कोभिड–१९ का आधिकारिक सूचना अब एकै ठाउँबाट जानकारी लिन सकिनेछ । यसका लागि प्रदेश नं. ५ ले मोबाइल एप्स शुरु गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ‘कोभिड– १९ ट्र्याकिङ इन्फर्मेशन सिस्टम’ नाम दिएको सो एप इन्ड्रोइड फोनको प्लेस्टोर र एप्पलको एप स्टोर दुवैमा उपलब्ध हुनेछ । यो एप अm।उछ।नयख।लउ बाट पनि डाउनलोड हुने कार्यालयले जनाएको छ । यो एपले कोरोना सङ्क्रमणको लक्षण देखिएका शङ्कास्पद बिरामीको विवरण र लोकेसन सङ्कलन गर्नेछ । जसले गर्दा बिरामी पहिचान गरी नमूना परीक्षण गर्न सहज हुने मुख्यमन्त्रीको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “विदेशबाट आएर क्वारेन्टाइनमा नबस्ने र टोल छिमेकमा कोरोना भाइरसको शङ्कास्पद लक्षण देखिएका व्यक्तिको विवरण अन्य व्यक्तिले पनि एपमार्फत टिपाउन सक्नेछन् । जसले गर्दा उनीहरूलाई निगरानी गर्न सहयोग पुग्नेछ ।” परिवार र टोल छिमेकका कसैमा कोरोना भाइरससम्बन्धी लक्षण देखिए एपमार्फत जानकारी गराउन पनि प्रदेश सरकारले आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसरी पठाइने विवरण गोप्य रहने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताउनुभयो । एपमार्फत कोरोनासँग सम्बन्धित राष्ट्रिय र अन्तरराष्ट्रिय सूचनासमेत प्राप्त गर्न सकिनेछ ।

कोभिड १९ प्रभाव ः नवलपरासीमा केरा उत्पादन घट्ने चिन्ता

परासी ः कोभिड–१९ को जोखिम नभएको भए यतिबेला केरा कृषक खेतमा व्यस्त हुने समय हो । केराको राम्रो उत्पादन गर्दै आएका पश्चिम नवलपरासीका कृषक यतिबेला समयमा केरा लगाएको खेतमा सिँचाइ गरी आवश्यक युरिया, डिएपी, पोटास, सल्फर, जिङ्क तथा जैविक मल राख्न व्यस्त हुन्थे ।

कोरोना सङ्क्रमणको त्रास र लकडाउनलाई पालना गर्दै कृषक घरमै बसिरहेका छन् । केरामा सिँचाइ र मल राख्न नपाएपछि उत्पादन घट्ने भन्दै कृषक चिन्तित बनेका छन् । लकडाउनको असर कराखेतीमा पनि देखिएको छ । यतिबेला केराका लागि आवश्यक रासायनिक र जैविक मल उपलब्ध हुन नसके उत्पादनमा भारी गिरावट आउने केरा उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष लख्खु यादवले बताउनुभयो । “कोरोनाको जोखिमले घर बाहिर निस्कने अवस्था छैन, सधैँ पाइने सहकारीमा यसपटक मल पाइएको पनि छैन, यो समयमा मल राख्न सकिएन् भने ठूलो मात्रामा उत्पादन घट्छ, यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ”, उहाँले भन्नुभयो ।

लकडाउनका कारण सदरमुकामस्थित कृषि सामग्री संस्थानमा रहेको मल सहकारी संस्थासम्म पुग्न सकेको छैन । केरा उत्पादनमा कमी हुन नदिन कृषकका लागि मल उपलब्ध हुने व्यवस्था मिलाउनुपर्ने कृषकको माग छ ।

परासीस्थित कृषि सामग्री संस्थानमा प्रशस्तमात्रामा रासायनिक मल रहेको बताउँदै कार्यालय प्रमुख प्रकाश ज्ञवालीले कोरोना भाइरस सङ्क्रमणको त्रासले सहकारी संस्थासम्म ढुवानी गर्न आवश्यक सुरक्षा अपनाउन जटिलता देखिएपछि मल वितरण गर्न नसकिएको बताउनुभयो । कोरोना सङ्क्रमणको जोखिम नहुने गरी आवश्यक सुरक्षाको प्रबन्ध हुन सके दुई÷तीन दिनमै मल सहजरूपमा उपलब्ध गराउन सकिने प्रमुख ज्ञवालीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कृषकको समस्यालाई आफूले गम्भीररूपमा लिएको बताउनुभयो । “उहाँहरूले मलाई पनि मल उपलब्ध गराउनुप¥यो भन्नुभएको छ, मैले यसलाई गम्भीररूपमा लिएको छु, आवश्यक समन्वय गरेर मल उपलब्ध हुने वातावरण बनाउन प्रयासरत छु”, उहाँले भन्नुभयो ।

जिल्लामा करिब एक हजार ७०० बिघा क्षेत्रफलमा केराखेती हुँदै आएको केरा उत्पादक कृषक सङ्घले जनाएको छ । कृषकले एक कठ्ठामा लगाएको केराबाट रु ६० हजारसम्म आम्दानी गर्ने गरेको बताउँछन् । केराको उत्पादनमा कमी नआए एक बिघामा लगाइएको केराखेतीबाट कृषकले अधिकतम रु १२ लाखसम्म आम्दानी गर्नसक्ने सङ्घले जनाएको छ ।

सङ्घका अनुसार जिल्लामा वार्षिकरूपमा दुई अर्ब ४० करोड बराबरको केरा उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको केरा बुटवल, पोखरा, नारायणगढ र काठमाडौँसम्म जाने गरेको छ । यहाँको केरा खरिद गर्न व्यापारी खेतमै पुग्ने गरेका छन् ।

बर्दियाका किसान गहुँ काट्न व्यस्त

धम्बोझी ः बर्दियाका किसान यतिबेला खेतमा लगाइएको गहुँ काट्न व्यस्त छन् । पाकिसकेको गहुँ बोटमै राख्दा झर्ने भएका कारण लकडाउनको समयमा पनि किसान खेतमा व्यस्त भएका हुन् ।

बर्दियामा पछिल्लो वर्षमा गहुँखेती गर्ने क्रम बढ्दै गएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताउनुभयो । बर्दियामा करिब ६० हजार हेक्टरमा एक लाख मेट्रिक टन गहुँ उत्पादन हुन्छ । “मुसुरो, केराउ, चनाखेती घट्दो क्रममा रहे पनि गहुँखेती बढ्दो क्रममा रहेको पाइन्छ”, प्रमुख ढकालले भन्नुभयो, “दैनिक उपभोग्य वस्तु भएको र सिँचाइको सुविधा बढ्दै गएकाले पनि गहुँखेतीतर्फ किसान आकर्षित भएका हुन् ।”

कपिलवस्तुमा प्रविधिमैत्री क्वारेन्टाइन

चन्द्रौटा ः सफा सुग्घर चिटिक्क परेको कोठा, सफा शौचालय, बस्ने स्थलमा फर्म माथि म्याट्रेस राखिएको छ, दूरीको हिसाबले सबै टाढाटाढा छन्, त्यहाँ बसेका सबैको हातमा मोबाइल छ, हेर्दा लाग्छ त्यो कुनै क्वारेन्टाइन होइन । यो दृश्य हो, शिवराज नगरपालिकाले खरेन्द्रपुरमा निर्माण गरेको क्वारेन्टाइनको । अहिले यस क्वारेन्टाइनमा १६ जना छन्, सबै भारतबाट आएका हुन्, कसैको स्वास्थ्यमा समस्या छैन्, कसैले युटुब हेरिरहेका छन् त कसैले परिवारसँग भिडियो कल ।

भारतमा उच्च जोखिम देखेपछि नेपाल फर्किएका उनीहरूको दैनिकी गफगाफ र विश्वको खबर हेरेर र सुनेर बितेको छ । क्यान कपिलवस्तुले जडान गरेको इन्टरनेट सुविधासहितको क्वारेन्टाइनमा बसेका सबै खुशी छन् । क्वारेनटाइनमा बसेकालाई इन्टरनेटबाट समय बिताउन सहज भएको वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटा बताउनुभयो ।

क्यान कपिलवस्तुले शिवराज नगरपालिकामा मात्र होइन तौलिहवाका चार वटा क्वारेन्टाइन स्थलमा निःशुल्क इन्टरनेट जडान गरेको छ । कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा रहेका क्वारेनटाइनमा निःशुल्करूपमा इन्टरनेट जडान गरेको महासङ्घका पूर्वअध्यक्ष माधव घिमिरेले बताउनुभयो ।

कपिलवस्तु नगरपालिकाले निर्माण गरेको रत्नराज्य मावि र बुद्ध पद्म माविको क्वारेन्टाइनमा निःशुल्क इन्टरनेट जडान छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) कपिलवस्तु र तौलिहवास्थित मार्स कम्प्युटरले सदरमुकामको तौलिहवाका दुई क्वारेन्टाइनमा निःशुल्क इन्टरनेट जडान गरेको घिमिरेले बताउनुभयो । यता महेन्द्र आधारभूत विद्यालय तथा मायादेवी गाउँपालिकाको छत्रपाली तीर्थादेवी मावि र शिवराज नगरपालिकाको सुपा देउराली भिलेजमा रहेको क्वारेन्टाइनमा नेट जडान गरिएको हो ।

निःशुल्क इन्टरनेट जडान भएपछि क्वारेन्टाइनमा बस्नेलाई दिन बिताउन सहज भएको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।

लकडाउन उल्लङ्घन गरी पिकनिक गएका युवाको खोजी

पाल्पा ः पाल्पाको बगनासकाली गाउँपालिका–८, स्थित सिद्धबाबा मन्दिर नजिक पिकनिक खान गएका युवाको खोजी भइरहेको छ । लकडाउन उल्लङ्घन गरी पिकनिक गएका युवालाई प्रहरीले नियन्त्रण लिन खोज्दा फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक घनश्याम पाण्डेको नेतृत्वमा पिकनिक स्थलमा प्रहरी टोली पुगेपछि सामान छोडेर युवा फरार भएका हुन । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पिकनिक स्थलमा लु४९प ५६९८ नम्बरको मोटरसाइकल, बोइलर कुखुरा, बियर तथा खाद्य सामाग्री भेटिएको छ ।

दमकलबाट किटनाशक औषधि छर्किदै

लमहीः दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न किटनाशक औषधि छर्कन शुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा बढी भिडभाड हुने क्षेत्रमा किटनाशक औषधि छर्किन शुरु गरेको नगरप्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिनुभएको छ । रोटरी क्लब र रोट्र्याक्ट क्लब अफ तुलसीपुर सिटीको व्यवस्थापनमा उपमहानगरपालिकाले औषधि छर्केको हो ।

पहिलो चरणमा बढी भिडभाड हुने स्थान अस्पताल, तरकारी पसल, बधशाला, बसपार्क तथा उपमहानगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन क्षेत्रमा दमकल प्रयोग गरी किटनाशक औषधि छर्किएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!