दाङ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै दाङ क्षेत्र नं. २ का उम्मेदवारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त छन्। तर, यसपटक मतदाताहरू उम्मेदवारका पुराना आश्वासन सुन्न तयार छैनन्। उनीहरूले नेताहरूसँग चुनावी बाचा मात्र होइन, विकासका योजनाको ठोस ‘ग्यारेन्टी’ माग गरिरहेका छन्।

घोराही उपमहानगरपालिका–१८ का सुरेश पुनमगर धेरै पटक मतदान गरे पनि नेताहरूले वाचाअनुसार काम नगरेकोमा रुष्ट छन्। देशमा रोजगारी नहुँदा युवाहरू विदेशिनु परेको र कृषि गर्न चाहनेले समयमा मल, बीउ र सिँचाइ नपाउने समस्या जस्ताको तस्तै रहेको उनको गुनासो छ। तुलसीपुर–१८ की खिमा घर्तीले पनि कांग्रेस उम्मेदवार किरणकिशोर घिमिरेलाई भेटेर निर्वाचनका बेला आश्वासन मात्र बाँड्नेभन्दा पनि दुःखमा साथ दिने र वास्तविक विकास गर्ने नेता चाहिएको स्पष्ट सुनाइन्।

दाङ २ मा सडकको स्तरोन्नति, खानेपानी, शिक्षा, स्वास्थ्य र सिँचाइ जस्ता आधारभूत आवश्यकता अझै अधुरै छन्। निर्वाचनका बेला कल्भर्ट बनाउने, सडक कालोपत्र गर्ने र विद्युत् विस्तार गर्ने भन्दै भोट माग्न आउने तर जितेपछि फर्किएर नआउने प्रवृत्तिबाट स्थानीयहरू आजित भएका छन्। उम्मेदवारहरूले भने नागरिकका गुनासोलाई गम्भीरतापूर्वक लिएको र यसपटक जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता दोहोर्‍याइरहेका छन्।

यस क्षेत्रमा एमाले महासचिव शंकर पोख्रेल, कांग्रेसका किरणकिशोर घिमिरे, नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन आचार्य लगायतका उम्मेदवारहरू चुनावी मैदानमा छन्। घोराही, तुलसीपुरका केही वडा र बंगलाचुली गाउँपालिका समेटिएको यस निर्वाचन क्षेत्रमा यसपटक १ लाख ४० हजार ९४८ मतदाता छन्। नेताहरूलाई भोटको चिन्ता छ भने मतदातालाई आफ्नो गाउँको अधुरो विकास कहिले पूरा होला भन्ने पिरलो छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!