सुदूरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको हो ।
संक्रमित हुनेहरुमा २१ र ४१ वर्षीय पुरुष र ३५ वर्षीया महिला रहेका छन् । मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यस्तै कैलालीकी ३४ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ । ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ ।
यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
चैत २ गते कञ्चनपुरको वेदकोटबाट ४१ वर्षीय ती पुरुष भारतको उत्तराखण्ड चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँस्थित सडक निर्माणको काममा गएका थिए ।
उनीसँग काम गर्ने ११ जना एउटै टेण्टमा बस्थे । सबैजना रातिमा लाइनसँग सुत्थे । उनीहरुको पकाउने चुल्हो समेत एउटै रहेको पाइएको छ ।