
इटहरी । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद भएका इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्थे । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उनलाई खासै जानकारी थिएन । उनले गाउँकै श्रवण सरदारसँग बजार जाने निधो गरे । उनी घर बनाउने काम गर्दा खुट्टामा चोट लागेर केही दिनदेखि घरमै आराम गरेर बसेका थिए ।

एकछिन बजार पनि पुगेर आउने अनि खुट्टा पनि सामुदायिक स्वास्थ्य केन्द्रमा देखाएर आउँछु भनेर श्रीमती मञ्जुसँग कुरा गरेर उनी घरबाट निस्किएका थिए तर कहिल्यै नआउने गरी बिदा भएर गए । साँझ अबेरसम्म पनि नफिर्किएपछि श्रीमती मञ्जुले श्रवणलाई सोध्दा दिउँसै छुटिएको र पछि खोज्दा आफूले फेला नपारेको श्रवणले भने, “खै मोहन त कता जानुभयो, बजारमा आन्दोलन रहेछ, त्यो भिडभाडमा हामी छुट्टियौँ, पछि सम्पर्क हुन सकेन ।” श्रवणका कुराले मञ्जुको मनमा चिसो पस्यो ।
अनि फोन लगाउन थालिन् । फोन ‘स्वीच अफ’ थियो । आफन्त र गाउँका सबैलाई हारगुहार गरिन् । तर, सबैले आइहाल्नुहुन्छ नी भन्ने जवाफ दिए । नभन्दै उनले बेलुकासम्म त आउनुहुन्छ होला भनेर सोचिन् । तैपनि मन बेचैन भइरह्यो । फेसबुक खोलेर बेलाबेलामा हेर्थिन् । त्यही फेसबुकमा गोली लागेर ढलेको भनेर आफ्नै श्रीमानकाे भिडियो देखेपछि मञ्जु बेहोस् भइन् । त्यसपछि उनलाई आफन्तले सम्हालेर केही समयपछि होसमा आएको याद छ । अनि, गाउँका सबैजना मोहनको खोजतलासमा लागे । पछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेको सूचना प्राप्त भयो । आफन्त लिएर भोलिपल्ट मञ्जु हेर्न गइन् ।
उनको आठ वर्षअघि विवाह भएको थियो । उनले सुनसरी रामधुनी–८ कै मञ्जुसँग विवाह गरेका थिए । मञ्जुले यति चाँडै श्रीमान् गुमाउँदाको पीडाबाट सम्हालिन धेरै दिनसम्म कुर्नुपर्यो । अहिले पनि उनी श्रीमानकाे नाम लिनासाथ आँखाबाट आसु झार्छिन्, अरु केही बोल्न सक्दिनन् । ४० वर्षे पुगेका मोहन र मञ्जुबिच प्रेम विवाह भएको थियो । उनीहरुको एउटी पाँच वर्षकी र अर्की सात वर्षकी छोरी छिन् । घर बनाउने क्रममै उनीहरुिबच चिनजान भयो, अनि मन्दिरमा विवाह भएको थियो । “सँगै मर्ने अनि सँगै बाँच्ने कशम खाएर प्रेम सम्बन्धमा बाँधिएका थियौँ, तर श्रीमानकाे अल्पआयुमै मृत्यु हुँदा सारै गाह्रो भएको छ”, २७ वर्षे मञ्जुले भनिन्, “सानी छोरी आकृतिले बारम्बार बाको कुरा निकाल्छिन् । उनले बाबाको कुरा निकाल्दा कसरी सम्झाउनु गाह्रो हुन्छ ।”
छोरीलाई मोहन विदेश गएको भनेर ढाँटिएको छ । अब कतिञ्जेलसम्म ढाट्ने ? उनले भनिन्, “छोरी आकृतिले पनि विश्वास गरेकी छन् । कुनै दिन वास्तविकता थाहा पाउँदा छोरीलाई कस्तो पीडा होला ?” मञ्जु पनि दुई वर्षसम्म कुबेत बसेर फर्किएकी हुन् । “छोरीलाई ममी आउनु भो, अनि बाबा जानु भो, भन्ने विश्वास छ”, मञ्जु भनिन् । सात वर्षे जेठी छोरी आरबीलाई पनि बाबुको निधन भएको ज्ञान छ ।
मञ्जुको कुबेत गएर कमाएको र मोहनले मिस्त्री गरेर जोहो गरेको पैसाले ऐलानी जग्गामा एउटा सामान्य घर बनाइएको छ । उनीहरुको जसोतसो घर व्यवहार सामान्य ढङ्गले चलेको थियो । अब भने समस्या निम्तिएको छ । “अब मैले छोरीहरुलाई कसरी पाल्नु ? मलाई जहिल्यै यही कुराले पिरोल्ने गर्छ”, मञ्जुले भनिन् ।
उनी अहिले प्रधानमन्त्री सुशीला कार्कीले जागिर दिने वचन दिएकाले त्यही आशमा छिन् । तिहारअघि जेनजी पुस्ताको काठमाडौँमा भेला भएको र त्यो भेलामा झापाबाट जेनजी पुस्ताको अगुवा अञ्जु राईले मञ्जुलाई पनि लिएर गएकी थिइन् । त्यो भेलामा सकेर जेनजीकै अगुवाईमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मृतकका परिवारसहित घाइतेका आफन्तलाई भेट गराइएको थियो । त्यहीबेला प्रधानमन्त्री कार्कीले योग्यताअनुसारको जागिर लगाइदिने वचन दिएको मञ्जुले बताइन् ।
“प्रधानमन्त्रीले जागिर लगाइदिन्छु भन्नुभएको छ, अहिलेसम्म आश गरेर बसेको छु”, मञ्जुले भनिन्, “अहिलेसम्म त काम खोज्न पनि गएको छैन, प्रधानमन्त्रीकै आशमा पर्खेको हो ।” काम नगरिकन छोरीहरुका लागि बिहान बेलुकाको गर्जो टार्न नै समस्या हुने भएकाले गर्दा आफ्नो क्षमताअनुसारको काम जेसुकै पाए पनि गर्ने उनले बताइन् । महिला भए पनि उहाँ सानैदेखि कामकाजी भएकाले गर्दा कुनै समस्या छैन । कुबेतमा पनि दुःखै गरेर आएको हो, काम गर्न कुनै समस्या छैन”, उनले उद्योगी तथा व्यवसायीलाई आग्रह गर्दै भनिन्, “मेरा छोरीहरुका लागि मलाई सानोतिनो भए पनि काम दिनुहोस् ।”
उनलाई सरकारले रु १५ लाख उपलब्ध गराइसकेको छ । सरकारले गृह मन्त्रालयमार्फत क्षतिपूर्तिबापत रु १० लाख र काजकिरिया तथा अन्य खर्चका लागि रु पाँच लाख उपलब्ध गराएको हो । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाले पनि राहत रकम दिने निर्णय गरेको छ । यद्यपि, अहिलेसम्म उपलब्ध भने गराएको छैन ।
सरकारले दिएको पैसा काजकिरिया खर्च गरेर बचेको सबै पैसा छोरीहरुको भविष्यका लागि वचत गरेर राखेको उनले बताइन् । उनी भन्छिन्, “जस्तोसुकै कठिन सङ्घर्ष गर्न परे पनि छोरीहरुलाई कुनै अभाव हुन दिने छैन् ।” छोरीहरुलाई आफ्नो आर्थिक अवस्था कमजोर भएकैले गर्दा घटनापछि दाताकै सहयोगमा इटहरीकै मेरिल्याण्ड बोडिङ् स्कुलमा पढाइरहेको उनले बताइन् ।
जेनजीको आन्दोलनको पहिलो भदौ २३ गते नै इटहरीमा दुई जनाको मृत्यु भएको थियो । मोहनसँगै प्रहरीको गोली लागेर इनरुवा–६ घर भई आफन्तको घरमा इटहरी बस्दै आएका १६ वर्षे अभिषेक श्रेष्ठको पनि मृत्यु भएको थियो ।