
विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट ट्रेड एक्स्पोमा विविध सांस्कृतिक तथा सांगीतिक प्रस्तुति भइरहेको छ।

मंगलबार एक्स्पोमा युवा पुस्तामाझ लोकप्रिय कलाकार डिके सागर, मेलिना राई तथा द स्मृति ब्यान्डको प्रस्तुति रहने आयोजकले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैको मैदानमा भइरहेको एक्स्पोमा हरेक दिन राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक कार्यक्रम सञ्चालन हुँदै आएको छ। दैनिक सांगीतिक प्रस्तुतिले एक्स्पोप्रति दर्शकको आकर्षण थपिएको आयोजकको भनाइ छ।
एक्स्पोका संयोजक अनिल सरडाका अनुसार अपराह्नदेखि एक्स्पो स्थलमा सांगीतिक कार्यक्रम सुरु हुनेछ। व्यापार प्रवर्द्धनसँगै मनोरञ्जनलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको उनले बताए।