
पथरी । जेनजि युनाइटेड मुभमेन्टको एकता अभियान अन्तर्गत आज मोरङको पथरीमा शान्तिपुर्ण र्यालि , कोणसभासहित विभिन्न कार्यक्रमहरु आयोजना हुँदैछ ।

देशभर छरिएका जनजि समुहहरुलाई एकीकृत गर्ने उद्देश्यसहित सञ्चालन भईरहेको जेनजि एकता अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गर्न लागिएको पथरीका कार्यक्रम संयोजक राकेश राईले जानकारी दिएका छन् ।
जेनजिहरुले बिहान ११ बजे गणतन्त्र चोकमा भेला भई शान्तिपुर्ण र्याली निकालेर बजार परिक्रमा गर्दै पुनः गणतन्त्र चोकमा आई कोणसभा गर्ने कार्यक्रम रहेको छ । जसमा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण एकता र्याली , त्यसपछि देशभक्ति सभा , नाट्य एवम् सांगीतिक प्रस्तुति , युवाका छोटा भाषण र शहीद परिवार तथा घाइतेहरूको अनुभव साझा गर्ने कार्यक्रम समावेश रहेको बताईएको छ । कार्यक्रममा शहीदहरूको सम्झनामा दियो–मैनबत्ती बाल्ने र श्रद्धाञ्जलि अर्पण गर्ने सत्र समेत समावेश हुने बताईएको छ ।

देशभरका जेनजिलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले जेनजि युनाइटेड मुभमेन्टले गएको कात्तिक २१ गतेदेखि देशव्यापी एकता अभियान सञ्चालन गरिरहेको छ ।
नयाँ पुस्ताद्वारा सञ्चालित ‘देशव्यापी एकता अभियान’ कात्तिक २१ गते ताप्लेजुङको फुङलिङ बजारबाट औपचारिक रूपमा शुरु भएको हो । ‘रगत, आँशु र आशाबाट जन्मिएको पुस्ताले अब राष्ट्र एकताको नयाँ अध्याय लेख्नेछ’ भन्ने मूल नारासहित शुरु गरिएको यो अभियानको पहिलो चरण कोशी प्रदेशका जिल्लाहरूमा सञ्चालन हुने जेनजि युनाइटेड मुभमेन्टका अगुवा सागर तामाङले बताए ।

अभियानका प्रतिनिधिहरूका अनुसार दोस्रो चरणमा मधेश प्रदेश (पर्सा), त्यसपछि कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगू, डोटी, अछाम र गण्डकी प्रदेशको बागलुङ लगायतका जिल्लामा कार्यक्रम निरन्तर रूपमा सञ्चालन गरिनेछ । छोटो समयमा नै देशका ७७ वटै जिल्लामा पुग्ने लक्ष्य रहेको अभियानले जनाएको छ ।