बुधबार, चैत्र २६, २०७६ || 846  पटक पढिएको

स्वास्थ्य निगरानीसहित क्वारेन्टाइनमा बसेको १४ दिनपछि सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनबाट ३७ जना खुशीसाथ घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणको कुनै लक्षण नदेखिएकाले दुई साताको बसाइपछि उनीहरूलाई बिदाइ गरिएको हो । राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलबाट एक महिला र नौ पुरुष, कञ्चनरूप नगरपालिका–८ स्थित सर्वोदय माविबाट १० पुरुष, विष्णुपुर गाउँपालिका–७ स्थित जनता मावि विष्णुपुर कट्टीबाट नौ पुरुष तथा छिन्नमस्ता गाउँपालिका–३ स्थित चौरसिया धर्मशालाबाट एक महिला र सात पुरुष घर फर्किएका हुन् । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले १४ दिनको स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएकाहरूलाई तत्काल घरमै सुरक्षित बस्न निर्देशन दिई आफन्तको जिम्मा लगाएर घर पठाइएको बताउनुभयो । मजदुरीका लागि भारत, मलेशिया, कतार, साउदी अरबलगायत विभिन्न देश गएका उहाँहरू नेपाल फर्किएपछि क्वारेन्टाइनमा बस्नुभएको थियो । अहिले क्वारेन्टाइनमा १४ पुरुष थपिएका छन् । महादेवा गाउँपालिका–३ स्थित मावि बथनाहामा छ, सुरुङ्गा नगरपालिका–५ स्थित मसिलाल मावि कुशहामा चार, राजगढ गाउँपालिका–३ स्थित जसमावि नर्घोमा तीन र अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित जनचेतना मावि घोघिदाहामा एक पुरुष क्वारेन्टाइनमा थपिएका हुन् । अब क्वारेन्टाइनमा सात महिला र २२० पुरुष रहेका छन् । कोरोना सङ्क्रमणको आशङ्कामा सप्तरीको राजविराजस्थित आइसोलेसनमा भर्ना हुनुभएकी एक महिलाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई पनि घर फर्काइएको छ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको आइसोलेसनमा बस्नुभएकी कञ्चनरूप नगरपालिका–११ गोरपारकी महिलाको रिपोर्ट नेगेटिभ आएको र ज्वरोलगायत अन्य स्वास्थ्य समस्या नरहेपछि घर फर्काइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले जानकारी दिनुभयो । कोरोनाको लक्षण नभेटिएको र परिवारका सदस्यहरूसँग लामो समयपछि भेंट हुने दोहोरो खुशी लिएर घर फर्किएको कञ्चनरूपकी लीलादेवी खङ्गले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!