हिपमत डटकम

मंगलबार, भाद्र ३१, २०८२ || 1457  पटक पढिएको

भोजपुर, भदौ ३० — परम्परागत रूपमा पहिचान बनाउँदै आएको भोजपुरे खुकुरीको निर्माणमा संकट देखा परेको छ। दक्ष कालीगढको अभाव तथा नयाँ पुस्ताले उक्त पेसाप्रति चासो नदेखाएको कारण खुकुरी निर्माणमा समस्या आइपरेको व्यवसायीहरू बताउँछन्।

भोजपुर जिल्लाबाट उत्पादन हुने खुकुरीको माग स्थानीय बजारसँगै बाह्य जिल्ला र अन्तर्राष्ट्रिय बजारमा समेत उच्च रहेको छ। तर, मागअनुसारको उत्पादन हुन नसक्दा व्यवसायीहरू निराश भएका छन्।

स्थानीय कालीगढ हर्कबहादुर विश्वकर्माका अनुसार खुकुरी निर्माणमा संलग्न दक्ष जनशक्ति अहिले गाउँघरमा निकै कम छन्। “पछिल्लो समय भोजपुरे खुकुरीको देश–विदेशबाट माग आउन थालेको छ,” उनले भने, “तर गाउँमा दक्ष जनशक्ति नहुँदा उत्पादनमा कमी आएको छ, जसले गर्दा बजारको माग धान्न मुस्किल भएको छ।”

भोजपुरे, सिरुपाते, चित्लाङ्गे र कोथीमोडा जस्ता विभिन्न प्रकारका खुकुरीको माग उच्च रहेको जनाउँदै अर्का व्यवसायी दिनेश गजमेरले न्यूनतम एक हजारदेखि अधिकतम २० हजार रुपैयाँसम्म मूल्य पर्ने खुकुरीहरू यहाँ उत्पादन हुने जानकारी दिए। उनका अनुसार बाहिरी जिल्लाबाट सयौँ संख्यामा खुकुरीको माग आए पनि मागअनुसारको आपूर्ति गर्न नसकिने अवस्था छ।

एक समय निकै लोकप्रिय रहेको कालीगढ पेसामा पछिल्लो पुस्ताले चासो नदेखाएकाले यो पेसा संकटमा परेको गजमेरको भनाइ छ। “बढी मेहनत गर्नुपर्ने र कच्चा पदार्थको अभावले गर्दा पनि नयाँ पुस्ता आकर्षित हुन सकेका छैनन्,” उनले भने।

यसैबीच, खुकुरी उत्पादनमा देखिएको समस्याले कृषिका लागि आवश्यक उपकरण उत्पादनमा समेत असर परेको छ। परम्परागत आरनहरू बन्द हुँदै गएकाले खेतीपातीका लागि प्रयोग हुने हँसिया, कुदाल, बन्चरो लगायतका औजार बनाउन समेत दक्ष जनशक्तिको अभाव देखिन थालेको छ।

व्यवसायी तथा स्थानीय कालीगढहरूले कालीगढ पेसा संरक्षणका लागि सरकार र सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिएका छन्। पुस्तान्तरण नगरेसम्म भोजपुरे खुकुरी जस्ता परम्परागत पहिचान हराउने खतरा रहेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!