काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध बनाउने प्रयास सफल हुन नसकेको स्वीकार गरेका छन्। बुधबारदेखि कांग्रेस दुई धारमा विभाजित भए पनि फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै सबैलाई पुनः एकतामा आउन उनले आग्रह गरेका छन्।

बिहीबार जारी विज्ञप्तिमा डा. कोइरालाले पार्टीभित्र देखिएको विभाजन र त्यसलाई रोक्न गरिएका प्रयास असफल भएको विषयमा दोषारोपण गरेर राष्ट्रिय राजनीतिलाई अझै अन्योलमा पार्न नचाहेको स्पष्ट पारेका छन्।
‘हामी सबै कतै न कतै चुकेका छौँ,’ उनले उल्लेख गरेका छन्, ‘पछिल्ला घटनाक्रमको वस्तुनिष्ठ समीक्षा र व्यक्तिको भूमिकाको मूल्यांकन इतिहासमै छाडौं।’

उनका अनुसार राजधानी केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल र आन्तरिक अन्तरविरोधका कारण कांग्रेसलाई एकढिक्का बनाएर निर्वाचनमा लैजाने प्रयास सफल हुन सकेन। यस्तो कठिन समयमा महामानव बीपी कोइरालाको विचार र संघर्ष स्मरण गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन्। बीपीले समेत पार्टी विभाजनलाई ‘नियतिको खेल’ का रूपमा लिने गरेको उनको स्मरण छ।

डा. कोइरालाले कांग्रेस एक भएर अघि बढ्न नसक्नु नियतिको कठोर यथार्थ भए पनि अब आठ दशक लामो पार्टी इतिहासको गरिमा जोगाउने दायित्व सबै नेता–कार्यकर्ताको काँधमा आएको बताएका छन्। संगठनात्मक ऊर्जा जागृत भए मात्र अग्रज नेताहरू र शहिदहरूले सुम्पिएको जिम्मेवारी पूरा गर्न सकिने उनको धारणा छ।

कांग्रेस आम कार्यकर्ताको बलमा बनेको पार्टी भएको उल्लेख गर्दै उनले साझा इतिहास, साझा नेतृत्व र शहिदहरूको बलिदानबाट प्रेरणा लिएर नेपाल र नेपालीको साझा भविष्य निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

विगतका विभाजनका बाबजुद पनि जनताले कांग्रेसप्रति देखाएको भरोसा कायम रहेको उल्लेख गर्दै उनले पुनः जनताको घरदैलोमा पुगेर समृद्धिको यात्रामा साथ माग्नुपर्ने बताएका छन्।
पार्टीभित्र आवश्यक सुधार प्रक्रिया नरोकिने स्पष्ट पार्दै डा. कोइरालाले सबैलाई ‘घर फर्कौं, कांग्रेसमा फर्कौं’ भन्ने आह्वान गरेका छन्। जीत–हारभन्दा माथि उठेर सबैका लागि ‘विन–विन’ अवस्थाबाट अघि बढ्न सकिने विश्वास उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!