गाउँपालिकाले छ वटै वडाको प्रत्येक टोलटोलमा ५४ स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरेर अन्य मानिसको रेकर्ड राखेर उनीहरुको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिइरहेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!