
पथरी । साविक विजेता ब्रिगेड ब्वाइज क्लब र उपविजेता संकटा फुटबल क्लब ‘अन्तर्राष्ट्रिय आमन्त्रण ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप–२०८२’ बाट बाहिरिएका छन् ।

सेमिफाइनलमा तीन टोलीको स्थान पक्का भइसकेको छ भने चौथो स्थान आज (मंगलबार) को खेलपछि टुंगो लाग्नेछ ।

पथरी रंगशालामा हिजो (सोमबार) भएको खेलमा पाँचथर क्लबले संकटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पाँचथरको जितका लागि निर्णायक गोल गर्ने विशाल घलान ‘म्यान अफ द म्याच’ बने ।
आज (मंगलबार) हुने खेलमा न्युरोड टिम (एनआरटी) र झापा ११ आमनेसामने हुनेछन् । यो खेल एनआरटीको यस गोल्डकपमा पहिलो उपस्थितिको रूपमा रहनेछ । झापा ११ भने अघिल्लो संस्करणमा सेमिफाइनलमा ब्रिगेड ब्वाइजसँग पराजित भएको थियो। यसपटक झापा ११ सेमिफाइनल पुग्दै फाइनल यात्राको लक्ष्यमा छ भने ‘ए’ डिभिजन क्लब एनआरटी उपाधि जित्ने अभियानमा अघि बढ्ने तयारीमा रहेको छ ।

भोलि (बुधबार) देखि प्रतियोगिताको सेमिफाइनलका खेलहरु शुरु हुनेछन् । भोलि हुने पहिलो सेमिफाइनल खेलमा सिरहाको सलहेश युवा क्लब र पाँचथर क्लब भिड्नेछन् ।
प्रतियोगिता कार्तिक २२ गतेसम्म सञ्चालन हुनेछ। विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोग र ईन्ट्रा फाउन्डेसनको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन भइरहेको छ । दर्शकका लागि रु १०० को सामान्य र रु २०० को भिआइपी टिकटको व्यवस्था गरिएको छ।