काठमाडौँ, २०८२ भदौ २० – उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी (अनवत) पर्वका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत उपराष्ट्रपति यादवले यी चाडपर्वहरूले नेपाली समाजमा आध्यात्मिक चेतना, नैतिकता तथा राष्ट्रिय एकताको भावना सुदृढ गर्दै समृद्ध राष्ट्र निर्माणतर्फ प्रेरणा दिने विश्वास व्यक्त गरे।
उनले भने, “यी पर्वहरू विभिन्न भूगोल, क्षेत्र, समुदाय तथा परम्परागत नामअनुसार फरक तरिकाले मनाइए पनि सबैको साझा उद्देश्य राष्ट्रियता, अखण्डता, पारस्परिक प्रेम, भ्रातृत्व, सौहार्द, सहयोग र एकताको भावना प्रवर्द्धन गर्नु हो।”
उपराष्ट्रपतिका अनुसार जीवित कुमारीको पूजा, रथयात्रा, लिङ्गो ठड्याउने परम्परा, भैरव नाच, गणेश नाचजस्ता सांस्कृतिक परम्पराले नेपाली सभ्यता र मौलिकता उजागर गर्ने काम गर्छन्। उनले यस्ता सांस्कृतिक अभ्यासहरूले राष्ट्रिय एकताको सन्देश फैलाउने उल्लेख गरे।
“‘जीवित देवी’ कुमारीलाई शक्ति र पवित्रताको प्रतीकका रूपमा पूजिन्छ। इन्द्रजात्राका अवसरमा निकालिने रथयात्राले धार्मिक आस्था र सामाजिक एकतालाई बलियो बनाउँछ,” उपराष्ट्रपति यादवले बताए। साथै, उनले इन्द्रजात्राले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरी देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
त्यस्तै, विशेष गरी तराई–मधेस क्षेत्रमा अनन्त चतुर्दशी (अनवत) पर्व आजको दिन धार्मिक श्रद्धाका साथ मनाइन्छ। देवी लक्ष्मी र भगवान् विष्णुको पूजा–आराधना गर्दै मनाइने यो पर्व धार्मिक शुद्धता, आस्था र समृद्धिको प्रतीकका रूपमा रहेको यादवले उल्लेख गरे।