
बिराटनगर। नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक कुन्दन देव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनलाई रास्वपा मोरङ क्षेत्र नम्बर–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशा झाले ब्याज लगाएर पार्टीमा स्वागत गरिन्।

पार्टी प्रवेश कार्यक्रममा देवले पुराना दलप्रति जनतामा बढ्दै गएको निराशा र नयाँ राजनीतिक शक्तिप्रति देखिएको आशालाई आत्मसात् गर्दै रास्वपामा आबद्ध भएको बताए। उनले सुशासन, पारदर्शिता र जवाफदेही राजनीतिको पक्षमा रास्वपाको एजेन्डा आफूलाई उपयुक्त लागेको उल्लेख गरे।
रास्वपा उम्मेदवार आशा झाले पूर्व प्रहरी निरीक्षक देवको पार्टी प्रवेशले मोरङ–५ मा पार्टीको संगठन थप सुदृढ भएको बताइन्। उनले देवको अनुभव, सामाजिक पहुँच र जनसम्पर्क क्षमताले चुनावी अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गरिन्।
रास्वपा कोशी प्रदेश सदस्य धनेश्वर साहले भने सुरक्षा निकायमा लामो समय सेवा गरेका व्यक्तित्वको रास्वपामा प्रवेशले स्थानीय मतदातामा सकारात्मक सन्देश गएको छ। यसले मोरङ क्षेत्र नम्बर–५ मा आशा झाको जितको सम्भावना अझ बलियो बनेको आकलन गरिएको छ।