
मोरङ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी-१० स्थित भाउन्ने चोक अचेल पोलेको मकैको मुख्य केन्द्र बनेको छ। विगत सात वर्षदेखि मकै पोलेर जीविका चलाउँदै आएकी प्रमिला राई मात्र होइन, यहाँका २० भन्दा बढी स्थानीयको दैनिकी अहिले मकै पोल्ने र बेच्ने काममै बित्ने गरेको छ।

२५ रुपैयाँमा किनेको हरियो मकै पोलेपछि ५० रुपैयाँमा बिक्री हुने गरेको र यसबाट दैनिक औसत १ हजारदेखि १५ सय रुपैयाँसम्म आम्दानी हुने गरेको व्यवसायीहरू बताउँछन्।कोरोना महामारीका कारण होटल व्यवसाय ठप्प भएपछि मकै पोल्न थालेका रमेश कुँवरका अनुसार अहिले यो ठाउँ यात्रुहरूका लागि खाजा खाने आकर्षक गन्तव्य बनेको छ। राजमार्गमा चल्ने सार्वजनिक बस र निजी सवारी साधनमा यात्रा गर्नेहरू पोलेको मकै खानकै लागि यहाँ रोकिने गरेका छन्।
ताजा र स्वादिलो मकै पाइने भएपछि धेरै यात्रुहरू मकै पोलुन्जेल गाडी रोकेर थकाइ मार्ने गर्छन्। भाउन्ने चोकदेखि चिसाङ खोलासम्म मकैको व्यापार फस्टाएपछि स्थानीय किसानहरू पनि व्यावसायिक मकैखेतीतर्फ आकर्षित भएका छन्।
बाह्रै महिना हरियो मकैको माग हुने र उचित मूल्य पाइने भएपछि किसानहरूले अहिले सिजन अनुसार बाह्रै महिना मकै उत्पादनमा जोड दिन थालेका छन्। यसले एकातिर स्थानीयलाई रोजगारी दिएको छ भने अर्कोतिर कृषिको व्यवसायीकरणमा समेत ठूलो टेवा पुगेको छ।