जलेश्वर ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी क्षेत्र नं ३ मा चुनावी चहलपहल ह्वात्तै बढेको छ। यसपटक यहाँका मतदाताले पूर्वाधार विकाससँगै सुशासन र सामाजिक न्यायलाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएका छन् ।

जिल्ला सदरमुकाम जलेश्वरसहित मटिहानी, मनराशिशवा, पिपरा र एकडाराका मतदाताले उम्मेदवारहरूसँग कानुनी थिति र विधिको शासनबारे प्रश्न उठाउन थालेका छन्। संविधान र कानुन भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा सर्वसाधारणले सुशासनको अनुभूति गर्न नपाएको गुनासो मटिहानी–८ का इसराफिल राइनको छ। निमुखा जनताले सामाजिक न्याय नपाउनु र संवैधानिक हकबाट वञ्चित हुनु यस क्षेत्रको प्रमुख समस्याका रूपमा देखिएको छ।

भ्रष्टाचार र ‘सेटिङ’ विरुद्ध युवाको आवाज
युवा मतदाताहरूले विकास निर्माणका योजनामा हुने संस्थागत भ्रष्टाचार र जवाफदेहिताको अभावप्रति आक्रोश व्यक्त गरेका छन्। उपभोक्ता समितिदेखि सरकारी अड्डासम्म ‘सेटिङ’ मा काम हुने परिपाटीले राजनीतिक क्षेत्रप्रति नै अविश्वास पैदा गरेको स्थानीयको बुझाइ छ। जलेश्वर–४ का धीरेन्द्र रायका अनुसार अब टालटुले कुराले हुँदैन, भ्रष्टाचार अन्त्यका लागि स्पष्ट खाका र सुदृढ इच्छाशक्ति भएको उम्मेदवार यस क्षेत्रका लागि आवश्यक छ।

कृषि प्रधान क्षेत्र भए पनि सरकारले दिने अनुदान र सुविधा वास्तविक किसानसम्म नपुगी पहुँचवालाको कब्जामा पर्ने गरेको गुनासो पनि उत्तिकै छ। किसानहरूले काममा पारदर्शिता र जवाफदेही थिति बसाल्न माग गरेका छन्। यसका साथै बर्सेनि रातु र बिगही नदीका कारण हुने डुबान र कटान रोक्न पक्की तटबन्ध निर्माण गर्ने आँट भएको नेतृत्व आफूहरूले खोजेको जलेश्वर–८ का धिरु मण्डलले बताए।

चुनावी मैदानमा ४१ उम्मेदवार, सुरक्षा व्यवस्था कडा
यस क्षेत्रमा १५ राजनीतिक दल र २६ स्वतन्त्र गरी कुल ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मैदानमा रहेका उम्मेदवारमध्ये दुई जना मात्र महिला छन्। जसपा नेपाल, नेपाली कांग्रेस, एमाले, रास्वपा, जनमत, राप्रपा र आमजनता पार्टी लगायतका दलहरू चुनावी प्रचारमा होमिएका छन्। वस्ती–वस्तीमा भइरहेका चुनावी बहस र घरदैलोले वातावरण निकै तातेको छ।

महोत्तरी–३ मा जिल्लाकै सबैभन्दा बढी १ लाख १० हजार ४३६ मतदाता रहेका छन्। भारतसँग २५ किलोमिटर लामो खुला सीमा जोडिएकाले यस क्षेत्रका मतदानस्थललाई संवेदनशील मानिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सीमावर्ती क्षेत्रका ७७ मतदानस्थल र १४२ मतदान केन्द्रमा उच्च सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!