
काठमाडौँ — नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनका लागि पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार जारी गरिएको विज्ञप्तिमार्फत उनले पार्टीको पुनर्गठन र रुपान्तरणलाई उद्देश्य बनाउँदै आफू अध्यक्ष पदका लागि होमिएको बताएका छन्।

विज्ञप्तिमा पोखरेलले भनेका छन्, “पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी बाँडफाँड गर्दै सामूहिक नेतृत्वमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा अघि बढाउन म प्रतिबद्ध छु।”
त्यसैगरी उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा राखेको उल्लेख गर्दै, “अभिभावकीय भूमिकाबाट सहज निकास दिनु पर्नेछ,” भन्दै अनुरोधसमेत गरेका छन्।
पोखरेलले पार्टीको सुदृढता नै राष्ट्रको सुरक्षा र नेपाली जनताको हित संरक्षणको आधार हुने भएकाले यसलाई सबैभन्दा प्राथमिकता दिने प्रतिवद्धता जाहेर गरेका छन्।