
पथरी शनिश्चरे । पूर्वी मोरङका नाट्य विधामा संलग्न नाट्यकर्मी तथा कलाकारहरूका लागि पथरी शनिश्चरेमा भव्य नाट्यशाला निर्माण गरिने भएको छ।

हिजो (सोमबार) आयोजित एक कार्यक्रममा शब्द थिएटर पथरी शनिश्चरेले नाट्यशाला निर्माणका लागि आवश्यक स्थल टुंगो लागेको जानकारी दिएको हो। कार्यक्रममार्फत नाट्यशाला निर्माणको औपचारिक घोषणा गर्दै यो कदम पूर्वी मोरङको कला, साहित्य र रंगमञ्च विकासका लागि ऐतिहासिक हुने विश्वास व्यक्त गरिएको छ।
स्थानीय समाजसेवी हिरा तिम्सिनाले कलाकारहरूको प्रतिभा प्रस्फुटन, विकास र संवर्धनका लागि करिब ४० लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने चार कठ्ठा क्षेत्रफलको जग्गा निःशुल्क दान गर्नुभएको छ। नाट्यशाला निर्माणका लागि उहाँले पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै शब्द थिएटरले आभार प्रकट गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका वडा नं. २ का वडा अध्यक्ष नैना राईले कला क्षेत्रमा नवप्रवेशीदेखि अनुभवी कलाकारसम्मका लागि साझा मञ्च आवश्यक रहेको उल्लेख गर्दै वडा कार्यालयबाट तत्काल रु. २ लाख बजेट विनियोजन गरिएको र आगामी नगरसभाबाट थप बजेट सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पूर्वी मोरङका नाट्यकर्मी तथा कलाकारहरूको सिर्जनशीलता, प्रतिभा प्रस्फुटन, विकास र संवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम शब्द थिएटरका अध्यक्ष अशोक साम्पाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन सचिव भूपेन्द्रराज तिम्सिनाले गर्नुभएको थियो।
यस ऐतिहासिक पहलले पथरी शनिश्चरे मात्र नभई समग्र पूर्वी मोरङको कला, साहित्य र रंगमञ्चको भविष्यलाई उज्यालो दिशातर्फ लैजाने विश्वास शब्द थिएटर पथरी शनिश्चरेले व्यक्त गरेको छ।