हिपमत डटकम

मंगलबार, भाद्र ३१, २०८२ || 384  पटक पढिएको

विराटनगर, मोरङ — कोशी अस्पतालको औषधि पसल (फार्मेसी)मा कार्यरत तीन करार कर्मचारीलाई स्वास्थ्य बीमा सम्बन्धी अनियमिततामा संलग्न रहेको पाइएपछि सेवाबाट बर्खास्त गरिएको छ।

बर्खास्त गरिएका मध्ये दुई जना फार्मेसी सहायक र एक जना कार्यालय सहयोगी रहेका छन्। उनीहरूले औषधि आपूर्ति र बिलिङ प्रक्रियामा गम्भीर अनियमितता गरेको पुष्टि भएपछि अस्पताल प्रशासनले सेवा समाप्त गरेको हो।

मोरङका एक क्यान्सरपीडित बिरामीले अस्पतालमा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो। ती बिरामीको भनाइअनुसार चिकित्सकले सात दिनका लागि मात्र औषधि सिफारिस गरेका थिए, तर बीमा खाताबाट भने एक महिनाको औषधि बराबर रकम कटौती गरिएको थियो।

लिखित उजुरी प्राप्त गरेपछि अस्पतालले छानबिन समिति गठन गरेर अनुसन्धान गरेको थियो। मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले दिएको जानकारी अनुसार, “यस्ता गुनासाहरू पहिले पनि आएका थिए, तर यसपटक प्रमाणसहित उजुरी आएकोले गम्भीर रूपमा छानबिन गरिएको हो।”

के–कस्ता अनियमितता भए?

छानबिनका क्रममा निम्न अनियमितता भेटिएका छन्:

  • बिरामीलाई औषधि कम दिएर बीमा प्रणालीमा बढी रकम देखाएर भुक्तानी लिनु

  • चिकित्सकले सिफारिस नगरेका महँगा औषधिहरूको नाम देखाएर रकम उठाउनु

  • एकै बिरामीको नाममा अत्यधिक औषधि देखाउनेजस्ता गतिविधि

यस्ता कार्यहरूमा ती तीन कर्मचारीको प्रत्यक्ष संलग्नता पुष्टि भएको छ। अस्पतालले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन।

बीमित बिरामीको संख्या दिनानुदिन बढ्दो

कोशी अस्पतालमा दैनिक करिब एक हजार बिरामी सेवा लिन आउँछन्, जसमा आधाभन्दा बढी स्वास्थ्य बीमा योजनाअन्तर्गत पर्ने बिरामीहरू हुन्छन्। आर्थिक वर्ष २०८१/८२ मा अस्पतालमा सेवा लिन आएका ३ लाख १७ हजार ७१८ बिरामीमध्ये १ लाख २३ हजार ९८३ जना बीमा सदस्य थिए।

दीर्घरोगका बिरामी बढी, औषधि आपूर्तिमा पारदर्शिता आवश्यक

मेडिसिन विभाग प्रमुख डा. दीपक सिग्देलका अनुसार उच्च रक्तचाप, दम, मधुमेह, मुटुरोग र मस्तिष्कसम्बन्धी समस्या भएका बिरामीहरूको संख्या बढ्दो छ। “यी रोग पहिले पाको उमेरमा देखिन्थे, अहिले युवामा पनि देखिन थालेका छन्,” उनले भने।

यस्ता दीर्घरोगीहरूलाई लामो समय औषधि सेवन गर्नुपर्ने भएकाले बीमा सेवा लिनेको चाप बढ्दै गएको छ। हाडजोर्नी, स्त्रीरोग, नाक कान घाँटी, स्नायु रोग, छालाजस्ता विभागहरूमा समेत बीमित बिरामीको चाप उच्च छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!