लमजुङ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति जनताको आशा, विश्वास र समर्थन यथावत रहेको बताएका छन्।
आइतबार लमजुङको सुन्दरबजार नगरपालिका–९, भोँटेओडारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफुले नेतृत्व गरेको सरकारको पालामा जनताको हितमा उल्लेखनीय काम भएकाले अहिले पनि जनताको साथ प्राप्त भएको दाबी गरे।
“सरकारबाहिर रहे पनि हाम्रो पार्टी जनमुखी ढंगले काम गरिरहेको छ,” अध्यक्ष दाहालले भने। उनले अन्य दलहरूले माओवादीलाई कमजोर देखाउने प्रयास गरिरहेका भए पनि पार्टीप्रति जनताको साथ मजबुत रहेको दाबी गरे। उनका अनुसार, आगामी निर्वाचनमा माओवादी केन्द्र देशकै प्रमुख दल बन्नेछ।
अध्यक्ष दाहालले आफ्नो नेतृत्वको पहिलो कार्यकालमा मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण, र गरिब किसानका लागि ऋण मिनाहा जस्ता कार्यहरू भएका स्मरण गरे। दोस्रो कार्यकालमा संविधान निर्माण, लोडसेडिङ अन्त्य, तथा अतिरिक्त विद्युत् अन्य मुलुकलाई बिक्री गर्दै आर्थिक प्रगति गरिएको उनले बताए।
तेस्रो कार्यकालमा जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने, भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गर्ने, चीनसँग १४ नाका खोल्ने, र सुशासन प्रवर्द्धन गर्ने जस्ता पहलहरू गरिएको दाहालको भनाइ थियो।
उनका अनुसार, पार्टीले जनहितका धेरै कार्य गरे तापनि पर्याप्त प्रचार नहुँदा ती जनतामा प्रभावकारी रूपमा नपुगेको हो। उनले जारी अभियानमार्फत जनतालाई सत्य तथ्य बुझ्न र भविष्यको दिशाबोध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, नन्दकिशोर पुन, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो।