
नेपालगन्ज– तराईमा जारी शीतलहरका कारण बाँके जिल्लामा मह उत्पादनका लागि पालिएका मौरी मर्न थालेका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुले मौरीको गतिविधि प्रभावित हुँदा मौरीपालक किसान चिन्तित बनेका छन् ।

नेपाल मौरीपालक महासङ्घ बाँकेका अध्यक्ष तथा मौरीपालक किसान पुरमल बस्नेतका अनुसार हाल उनका घारमा रहेका मौरीमध्ये करिब दुई प्रतिशत मरेका छन् । उनले भने, “अहिले मौरीका लागि सङ्कटकालजस्तै अवस्था छ । चिसो, हुस्सु र चराको आक्रमणका कारण मौरी बाहिर निस्कन सकिरहेका छैनन् ।”
बस्नेतका अनुसार एउटा घारमा सामान्यतया ३० देखि ३५ हजारसम्म मौरी हुन्छन् । चिसोका कारण मौरीले खानपान गर्न नपाउँदा घार नै रित्तिने जोखिम रहने भए पनि बाँकेमा हालसम्म त्यस्तो अवस्था नआएको उनले बताए । बाँकेमा युरोपबाट विकास गरिएको उन्नत जातको मेलिफेरा मौरीमार्फत मह उत्पादन भइरहेको छ ।
चरिचरनका लागि एक स्थानबाट अर्को स्थानमा सार्दा मौरीलाई चिसोको थप असर पर्ने गरेको अध्यक्ष बस्नेतको भनाइ छ । यही कारण यस वर्ष बाँकेमा मह उत्पादन घट्ने अनुमान गरिएको छ । उनले रैथाने मौरी, भमरा र पुत्काजस्ता कीराहरू पनि चिसोका कारण मर्न थालेको उल्लेख गर्दै तिनको वासस्थान संरक्षणका कार्यक्रम आवश्यक रहेको बताए ।
बस्नेतले आफूले पालेका ५० घार मौरी चरिचरनका लागि बर्दियाको गुलरिया उत्तरपूर्व लक्षुमणामा लगिएको जानकारी दिँदै तोरी फूल सकिएकाले अब बर्दियाकै बासगढी नगरपालिकातर्फ सार्ने तयारी भइरहेको बताए ।
यस्तै, कोहलपुर नगरपालिका–५ का मौरीपालक कृष्ण आचार्यले चिसोका कारण मौरी मर्न थालेपछि किसानहरू चिन्तित भएको बताए । उनले भने, “एउटा घारका १० फ्रेममध्ये दुई–तीन फ्रेम खाली भइसकेका छन् । चिसोले मौरी बाहिर निस्कन नसक्दा मह उत्पादनमा पनि प्रत्यक्ष असर परेको छ ।”
आचार्यका अनुसार चिसोका कारण रानी मौरीले अण्डा पार्न नसक्ने, मौरीले खान नपाउने र अन्ततः मर्ने अवस्था सिर्जना भएको छ । उनले करिब ७० घार मौरी पालेका छन् । हाल जिल्लामा करिब १२ जना किसान मौरीपालनमार्फत मह उत्पादन गर्दै आएका छन् ।
गत वर्ष करिब दुई लाख ५० हजार क्विन्टल मह उत्पादन भएको बाँकेमा यस वर्ष उत्पादन अझै घट्ने अध्यक्ष बस्नेतको अनुमान छ । कोहलपुर नगरपालिकाका कृषि विकास शाखा प्रमुख कल्पना नेपालीका अनुसार गत वर्ष सङ्घीय सरकारको कार्यक्रमअनुसार अनुदान सहयोग दिइए पनि यस वर्ष मौरीपालक किसानका लागि कुनै विशेष कार्यक्रम छैन ।
बाँकेका कोहलपुर, बैजनाथ, राप्तीसोनारी र खजुरा क्षेत्रमा सीमित किसानले मौरीपालन गर्दै आएका छन् । अधिकांश मौरीपालक किसान चरिचरनका लागि दाङ, बर्दिया र सुर्खेतलगायतका जिल्लामा मौरी सार्ने गरेका छन् ।