धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारि रहेको महाभारत गाउँपालिकामा कफीखेती गर्दै आएका किसानहरूलाई व्यावसायिक कफी उत्पादनसम्बन्धी प्रविधि तालिम प्रदान गरिएको छ ।

पालिकाले व्यावसायिक रूपमा ४०० देखि ५०० भन्दा बढी कफीका विरुवा रोपेका किसानलाई लक्षित गरी तालिम सञ्चालन गरेको हो । कफीखेतीलाई व्यवस्थित र व्यावसायिक बनाउँदै किसानको सीप तथा उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको महाभारत गाउँपालिका कृषि प्राविधिक खिमबहादुर डाँगीले जानकारी दिए ।

पालिकाका सबै वडाबाट छनोट गरिएका ४५ जना किसानलाई तालिममा सहभागी गराइएको थियो । तालिममा कफीका विरुवा रोप्ने सही तरिका, हेरचाह र व्यवस्थापन, फल टिप्ने विधि, प्रशोधन, सुकाउने प्रक्रिया तथा बजारीकरणका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको पालिकाले जनाएको छ ।

वडा नम्बर ५ का वडाध्यक्ष विजय राना मगरले कफीखेतीलाई व्यवसायिक रूपमा अघि बढाएपछि किसानको आम्दानीमा वृद्धि हुनुका साथै जीवनशैलीमा समेत सकारात्मक परिवर्तन देखिन थालेको बताए । परम्परागत धान, मकै र कोदोखेतीभन्दा माथि उठेर कफीखेतीमा लाग्दा आर्थिक अवस्था सुधार गर्न सकिने भएकाले तालिमले किसानलाई थप प्रोत्साहन मिल्ने उनको भनाइ छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद खनालले भौतिक पूर्वाधार विकाससँगै स्थानीय नागरिकको जीवनस्तर उकास्ने लक्ष्यका साथ कफीखेती प्रविधि तालिम सञ्चालन गरिएको बताए ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले ‘यही कमाउने, यही रमाउने’ अभियानअन्तर्गत विगत पाँच वर्षदेखि कृषिमा निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै हाल कफीखेतीले त्यसको सकारात्मक परिणाम देखाउन थालेको बताए । सुरुवाती चरणमा माटो परीक्षण अभियानप्रति उठेका प्रश्नहरूलाई अहिले काम र उपलब्धिमार्फत उत्तर दिन सफल भएको उनले बताए ।

आगामी दिनमा महाभारत गाउँपालिकालाई कफी उत्पादन र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष जिम्बाले जानकारी दिए । आवश्यक परे गाउँपालिकाले थप सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।

दुई दिनसम्म सञ्चालन भएको तालिम केन्द्रीय कफी सहकारी सङ्घका अध्यक्ष तुलसीराज धितालको सहजीकरणमा सम्पन्न भएको हो ।

पालिकाले हालसम्म तीन लाख ३१ हजार कफीका विरुवा वितरण गरिसकेको जनाएको छ । महाभारत गाउँपालिकामा करिब चार हजार ५०० रोपनी क्षेत्रफलमा कफीखेती भइरहेको छ भने एक हजार ९२० परिवार यस पेशामा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!