तेहरान– इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वका घमण्डी र तानाशाह शासकहरूसँग तुलना गर्दै तीखो चेतावनी दिएका छन् । सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत लगातार धारणा सार्वजनिक गर्दै उनले ट्रम्पमाथि कडा शब्दमा प्रहार गरेका हुन् ।

खामेनीले अमेरिकी राष्ट्रपतिले संसारबारे अहंकारपूर्ण निर्णय गर्ने गरेको आरोप लगाउँदै इतिहासबाट पाठ सिक्न आग्रह गरेका छन् । उनले लेखेका छन्, “फिरौन, निमरूद र मोहम्मद रेजा पहलवीजस्ता शासकहरू घमण्डको चरम सीमामा पुगेकै बेला पतन भए । ट्रम्पको अन्त्य पनि त्यही बाटोमा हुनेछ ।”

इरान क्रान्तिअघिको अवस्थाभन्दा अहिले धेरै शक्तिशाली बनेको दाबी गर्दै खामेनीले अमेरिका अझै पनि इरानको वास्तविक शक्ति बुझ्न असफल भएको टिप्पणी गरेका छन् । “आज इरान सैन्य र आध्यात्मिक दुवै रूपमा विगतको तुलनामा धेरै सशक्त छ । हाम्रो क्षमता र सामर्थ्यलाई पुरानो इरानसँग तुलना गर्न मिल्दैन,” उनले उल्लेख गरेका छन् ।

लाखौँ सम्मानित नागरिकको बलिदानबाट बनेको देश कुनै पनि ‘विध्वंस मच्चाउने शक्तिसामु’ नझुक्ने अडान खामेनीले दोहोर्‍याएका छन् ।

उनले हालैको १२ दिने युद्धको सन्दर्भ उठाउँदै एक हजारभन्दा बढी इरानी नागरिक मारिएको दाबी गरेका छन् । त्यसको आदेश ट्रम्प स्वयंले दिएको आरोप लगाउँदै उनले भनेका छन्, “अमेरिकी राष्ट्रपतिले आफैँ आदेश दिएको स्वीकार गरेका छन् । यसको अर्थ इरानी जनताको रगत उनको हातमा छ । अहिले उनी इरानी जनताको पक्षमा भएको नाटक गरिरहेका छन् ।”

खामेनीले भेनेजुएलाको उदाहरण दिँदै अमेरिकी नीतिमाथि पनि प्रश्न उठाएका छन् । “ल्याटिन अमेरिकाको एउटा देशलाई कसरी घेराबन्दी गरियो, संसारले देखेको छ । उनीहरू खुलेआम भन्छन्—यो तेलका लागि थियो । यसमा उनीहरूलाई लाजसमेत लाग्दैन,” उनले लेखेका छन् ।

खामेनीको यो टिप्पणी अमेरिका–इरानबीच बढ्दो तनावको पृष्ठभूमिमा आएको हो, जसले अन्तर्राष्ट्रिय राजनीतिमा थप चासो र बहस सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!