
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी नेतृत्व बाँडफाँट गर्ने कुरा हाँस्यास्पद भएको टिप्पणी गरेका छन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पदको विषयमा चलेको हल्लाप्रति प्रतिक्रिया दिएका हुन्। ‘केही दिनअघि प्रधानमन्त्री बाँडेको हल्ला सुनेँ। प्रधानमन्त्रीमा नाम चलेको व्यक्ति अलि बाठै होला भन्ने ठानेको थिएँ, तर निर्णय हेर्दा त्यस्तो रहेन,’ उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच भएको सहमतिप्रति संकेत गर्दै ओलीले थपे, ‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कैलाई जिम्मा दिएर आफू प्रधानमन्त्री ? यो त अस्ती सिंहदरबारमा आगलागी हुँदा जो भेट्यो उसैलाई प्रधानमन्त्री बाँडे जस्तै हो।’ उनले त्यसबेला प्रधानमन्त्री पद मजाककै रूपमा बाँडिएको टिप्पणी गरे।
नेकपा एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकासका विषयमा मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचनअघि विभिन्न व्यक्तिले प्रधानमन्त्री बाँडे पनि निर्वाचनपछि एमाले–कांग्रेसले नै सरकार बनाउने दाबी गरे।
‘कसले कसले प्रधानमन्त्री बाँडेको सुनिन्छ,’ ओलीले भने, ‘एमाले–कांग्रेस बाहेक अरूले सरकार बनाउन सम्भव छ र ?’
अध्यक्ष ओलीले असंवैधानिक रूपमा विघटन गरिएको संसद् तत्काल पुनर्स्थापना हुनुपर्नेमा पनि जोड दिए। सरकार बनाउने, हटाउने र विश्वास लिने–दिने थलो संसद् भएकाले असंवैधानिक रूपमा संसद् विघटन गरेर संविधानलाई संकटमा पारिएको उनको भनाइ थियो।
उनले संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यसको फैसला चाँडो हुनुपर्ने आवश्यकता औँल्याए। ‘एउटै मुद्दा वर्षौँसम्म बोकेर हिँड्न सकिँदैन। ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो,’ ओलीले भने, ‘संसद् पुनर्स्थापना गरेर मात्र वर्तमान राजनीतिक संकट समाधान गर्न सकिन्छ।’